दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै आमाको माइतीघरमा धर्ना

नेपालभ्युज

दाइजोको निहुँमा छोरीको हत्या गरिएको भन्दै आमाको माइतीघरमा धर्ना

काठमाडौं । छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह माइतीघरमा धर्ना बसेको छ दिन भयो ।

छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको दाबीसहित आमा निर्मलादेवी र बुबा विनोदप्रसादलगायत शुक्रबारदेखि माइतीघरमा न्याय माग्दै धर्नामा बसेका हुन् ।

दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी छोरीको हत्या गरेको निर्मलादेवीको दाबी छ । आरोपित सबैलाई पक्राउ गरी कारबाही नगर्दासम्म आफूले धर्ना जारी राख्ने निर्मलादेवीको भनाइ छ ।

आर्थिक र राजनीतिक प्रभावका भरमा हत्यालाई आत्महत्याको रूप दिइएको उनको जिकिर छ । ‘छोरीलाई हत्या गर्ने घरका चार जनालाई पक्राउ नगर्दासम्म धर्ना जारी रहन्छ’, निर्मलादेवीले भनिन, ‘न्याय माग्न जाँदा उल्टै कुटपिट गर्ने प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतममाथि पनि कारबाही हुनुपर्छ ।’

आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ ।

गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो । छोरीको आत्महत्या नभएको र छोरीको हत्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा न्याय नपाएपछि आफूहरू काठमाडौँ आएको उनिहरूको भनाइ छ ।

छोरीको विवाह भएको छ महिनासम्म रामै्र घरजम भए पनि त्यसपछि दाइजो नल्याएको निहुँमा मानसिक यातना दिँदै आएको र मृत्यु हुनुभन्दा दुई÷तीन हप्ताअघिसम्म मोटरसाइकल र दराज लिएर मात्रै घर आउन दबाब दिएको आमा निर्मलादेवीको भनाइ छ ।

घामपानी सहेर छोरीको न्यायका लागि धर्नामा रहेकी निर्मलादेवीले छोरीले न्याय नपाएसम्म ज्यानको पर्वाह नगरी आन्दोलनमा उत्रिने बताईन् । ‘मेरी छोरीको हत्या गरेको आधार हुँदाहुँदै पनि न्याय किन नपाउने ? धनुषामा न्याय नपाएर काठमाडौँ आएको हो । छोरीका लागि ज्यान दिन तयार छु । न्याय चाहिन्छ’, उनले भनिन् ।

न्यायकै लागि प्रहरी प्रशासन जाँदा आफ्नो परिवारलाई गरेको गम्भीर कुटाइ र अभद्र व्यवहारप्रति दुःखेसो पोख्दै आफन्तजनलगायत छोरीलाई प्रादेशिक अस्पतालमा भर्ना गर्नुपरेको उनले बताईन् ।

आरतीका बुबा विनोदप्रसाद साहले लगनशील छोरी भएकै कारण धनाढ्य परिवारबाट दाइजो नचाहिने भनी छोरी माग्न आएको तर दुई वर्ष नबित्दै दाइजो नल्याएकै कारणले छोरीको हत्या गरेकामा उनले गुनासो गरे ।

‘इन्गेजमेन्ट हुनुपूर्व दाइजोको माग थिएन । तर पछि माग गर्दै गएकामा परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण माग गरेका सबै दाइजो दिन सक्ने अवस्था थिएन’, उनले भने ।  २५/३० लाख ऋणमा सम्पन्न गरिएको विवाहमा पछि केटापक्षले माग गर्दै गएका दाइजो दिन नसकेको उनले बताए ।

‘पछिल्लो समयमा माग गरेका सामानमध्ये दराज आफूखुसी लैजान दिएको तर मोटरसाइकल दिन सकिएन । त्यही निहुँमा माइतबाट घर गएको १२ दिनपछि हत्या गरियो’, आरतीका बुबाले भने।

राजनीतिक दबाबका कारण अहिलेसम्म न्याय नपाएको आरतीका मामा सन्तोषकुमार साहको भनाइ छ । ‘अस्पतालमा ल्याउँदा मृत्यु भइसकेको र शरीरका घाउ हेर्दा कुटपिट गरी हत्या गरेको पुष्टि हुन्छ’, उनले भने ।

सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनले पछि दबाब दिएपछि बल्लतल्ल जिल्ला प्रहरी कार्यालय धनुषामा जेठ ८ मा दर्ता भएको बताए । उनले प्रहरीले हालसम्म अनुसन्धान अघि नबढाएको आरोप लगाए ।

‘हत्यारालाई ढाकछोप गर्ने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयमा न्याय माग्न जाँदा गम्भीर कुटपिटसहित हामीमाथि अभद्र व्यवहार गरियो’, उनले भने ।

उनले यस विषयमा गृहमन्त्रालय, मधेसी आयोग, मानवअधिकार आयोगलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइसकिएको समेत बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved