जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो

नेपालभ्युज

जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो
प्रतिकात्मक तस्वीर

सर्लाही । सर्लाहीमा जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले शव जलाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।

जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।

वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उहाँलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो ।

जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था जटिल बनेको भन्दै शनिबार बिहान घरतर्फ ल्याउनेक्रममा महिलाको बाटोमा मृत्यु भएको स्थानीयले बताउनुभयो । मृतकको शव शनिबार मध्यान्ह गाउँमा ल्याएर लखन्देही खोलामा अन्त्येष्टि गरिरहेका बेला प्रहरीले महिलाको शव बरामद गरेको स्थानीयले बताएका छन् ।
महिलाको शव मृतककी छोरी, ज्वाँइलगायत केही आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव बरामद गरेको बुझिएको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विजय कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले महिलाको शव बरामद गरेको हो ।

बलिराखेको चिताबाट आधा शरीर जलिसकेको अवस्थामा महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ । कुटपिट घटनामा संलग्न महिलाका श्रीमानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  कुटपिटमा इन्द्रकलाका श्रीमान राजाराम भने फरार भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved