आलेख

अब ‘डीएनए सम्पादन’ गरी वंशाणुगत रोगको उपचार गर्न सकिन्छ

डीएनए सम्पादन कुनै अनौठो कुरा हैन, यो एक सुरक्षित प्रविधि हो । ‘सीआरआईएसपीरआर’ जीन सम्पादन प्रविधिको विकासले हामीलाई उल्लेखनीय उपचार क्षमता प्रदान गर्दछ । अब वैज्ञानिकले मान्छेको माग बमोजिम डिएनए निर्देशित गर्न सक्नेछन्। यसले त्यस्ता धेरै मानिसलाई अवसर दिन्छ, जसले उपचारकै आशा गुमाएका थिए।

अब ‘डीएनए सम्पादन’ गरी वंशाणुगत रोगको उपचार गर्न सकिन्छ

आनुवंशिक उत्परिवर्तनका कारणले लाग्ने रोगको उपचार हुन नसक्ने ठहर गर्दै निराशा व्यक्त गरिएका प्रतिक्रिया म कहाँ आइरहन्छन् । एक २ वर्षीया बालिकाका अभिभावक लेख्छन्–‘आनुवंशिक उत्परिवर्तनले हाम्री छोरीको मुटु असफल हुँदैछ । उनी आउने १ वर्षभित्र बित्न सक्नेछिन् । तपाईं उनका लागि केही गर्न सक्नुहुन्छ ?’

अर्का एक ३० वर्षीय युवा भन्छन्–‘मेरो मृत्यु नजिक आउँदैछ ।’ उनी आफ्नो मृत्युका लागि ‘आनुवंशिक गल्ती र गडबडी’ लाई कारण मान्दछन् ।

यस प्रकारका मानवीय त्रासदीका कथा मेरो इन्बक्समा नियमित र बढ्दो रूपमा आइरहन्छन्, जो वास्तवमै पीडादायी हुन्छन् । उनीहरूको अपेक्षा हुन्छ–मैले उनीहरूको ‘गल्तीपूर्ण र गडबड जीन’ लाई ठीक गर्न र मृत्युलाई रोक्न सक्दछु कि ? त्यसका लागि कुनै औषधि बनाउन सक्दछु कि ? कुनै उपचार विधि सिफारिस गर्न सक्दछु कि ?

गत दशकमा हजारौं मानिसको जीवन बचाउन सकिने प्रयोगात्मक ‘जिन इन्जिनियरिङ’ अभ्यास सफल भएका छन् । जिन थेरापी प्रविधिको विकास सन् १९८९ देखि हुन थालेको हो । सन् २००० मा ‘इम्युन सिस्टम’ ले काम नगरिरहेको एक बच्चाको उपचार गरिएको थियो।

अहिले थुप्रै जीन थेरापी औषधि आइसकेका छन् । यो उपचार विधिमा सुईबाट मान्छेको शरिरमा भएका रोगी जिन निकाल्ने र त्यस ठाउँमा भाइरस राख्ने गरिन्छ । यस्ता उपचार निसन्देह प्रभावकारी हुन्छन् तर निकै गाह्रो र खपिनसक्नु महंगो हुन्छन् । हालै स्वीकृति प्राप्त त्यस्तै एक औषधिको एक डोजलाई ३५ लाख डलर पर्दछ । यो संसारकै सबैभन्दा महँगो औषधि र उपचार हुन्छ।

जिन सम्पादन बिल्कुलै नयाँ प्रविधि हो र यो जीन थेरापीलाई अझ लाभदायक बनाउन प्रयोगमा आएको हो । यो प्रविधिमा सुईबाट भाइरस राख्नुको साटो ‘सीआरआईएसपीरआर’ भनिने आणविक मेसिन प्रयोग गरी ‘जिन सम्पादन’ गरिन्छ । यसले कुनै पनि जीवमा भएको जीन उत्परिवर्तनलाई ठीक गर्ने निर्देशन दिन सक्दछ ।

‘जिन सम्पादन’ को अर्थ वंशाणुगत रूपमा शरीरमा आएका त्रुटिपूर्ण, गडबड, कमजोर वा हानीकारक जीन निकालेर त्यसका ठाउँमा उपयुक्त जिन राखी मान्छेको प्रतिरोध क्षमतालाई अनुकूलन गर्नु हो। ‘सीआरआईएसपीरआर’ मेसिन, विधि र औषधिको बहुमुखी उपयोग गर्न सकिन्छ । आधारभूत विज्ञानदेखि कृषि र जलवायु परिवर्तनमा यसको उपयोग हुन सक्दछ । स्वास्थ्य विज्ञानमा यसले अभिभावकका त्यस्ता जिन जो बच्चाका लागि अनुपयोगी र हानिकारक हुन्छन्, हटाउन निर्देशन गर्दछ । यो आनुवंशिक चिकित्साको क्षेत्रमा धेरै महत्त्वपूर्ण सफलता हो।

‘सीआरआईएसपीरआर’ जीन सम्पादन पहिलोपटक सन् २०१९ बाट मात्र भएको हो । एक रोगीको रातो रक्तकोषिका उत्पादनको गडबडीलाई यस विधिबाट उपचार गरिएको थियो। त्यसयता यो प्रविधि जन्मजात अन्धोपन, सिकलसेल, मुटु तथा स्नायु रोग, क्यान्सर र एचआईभीको उपचारमा प्रयोग हुन थालेको छ ।

यद्यपि, यस्ता रोगको एकल जीन आधार हुँदैनन्, अनुवंशिक घटकहरू हुन्छन् । मुटु रोग, अल्जाइमर्स र पुराना दुखाइको उपचार यसबाट हुन सक्दछ। डा. जेनिफर डाड्ना र इम्मानुअल कार्पेन्टियरले ‘सीआरआईएसपीरआर’ जीन सम्पादनका लागि सन् २०२० को रसायनशास्त्र तर्फको नोबेल पुरस्कार पाए । उनीहरूको योगदानलाई ‘धेरै मानिसका लागि स्वास्थ्य सेवा परिवर्तन गर्ने अवसर’ भनेर उपयुक्त वर्णन गरिएको थियो।

म जस्ता वैज्ञानिकले अब ‘सीआरआईएसपीरआर’ को भविष्यका लागि एक आदर्श परिदृष्य कल्पना गर्न सक्दछौं । जब ३ महिना कटेको बच्चामा एन्टिबायोटिक प्रतिरोध संक्रमण विकास हुन थाल्दछन, उसको डीएनए परिक्षण गरेर २४ घन्टाभित्र सामान्य प्रतिरक्षा प्रणालीलाई विकास गर्न नदिने दोषपूर्ण जिन पहिचान गर्न सकिन्छ। ३ दिनभित्र यस्तो उपचार पूरा गरी बच्चालाई घर फर्काउन सकिन्छ ।

‘सीआरआईएसपीरआर’ अवधारणा कुनै बेला ‘साइन्स फिक्सन’ बाटै बाहिरिएजस्तो थियो । आज त्यो प्राविधिक रुपमै सम्भव भएको छ । चीनले हालै ७ र ८ वर्षका दुई बच्चाको यो विधिबाट उपचार गरेको छ । उपचार अघि उनीहरूको रातो रक्तकोषिका उत्पादन सामान्य थिएन । उपचारको ८ महिनापछि उनीहरू पूरै तन्दुरुस्त भएका छन् ।

युरोप र अमेरिकामा भएका प्रगतिलाई पनि भयंकर नै मान्नु पर्दछ । अहिलेसम्म ३१ जनाको उपचार यस विधिबाट भइसकेको छ । वैज्ञानिकहरू अहिले एचआईभी संक्रमितको प्रतिरक्षा प्रणालीबाट भाइरसको डीएन निकाल्ने प्रयत्न गर्दैछन् । यदि, यो सफल भयो भने ४० लाख मानिस लाभान्वित हुनेछन्।

संसारमा त्यस्ता ४ करोड मानिस छन् जो ७ हजार प्रकारका रोगले एकल जिन उत्परिर्वतनबाट प्रभावित छन् । ‘सीआरआईएसपीरआर’ औषधिले ती सबै मानिसको भलो गर्न र तिनका परिवारलाई खुसी दिन सक्दछ । अब यो कुनै ठूलो प्राविधिक समस्या रहेन तर, कानुनी, वित्तिय र संगठनात्मक अवरोध भने कायमै छन् । माथि उल्लेख गरेजस्ता गुनासा गर्नेलाई मैले जीन सम्पादन इन्जिनियरिङ र ‘सीआरआईएसपीरआर’ प्रविधि तथा औषधिबारे बताउने गरेको छु । त्यस्ता वैज्ञानिक वा चिकित्सक पहुँचमा छन् भने उनीहरूसँग सम्पर्क गर्न भन्ने गरेको छु ।

अमेरिकी र युरोपेली कानुनमा प्रयोगात्मक औषधिको सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने विस्तृत प्रक्रिया छ । यसको अध्ययन मानव कोष जनावरमा प्रयोग गरेर सुरु हुन्छ । यो प्रक्रियाले कम्तीमा २ वर्ष लिन्छ । यो निकै खर्चिलो चरण पनि हो । यस्तो धेरै कारण छन्, जसले गर्दा ‘सीआरआईएसपीरआर’ औषधिले उपचार गर्न सकिने सबै बिमारीको समयमै उपचार होला भन्न सकिन्न। जुन परिमाणमा यसको उत्पादन चाहिन्छ, त्यसमा लगानी कसले गर्ला ? यो पनि एक महत्त्वपूर्ण प्रश्न हो ।

तसर्थ, मेरो सल्लाहले मानिस त्यति धेरै लाभान्वित भएका छैनन् होला । सार्वजनिक विश्वविद्यालयले केही प्रयत्न गरेका छन् । तर, त्यस्ता सेवालाई व्यावसायिकीकरण गर्ने क्षमता उनीहरूसँग हुँदैन। दशौं हजार मानिसको उपचारका लागि उपयोगी हुने यो विधि सहज हुन दशकौं लाग्न सक्छ । यी जटिलता हटाउन वायोटेक्नोली कम्पनी र सरकारहरूले मिलेर काम गर्नुपर्ने हुन्छ । नियमन प्रणाली छिट्टै विकास र स्थापित गर्नुपर्ने हुन्छ ।

अर्कोतिर यो प्रविधि र औषधिप्रति मान्छेको विश्वास जगाउन पनि जरुरी छ । डीएनए सम्पादन कुनै अनौठो कुरा हैन, यो एक सुरक्षित प्रविधि हो । ‘सीआरआईएसपीरआर’ जिन सम्पादन प्रविधिको विकासले हामीलाई उल्लेखनीय उपचार क्षमता प्रदान गर्दछ । अब वैज्ञानिकले मान्छेको मागबमोजिम डीएनए निर्देशित गर्न सक्नेछन्।

‘सीआरआईएसपीरआर’ ले त्यस्ता धेरै मानिसलाई अवसर दिन्छ, जसले उपचारकै आसा गुमाएका थिए । तसर्थ, संसारभरि सबैलाई ‘सीआरआईएसपीरआर’ उपचार सुनिश्चित गर्न हामीले काम गर्नै पर्छ, हामी गर्न सक्नेछौं ।

(द न्युओर्क टाइम्सबाट संक्षेपीकरणसहितको अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved