टिप्पणी

तत्काललाई टर्‍यो प्रचण्ड सरकारको ‘खड्गो’ तर, बाँकी छ ‘शनिको दशा’

बजेटको समस्या छिचोलेर प्रचण्डले तत्कालको लागि सत्तासंकट टारे पनि खतरामुक्त छैनन्।प्रचण्डले सत्ताको आयुप्रति शंका नगर्न आग्रह गर्नुको कारण हो मुख्य सत्ता साझेदार दलका नेताहरूको टिप्पणी जसले जुनसुकै बेलामा सत्तागठबन्धन परिवर्तन हुनसक्ने बताउँदै आएका छन्।

तत्काललाई टर्‍यो प्रचण्ड सरकारको ‘खड्गो’ तर, बाँकी छ ‘शनिको दशा’

काठमाडौं। भाग्य रेखामा विश्वास गर्नेहरू ‘संकट ग्रस्तस्थिति’लाई ‘खड्गो’ भन्ने गर्छन्। ज्योतिषीय भाषामा पनि ‘खड्गो’ भनेको संकट वा महाविपत्ति हो।  यसले कुनै एउटा समयमा ठूलो आपत्ति आइपर्ने र परिस्थिति सहज बनाउन अत्यन्तै कठिन हुने भने बुझाउँछ। अर्थात् जसलाई छिचोल्न सकियो भने परिस्थिति फेरि सहज बाटोमा अघि बढ्छ।

यहाँ ‘कम्युनिस्ट’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको जन्मकुण्डलीको चर्चा गर्न खोजिएको हो। पहिला कम्युनिस्टहरू जन्मकुण्डलीमा विश्वास गर्दैनथे। अहिले जमाना फेरियो। नेपालमा कम्युनिस्टहरूमा ‘को बढी आस्तिक’ भन्ने देखाउन प्रतिस्पर्धा छ। प्रधानमन्त्री प्रचण्डले भारतमा गेरुवस्त्र धारण गरेर मन्दिरमा पूजा गरेको प्रसङ्ग ताजै छ।

त्यसको एकसातामै मन्त्रिमन्डलसहित पशुपतिमा भक्तिगान गर्न गएको सबैले देखेकै छन्। भारत भ्रमणका क्रममा जेठ १९ मा मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वरमा पूजा गरेका प्रचण्ड त्यहाँको जल बोकेर पशुपति पुगेका थिए।

पछिल्लो समय पूजाआजा र धार्मिक अनुष्ठानमा रुचि बढाएका प्रचण्डलाई अहिले आन्तरिक रुपमा सहज देखिएको छैन । सत्ता गठबन्धनका सहयात्री दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतको गठबन्धनमा अन्तर्विरोध छ।

विशेषगरी, संसदमा बजेट पेसपछि यस्तो देखियो। सरकारले ल्याएको बजेटमा सत्तापक्षले बचाउ गर्ने र प्रतिपक्षले विरोध गर्ने अभ्यास नौलो होइन। तर, यसपटक प्रचण्ड सरकारले ल्याएको बजेटमा सत्तापक्षकै सांसदले चर्को विरोध गरे। बजेटमा भइरहेको हरेक दिनको छलफलमा सत्तापक्षका कोही न कोही सांसदले आलोचना गरिरहेकै थिए।

उनीहरूले बजेट संशोधनकै मागसमेत उठाए। परिणामस्वरूप प्रधानमन्त्री प्रचण्डलाई परेको मुख्य खड्गो नै यहीँनेर थियो।

२ वटा गठबन्धन परिवर्तन गरेर २ पटक विश्वासको मत पाउँदासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारविरुद्ध सत्ता गठबन्धनमा रहेका दलले नै कुनै पनि बेला ढल्न सक्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका थिए। तर, बुधबार प्रतिनिधिसभामा बहुमतले बजेट पारित भएसँगै प्रचण्ड नेतृत्वको सरकारबारे भइरहेको सम्भावित संकट (खड्गो) पनि तत्काललाई टरेको छ।

आफ्नो खड्गो टार्न प्रचण्डले गरेको कसरत भने रोचक छ। यतिसम्मकी सांसदहरू फकाउन जनता समाजवादी पार्टीको संसदीय दलमै उनी गए। उता बजेटलाई समर्थन नगर्ने अडान लिँदै आएको नेकपा एकीकृत समाजवादीलाई विभिन्न प्रलोभनदेखि धम्कीसम्म दिएको चर्चा छ।

फलत: अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट अनुमोदनको पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो । बजेट पास भयो। तर, २७५ सदस्यीय प्रतिनिधिसभामा यो सामान्य बहुमत हो। बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत मात्रै हो। यसअघि, गत ६ चैतमा प्रचण्डले विश्वासको मत लिँदा १७२ मत पाएका थिए। तर, त्यसबेला विश्वासको मत दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीले बजेटको पक्षमा मत दिएनन्।

गेरुवस्त्र लगाई पूजा गरेका प्रचण्डलाई महाकालेश्वर र पशुपतिले रक्षा त गरिदिए, तर कहिलेसम्म ? प्रचण्डले सम्भावित सत्तापलट त तत्काललाई टारे, तर गठबन्धन भित्रका दलहरू परस्पर अविश्वासमा गुज्रनु प्रचण्डको नियति बनिरहने देखिन्छ।

अझै बाँकी छ शनिको दशा

पछिल्लो समय धर्मकर्ममा झुकाव राख्दै आएका प्रचण्डलाई थाहा नै होला शनिको दशाबारे पनि। ज्योतिषीय नियमअनुसार आद्यभन्दा मध्य र मध्यभन्दा अन्त्य साढेसाती कडा हुन्छ। अर्थात् सुरुको भन्दा अन्त्यको अढैया बढी कडा हुन्छ। भन्नाले अहिले आएर टरेको खड्गो भन्दा कडा हुन्छ आउनेवाला खड्गो।

बजेटको समस्या छिचोलेर प्रचण्डले तत्कालको लागि सत्तासंकट टारे पनि खतरामुक्त छैनन्। प्रतिकुल परिस्थितिमा केहीसाता चर्किएको बजेट विवादले संटकमा पुगेको सत्तासमीकरण यथास्थानमा आउनु सकारात्मक मान्नुपर्छ।

टरेको सत्ता संकट ‘हालका निम्ति’ मात्रै हो कि भन्ने शंका यथावत् छ। प्रमुख सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश गएको बखत प्रधानमन्त्रीले उपगठबन्धन (समाजवादी मोर्चा) बनाएपछि सत्तारुढ दलभित्र एकाएक अविश्वास उत्पन्न भएको छ । माओवादीको यो गठजोडप्रति कांग्रेस सशंकित छ।

बजेटका कतिपय उद्देश्य सही भए पनि कार्यान्वयन प्रत्युत्पादक हुन सक्ने खतरा रहेको कांग्रेसका नेताहरूले औंल्याएका छन् । नेताहरूको खुला चुनौती हेर्दा भोलिका दिनमा नयाँ रूपमा झगडा पुनर्जीवित हुने देखिन्छ । पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्डका निम्ति आगामी दिन झनै संकटपूर्ण हुने कतिपयको आकलन छ।

कहिलेसम्मलाई टर्‍यो खतरा ?

माओवादी नामको यस्तो विम्ब बनिसकेको छ, जसका लागि सत्ता एक मात्र अभिष्ट हो। सिद्धान्त र निष्ठा माओवादीको अघि फिका बन्दै आएको छ। झट्ट सुनिँदा माओवादी र सिंहदरबारको पर्याय जस्तै भान हुन्छ। प्रचण्ड अर्थात् सत्ता।

पछिल्लोपटक कांग्रेसले प्रधानमन्त्री दिएन। पछि एमालेको सहायतामा सिंहदरबारभित्र प्रचण्ड तेस्रोपटक प्रवेश गरे। सत्ता प्राप्तिकै लागि एमालेसँग गठबन्धन गरेको माओवादीले सत्ता पाएपछि फेरि कांग्रेससँगै टाँसिन पुग्यो, सत्ताकै लागि। सरकार बन्दाको सहमतिको मर्मअनुरूप दई महिनामै समीकरण फेर्दै कांग्रेस नेतृत्वको गठबन्धनमै आए।

माओवादी सत्ता यात्राको १६ वर्षलाई फर्केर हेर्ने हो भने २ वटा सरकारबाहेक सबैमा गएको छ। अहिलेसम्म उसले नचलाएको मन्त्रालय कुनै छैन। राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षबाहेक राज्यका महत्त्वपूर्ण पदमा माओवादी नेता पुगिसकेको छन्।

संघीय संरचनामा गइसकेपछि केही प्रदेशमा माओवादी नेताहरू मुख्यमन्त्री भइसकेका छन्। सातवटै सरकारमा पनि सहभागी भइसकेको छ। अरू दलभन्दा धेरै सत्तामा बसेको माओवादीले मुलुकका लागि कति योगदान गर्‍यो भन्ने फरक प्रश्न हो तर उ सत्तामा अविराम छ।

निरन्तर सत्ताको चास्नीमा डुबुल्कीने बानी परेको माओवादीको पछिल्लो सत्तायात्रा कहिलेसम्मको हो भन्ने टुङ्गो छैन। तैपनि, प्रचण्डले सरकारको आयुको बारेमा दाबी गर्न छाडेका छैनन्।

केही दिनअघि, धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नयाँ भवन उद्घाटन गर्दै सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले भनेका थिए ‘‘अहिले कताकता यो सरकारको आयु कति भन्ने पनि मिडियामा तपाईंहरूले हेर्नुभएको होला, सन्नुभएको होला। लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा के भन्नसक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन।’’

प्रचण्डले सत्ताको आयुप्रति शंका नगर्न आग्रह गर्नुको कारण हो मुख्य सत्ता साझेदार दलका नेताहरूको टिप्पणी जसले जुनसुकै बेलामा सत्तागठबन्धन परिवर्तन हुने बताउँदै आएका छन्। कांग्रेस सभापति देउवा, महामन्त्री गगन थापाले चित्त नबुझे सत्ता गठबन्धन बदलिने बताउँदै आएका थिए।

‘‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढङ्गले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ, नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन’’, थापाले भनेका थिए।

सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले कांग्रेसलाई प्रभावित पारेर सरकार फेर्ने प्रयासमा लागेको बताएका थिए। उनले भनेका थिए, ‘‘…केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्।’’

सरकारको लागि सुखद त ती खटपट बिर्सिएर बुधबार बजेट पारित भयो। तर, संकट तत्काललाई टरे पनि ढुक्क हुने अवस्था नरहेको गठबन्धनकै नेताहरू बताउँछन्। यसका लागि ‘गठबन्धनका दलहरूमा भागबन्डाको झमेला’ले काम गर्ने कतिपयको तर्क छ।

हामीले, प्रचण्डको पछिल्लो सत्तासंकट समाधान र भावी सिनारियोबारे प्रश्न गर्‍यौँ विश्लेषक हरि रोकालाई। तर, सरकारबारे कांग्रेसभित्र आन्तरिक कलह नआउन्जेलसम्मको लागि प्रचण्ड सरकार सुरक्षित देखिएको उनले विश्लेषण सुनाए।

‘‘प्रतिपक्षी आशावादी थियो, सरकार ढल्छ भन्ने। तर, त्यस्तो भएन। बजेटमाथि भोटिङ हुने प्रक्रिया नौलो भयो। तर, सरकार बच्यो। राजनीतिमा दाउपेच हुनु स्वाभाविक हो। अरू सानातिना दलले गठबन्धन छाड्दैमा फरक पर्दैन। कांग्रेस भित्रको विभाजन नआउन्जेल सत्तासंकट टरेको छ’’ रोकाले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved