आलेख

बेल्ट एण्ड रोड : चिनियाँ महत्वकांक्षामा विश्वास निर्माणको संकट

चीनले जतिसुकै रकम ठूला पूर्वाधार विकासमा लगानी गरे पनि साझेदार देश किन अझै विश्वस्त छैनन् ? यसको कारण हो कि विश्व समुदाय चीनको क्षमताबारे सावधान र नियतबारे अस्पष्ट छ । बिआरआईमार्फत् गरेको ठूलो लगानीवापत चीनले के फाइदा लिन हो ? व्यापक आशंका छ ।

बेल्ट एण्ड रोड : चिनियाँ महत्वकांक्षामा विश्वास निर्माणको संकट

भाष्यले वरिपरिका राजनीतिक वास्तविकतालाई बुझ्न र व्याख्या गर्न मान्छेलाई मद्दत गर्दछन्। भाष्यले मान्छेलाई कुनै कार्य गर्नु पर्ने कारण दिन्छ । कार्यको बैद्यता सिर्जना गर्दछ । सँगसँगै ती शासकीय औजार पनि बन्दछन् ।

चिनियाँ कुटनीतिमा आज चीन–उन्मुख भाष्यको माग भइरहेको छ । आधुनिक विश्वमा महाशक्ति चीनको सपना पूरा गर्न उत्तिकै बलियो भाष्य चाहिन्छ । चीनले सामना गरिरहेको यो समस्या र मनोवृत्तिलाई बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) मार्फत् चित्रण गर्न सकिन्छ।

सन् २०१३ मा राष्ट्रपति सी चिन फिङले सुरु गरेको बिआरआई चीनको ‘बाहिर जाने’ र फैलिने वैश्विक रणनीतिको ‘निर्माण ब्लक’ हो । बिआरआईले चीन, मध्यएशिया र युरोपलाई जमिनबाट जोड्ने सिल्क रोड इकोनमिक बेल्ट (एसआरइबी) र चीन, दक्षिणपूर्वी एशिया, अफ्रिका र युरोपलाई सामुद्रिक मार्गबाट जोड्ने २१ औं शताब्दिको सामुद्रिक सिल्क रोड इनिसिएटिभ्स (एमएसआरआई) लाई समावेश गर्दछ ।

बिआरआई सुरु भएको ३ वर्षभित्रै चीनको बाह्य प्रत्यक्ष लगानी १६४ देश र क्षेत्रका ७,९५९ विदेशी उद्यमहरुमा १७६.११ विलियन डलर थियो । सन् २०१६ सम्म यसको वार्षिक बृद्धिदर ४४.१ प्रतिशत थियो । चीनले सन् २०१७ मा ६५ देशमा १४.४ विलियन डलरको बाह्य प्रत्यक्ष लगानी गर्‍यो ।

बिआरआईले चीनलाई द्विपक्षीय पूर्वाधार, लगानी, व्यापार र सहयोगमार्फत् द्रूतरुपमा उदयमान एशियाली बजारसँग संलग्न हुने र एशियाली देशलाई चीनको विशाल घरेलु बजारको फाइदा उठाउने अनुमति दिन्छ ।

चीनले बिआरआई देशहरुमा ‘मेड इन चाइना’ वस्तु निर्यात गर्ने अवसर पाएको छ । घरेलु उत्पादन क्षमताको वृद्धि र उद्योगहरुको स्तरोन्नतिमार्फत् आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न सकेको छ । सँगसँगै चीनले आर्थिक मात्र हैन, सहभागी देशहरूमा कुटनीतिक तथा कार्यनीतिक सम्बन्ध विस्तार गर्न समेत सकेको छ । चीन-पाकिस्तान आर्थिक करिडोर यसको उदाहरण हो ।

तर, बिआरआई परियोजनाहरूको नियत र सम्भावित प्रभावको बारेमा सम्बन्धित देश र बाँकी विश्वमा आलोचना छन् । फाइनान्ससियल टाइम्सको एक रिपोर्ट अनुसार २३४ बिआरआई परियोजना न्यून सामाजिक स्वीकार्यताका कारण पछि परेका छन्। तिनलाई सुरु गर्न ढिलो भएको छ वा विभिन्न अवरोधका कारण समयमै पुरा हुन सकेका छैनन् ।

उदाहरणको लागि थाई जनताको विरोध प्रदर्शनका कारण थाइलैण्ड रेलवे परियोजना बारम्बार रोक्न परेको छ । विकासशील देशमा ऋणको बोझ बढाएको र कतिपय अवस्थामा ‘ऋणको पासो’ सिर्जना गरेको भन्दै बिआरआईको आलोचना पनि भइरहेको छ । चीनले भने बिआरआईलाई विश्वव्यापी जनहितको बिषय मान्दछ । बिआरआई क्षेत्रमा धेरै ठूलो विकास हुने विश्वास गर्दछ । सत्य के हो त ? चीन र बाँकी विश्वले बिआरआईलाई बुझ्ने तरिकामा रहेको भिन्नता छानबिन गर्न लायक छ।

एकाथरि विशेषज्ञ भन्छन् कि बिआरआई परियोजनाहरुले विश्वमै परिवर्तन ल्याउन खोजेको छ । अर्काथरि ठान्दछन् कि यो एक भ्रमपूर्ण चिनियाँ भाष्य हो, जसको परिणाम परिकल्पना गरिए अनुरुपको छैन ।

राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनको भाषणमा बिआरआईलाई प्राचीन सिल्क रोडको ‘केन्द्रभागतिर सर्ने चाल’ का रुपमा व्याख्या गरेका थिए । यसबाट प्रष्ट हुन्छ कि बिआरआई चिनियाँ महत्वाकांक्षाको आधुनिक रेशम मार्ग हो । यो तर्कले धेरै आलोचकलाई आकर्षित गरेको थियो । चिनियाँ नियतिप्रति आशंका गर्नेहरुको दायरा झनै फराकिलो भएको थियो ।

प्राचीन ‘सिल्क रोड’ को निर्माण करिब इशापूर्व १३९–११४ बीचमा भएको थियो । यसमार्फत् हान वंशका झान कियानले पहिलोपटक चीनलाई मध्य एशियासँग जोडेका थिए । आज बिआरआईका रुपमा अर्को रेशम मार्ग आएको छ । यी दुवै चीनका पहलकदमी हुन् । दुुवैमा चीनको क्षेत्रीय व्यवस्था परिवर्तनको चाहना थियो । साथै, सिल्क रोड र बिआरआई दुवैले फरक भाष्यको पृष्ठभूमिबाट उत्पन्न समस्याको सामना गर्न पर्‍यो ।

अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास एक महत्वपूर्ण अवधारणा हो । विशेषतः कुनै दुई देशबीच द्वन्द्व समाधान र शान्ति निर्माण प्रक्रियाका सन्दर्भमा । यदाकदा यो विवेकपूर्ण निर्णय निर्माण प्रक्रियाको प्राथमिकता बन्दछ । विश्वासको अर्थ दुई राज्यहरु बीच एकअर्काले के गर्छन् वा गर्दैनन् भनेर जोखिम लिने तत्परता हो ।

विश्वास निर्माणमा पनि फरक भाष्यका जटिलता क्रियाशील हुन्छन् । तर, राज्यहरु बीच विश्वास निर्माण असम्भव कार्य भने हैन । विश्वास निर्माणमा ससाना संकेत र सहकार्यले नै ठूलो अर्थ राख्दछ।

बिआरआई चीनको तर्फबाट निक्कै ठूला संकेतहरुको श्रृंखला हो । चिनियाँ विदेश नीतिमा यसले धेरै ठूलो अर्थ राख्दछ । यति बलियो संकेतका बाबजुद छिमेकी तथा संलग्न देशहरुमा यसप्रतिको सामाजिक स्वीकार्यता न्यून छ । यसले विश्वास निर्माण प्रक्रियाको असफलतालाई देखाउँछ । यदि राज्यहरुले अरु राज्यसँग चमक (खुल्लापन, इमान्दारिता र पारदर्शिता) का साथ व्यवहार गरे र मूल्यमान्यताका मापदण्ड अनुरुप व्यवहारलाई नियमन गरे सम्वन्ध पनि बलियो हुन्छ ।

प्राचीन चीनमा चमक, भद्र र सद्गुण पुरुषहरुको महान गुण थियो । चमक सबै सदगुणीहरुको नैतिक आवश्यकता हो । एक कन्फुसियसवादी प्राज्ञको भनाइ छ- ‘चमकको अर्थ उज्यालो र उज्यालोले स्पर्श गर्न सक्ने सबै चिज हुन्। एक भद्र र पौरखी शासकको नैतिक आवश्यकता हो कि उसको  नियत सफा हुनु पर्दछ र शासनशैली पारदर्शी ।’

यदि शासकले आफ्नो शासनको नियमलाई प्रष्ट पार्न सक्दछ भने ठूला र शक्तिशाली राज्य पनि उसका दुश्मन हुन जरुरी हुँदैन । शासकीय चमकको अर्थ षडयन्त्र र धुर्त्यांइ मुक्त शासन हो।

आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धमा यसलाई इमान्दारिता भन्न सकिन्छ । रणनीतिक सहकार्यका लागि पारस्पारिक हितको अस्तित्व निर्धारण हुनु पर्दछ । अर्को कुरा–नीतिनिर्माताहरु विवेकसम्मत बन्न पर्दछ । धोका र शोषणको जोखिम निक्कै कम छ भने समकक्षीले एकअर्कालाई विश्वास गर्दछन् ।

अवसर लागत एक यस्तो अर्थशास्त्रीय अवधारणा हो, जसले स्रोतको सीमितता र छनोट बीचको सम्बन्ध व्यक्त गर्दछ । जब स्रोतहरु आवश्यकभन्दा कम हुन्छन, नीतिनिर्माताहरु त्यसबाट लाभदायक परिणाम आउने गरि निर्णय लिन बाध्य हुन्छन् । अवसर लागत भविष्यको लाभ, समय र श्रमको सम्बन्ध हो । बिआरआईको बारेमा संलग्न देशहरुले निर्णय लिँदा अवश्य अवसर लागतको दृष्टिकोणबाट हेर्ने छन् ।

रेशम मार्ग खासमा कुनै सडकको नाम थिएन । चीन, मध्यएशिया र भूमध्यसागरीय क्षेत्रलाई जोड्ने रुट सम्बन्धि एक अवधारणा थियो । त्यतिखेर यसलाई ‘सिल्क रोड’ पनि भनिदैनथ्यो । २ हजार वर्षभन्दा अघि नै यो बनेको भए पनि रेशम मार्ग (सिल्क रोड) नाम भने सन् १८७७ मा जर्मन खोजकर्ता ब्यारोन फर्दिनान वोन रिचथोपेनले पहिलोपटक प्रयोग गरेका थिए ।

त्यतिखेर चीन र मध्यएशिया बीचको सम्बन्धको आर्थिक, सांस्कृतिक कारण के थियो भनेर धेरैले अध्ययन गरेका छन् । तर, त्यो सम्बन्धको मौलिक अभिप्रेरणा भने रणनीतिक र सुरक्षा थियो । मध्य एशियाका सियोन्गु कविला संघबाट हान वंशले सुरक्षा चुनौतीको सामना गर्नु पर्दथ्यो ।

हान वंशले त्यसविरुद्ध मध्य एशियाका अन्य देश विशेषतः युझीसँग सुरक्षा साझेदारी गरेका थिए । त्यही सन्दर्भमा रेशम मार्गको अवधारणा अघि आयो । अर्थात् रेशम मार्ग एक सामान्य रुट अवधारणा मात्र थिएन, मध्यएशियाको क्षेत्रीय व्यवस्थालाई परिवर्तन गर्ने एक परियोजना पनि थियो ।

राष्ट्रपति सीले सन् २०१३ को सेप्टेम्बर ७ मा पहिलोपटक काजकिस्तानको नाजरबायेभ विश्व विश्वविद्यालयमा ट्रान्सयुरेसियन क्षेत्रभरि आर्थिक बेल्ट स्थापित गर्ने प्रस्ताव गरेका थिए । यसलाई ‘नयाँ रेशम मार्ग’ उपनाम दिइएको थियो । यसले यस क्षेत्रका ३ अर्ब जनतालाई प्रभावित गर्ने अनुमानका साथै उर्जा र खानीस्रोतका क्षेत्रमा प्रविधि, लगानी, वित्त र सेवाको सहकार्य गर्ने प्रस्ताव थियो ।

यो सन्देशलाई सन् २०१३ को अक्टोबर ३ को इन्डोनेशिया भाषणमा पनि जारी राखियो । त्यो एमएसआरआई परियोजनाको उद्घाटन कार्यक्रम थियो । परियोजनाको केन्द्रमा चीन र आसियान छिमेकीबीच विकास र समृद्धिको साझेदारी थियो । त्यो भाषणपछि बिआरआई परियोजनाले विश्वको ध्यान  आकर्षित गर्‍यो ।

सन् २०१९ को अक्टोबर १८ मा राष्ट्रपति सीले चिनियाँ जनकांग्रेसको १९ औं बैठकमा वैदेशिक रणनीतिबारे साढे तीन घन्टा लामो भाषण गरे । यो भाषणले सिको शासनकाल उनका अग्रजको भन्दा भिन्नै प्रकृतिको हुने र चीन एक विश्व शक्तिका रुपमा अघि आउने प्रष्ट गर्दथ्यो।

बिआरआई चीनलाई खुला गर्दै जाने नीतिकै निरन्तरता हो । यसले चीनलाई विश्व व्यवस्थाको केन्द्रमा ल्याउने रणनीति सुनिश्चित गर्दछ । यसको उद्देश्य विश्व अर्थराजनीतिलाई प्रभाव पार्नु मात्र हैन, बरु विश्व अर्थराजनीतिलाई नै बदल्नु हो । यस रणनीतिले विश्व व्यवस्थाको प्राधिकारलाई बदल्न नयाँ ढंगले साझेदार पहिचान र सहकार्य गर्ने महत्वाकांक्षा राख्दछ।

प्राचीन रेशम मार्ग तत्कालिन राज्यहरुबीच शान्तिको प्रतीक मार्ग थियो, बिआरआईले पनि त्यो कुरालाई अन्तर्निहित गर्दछ भन्ने चीनको आशा छ । चीनको औपचारिक विदेश नीतिमा आज पनि शान्तिपूर्ण विकास, सम्बाद र सम्झौता, परस्पर हित, विश्वास र सहमतिजस्ता तत्व छन् ।

एशियाली विकास बैंकको अनुमानअनुसार एशिया–प्रशान्त क्षेत्रमा विकास पूर्वाधारका लागि सन् २०३० सम्ममा २६ ट्रिलियन डलरको आवश्यकता पर्दछ । बिआरआईमा चीनको ठूलो लगानीले यस क्षेत्रका देशको पूर्वाधार विकासमा दीगो योगदान गर्न सक्ने छ । बिआरआईले एशिया-प्रशान्त क्षेत्रीय विकास लगानीको हिस्सालाई पूरण गर्दछ ।

१९ औं पार्टी महाधिवेशनमा राष्ट्रपति सीले भनेका थिए- ‘यो चीन केन्द्रतिर सर्ने र मानव जातिका लागि योगदान गर्ने युग हुनेछ ।’ सन् २०१८ सम्म चीनले बिआरआई साझेदार देशहरुमा ९० बिलियन डलर बराबरको प्रत्यक्ष लगानी गरिसकेको छ । यसभित्र जलवायू परिवर्तन, गरिबी निवारण र सामुद्रिक मार्ग सम्बन्धि लगानी पनि छन् ।

चीनको बढ्दो प्रतिरक्षा बजेट र रणनीति यससँग जोडिएर आउँछ । बिआरआई चीनको अर्थराजनीति मात्र नभएर सुरक्षा र सैन्य रणनीतिक योजनाको पनि अंग हो ।

१५ वर्ष अघिसम्म चीनको उदयलाई बाँकी विश्वसँग आपसी हितमा एक शान्तिपूर्ण उदयका रुपमा हेरिन्थ्यो । आज चीनको उदयले अन्तर्राष्ट्रिय शक्ति सम्बन्धमा उल्लेखनीय महत्व राख्दछ । चीनको विकास अपरिहार्य वैचारिक प्रतिस्पर्धाको फरक बाटोबाट भएको हुँदा भोलीको शक्तिशाली चीनसँग आपसी हितले कसरी मेल खाला ? यो प्रश्न छ नै । साथै, बिआरआई क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका क्रियाकलाप सँगसँगै गइरहेका छन् भन्ने यथार्थलाई पनि बाँकी विश्वले बेवास्ता गर्न सक्दैन ।

चीनले जतिसुकै रकम ठूला पूर्वाधार विकासमा लगानी गरे पनि साझेदार देश किन अझै विश्वस्त छैनन् ? यसको कारण हो कि विश्व समुदाय चीनको क्षमताबारे सावधान र नियतबारे अस्पष्ट छ । बिआरआईमार्फत् गरेको ठूलो लगानीवापत चीनले के फाइदा लिन हो ? व्यापक आशंका छ ।

तसर्थ चिनियाँ महत्वाकांक्षाको वैधता र बिआरआईको सफलता उसले बाँकी विश्वसँग निर्माण गर्ने विश्वासमा भर पर्ने छ ।

(ब्रिजिङ टु वर्ल्डसबाट संक्षेपीकृत अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved