जलहरीमा १० केजी सुन नभए फाँसीमा झुन्डिन तयार छु : सदस्य–सचिव थापा

नेपालभ्युज

जलहरीमा १० केजी सुन नभए फाँसीमा झुन्डिन तयार छु : सदस्य–सचिव थापा

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले उक्त कुरा बताएका हुन् ।

जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको थापाले बताए । आफूले पटक-पटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै थापाले असन्तुष्टि जनाए ।

‘९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माइन्युटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ । जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो,’ थापाले भने, ‘आज मेरो गाउँभरि बेइज्जत भयो । मेरो दुईजना सन्तान छन् । म कमजोर होइन । तर, राज्यले कमजोरी बनायो । आयोगले छानबिन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाउन । यो च्यालेन्ज हो ।’

आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुनेगरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै थापाले राज्यको नीति यही हो ? भनि प्रश्न गरे ।

‘नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने त ? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्युटीमा रहेको भिजियोल अहिले यदाकथा अनलाईनमा आइरहेको छ,’ थापाले भने, ‘सेनालाई विश्वास गर्ने कि नगर्ने ? यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिएँ यो विषयमा ।’

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरूलाई प्रश्न गरे ।

‘म यो सुनको जलहरी समितिको संयोजक हो । यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौताअनुसार हामीले सुन लिएर आएका छौँ–१०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो । राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ?’ थापाले भने, ‘त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो । उहाँहरूको निर्देशनमा हामीलाई शिवरात्री भरिमा त्यो सकाउनु भनिएको थियो । हामीले सकायौँ । गल्ती के गर्‍यौँ ?’

जलहरीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने थापाको भनाइ छ । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved