बजेटप्रति एमालेको गम्भिर असहमति छः गोकर्ण विष्ट

नेपालभ्युज

बजेटप्रति एमालेको गम्भिर असहमति छः गोकर्ण विष्ट

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा गम्भिर असहमती रहेको बताएका छन् । प्रधानमन्त्री, अर्थमन्त्रीसहितका शक्तिशाली मन्त्रीहरुका लागि मात्रै बजेट विनियोजन गरिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको उनको तर्क थियो ।

सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘विनियोजन विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सचिव विष्टले विनियोजन विधेयक अत्यन्तै अन्यायपूर्ण, विभेदकारी रहेकाले आफूहरुले छलफल गर्न समेत नचाहेको बताए ।  उनले विनियोजन बजेट गरिव जनताको हित विपरित आएको जिकीर गरे ।

‘यो गरिव मारा छ । यसले गरिव जनताको हित गर्न सक्दैन । दोस्रो, यो बजेटले मानव सूचकांकमा पछि परेका क्षेत्र र जनताहरुको जीवनलाई माथि उठाउने गरी विनियोजन गर्नु पर्दथ्यो । खासगरी उपचार नपाएर अकालमा जीवन गुमाउने जनताहरु, अस्पतालको अनुहार देख्न नपाउने जनताहरुको संरक्षणका लागि स्वास्थ्यमा, जनताको उपचारमा विनियोजन थप्नु पर्दथ्यो’ उनले भने, ‘पढन नपाएर भारतका गल्लीहरुमा चौंकीदारको रुपमा जीवन जीउन बाध्य नेपालका बालबालिका र युवाहरुलाई शिक्षामा सुविधा दिनका लागि, गुणस्तरीय शिक्षाका लागि विनियोजन बढाउनु पर्दथ्यो । तर, त्यो प्रकारको अवस्था देखिदैन ।’

उनले यो विनियोजन अकालमा मानिसहरुको जीवनलाई संरक्षण गर्न योग्य नभएको र, पढन नपाएको नागरिकहरुलाई पढेर योग्य नागरिक बनाउनका लागि यो विनियोजन सबल नभएको बताए ।  विनियोजन अत्यन्तै अन्यायपूर्ण, विभेदपूर्ण रहेको भन्दै उनले भने, ‘जहाँजहाँ मन्त्रीहरु हुनुहुन्छ । खासगरी प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका शक्तिशाली मन्त्री, विनियोजन त्यहाँ छ । आफ्नो हात जगन्नाथ भन्ने प्रकारको स्थिति छ । माननीय सदस्यहरुको नाममा त उहाँले ५ करोड विनियोजन गर्नु भयो । तर अर्बौ रुपैयाँ प्रधानमन्त्री, अर्थमन्त्रीसहितका मन्त्रीहरुको क्षेत्रमा लैजानु भयो ।’

उनले भने, ‘एउटा उखान छ–धानचामल धामीलाई, व्यथाजति हामीलाई । पैसा जति मन्त्रीहरुको आफ्नो ठाउँमा, बदनामी संसदलाई, सांसदहरुलाई । यो प्रकारको स्थिति यो विनियोजनले देखाएको छ ।’

‘आज देशैभरी पीउने पानीको अभावमा लाखौं, करोडौं जनता काकाकुल बनेका छन । पिउने पानीमा विनियोजन थप्नु पर्दथ्यो । रकम थप्नु पर्दथ्यो । यो सबै हिसावले यो बजेट अन्यायपूर्ण छ । विभेदकारी छ । यो सामाजिक न्यायको हिसावले बेठिक छ’ उनले भने, ‘यो उत्पादनशील क्षेत्रमा विनियोजन हुन सकेको छैन । न यसले उत्पादन वृद्धि गर्छ, न यसले आर्थिक वृद्धि गर्छ । न रोजगारी वृद्धि गर्छ । न देशलाई समृद्ध बनाउँछ । यसले देशलाई ऋण थप्ने गरी टाठ पल्टाउने गरी लैजान्छ ।’

उनले विनियोजन बजेटमा उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, मुलुकलाई समृद्ध बनाउने कुनै पनि खालको योजना नरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved