एक्लै छुटेपछि कैलाली कारागारमा रहेका आफ्नै साथीले समेत भेट्न मानेनन् रेशमलाई

नेपालभ्युज

एक्लै छुटेपछि कैलाली कारागारमा रहेका आफ्नै साथीले समेत भेट्न मानेनन् रेशमलाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि गणतन्त्र दिवसको दिन रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीसँग कैलाली कारागारमा रहेका तीन भाइले भेट्न अस्वीकार गरेका छन्।

२०७२ भदौ ७ को टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदीबन्दीले रेशम चौधरीसँग भेटघाट नगर्ने लिखित पत्र नै कारागार प्रशासक (जेलर) लाई बुझाएका छन्। सोमबार १६औं गणतन्त्र दिवसको अवसरमा कैदमुक्त भएका रेश्मले अन्य कैदीबन्दी छुटाउन पहल नगरेको भन्दै उनीहरूले नभेट्ने बताएका हुन् ।

सरकारले आइतबार कैदमाफी दिने निर्णय गरेसँगै सोमबार कैदमुक्त भई श्री एयरलाईन्स मार्फत नेपालगञ्ज पुगेर राजापुरहुँदै रेशम टिकापुर पुगेका थिए। उनले आज मंगलबार दिउँसो ४ बजे कैलाली कारागार पुगेर बन्दीहरू भेट्ने कार्यक्रम थियो।

तर, एउटै घटनामा आफूले राष्ट्रपतिमार्फत आममाफी पाउने तर, अन्यको वास्ता नगर्ने भन्दै कारागारमा रहेका हरिनारायण चौधरी, प्रदिप चौधरी र वीरबहादुर चौधरीले रेशमलाई धोकेबाज भन्दै भेट्न अस्वीकार गरेका हुन्।‘उहाँहरुले हामी परिवारका सदस्य बाहेक अरुसँग भेट्दैनौं भन्नुभएको छ।मलाई लिखित समेत अनुरोध गरेको हुँदा मेरो काम उहाँहरुको सुरक्षा र गोपनीयता कायम गर्नु हो’ कारागार प्रशासक पदमराज तिमिल्सिनाले नेपालभ्युजसँग भने–,‘टिकापुर घट्नामा दोषी भै कारागारमा रहेका ३ जना साथीहरूले परिवारका सदस्यबाहेक कसैसँग भेट्दैनौं भन्नुभएको छ।’

उनीहरूले रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ सरकारमा मन्त्री हुँदासमेत रेशमलाई मात्र कैदमाफी गराएर कैदमुक्त भएको भन्दै नभेट्ने प्रतिक्रिया दिएको स्थानीय बताउँछन्। कारागार प्रमुख तिमिल्सिनाले रेशम भेट्न आए पनि भेट गराउन नसकिनेसमेत बताए। ‘उहाँ ४ बजे कारागार आउने र कैदीबन्दी भेट्नेगरी व्यवस्था गरिदिन अनुरोध आएको छ। तर, मैले कैदीबन्दीले भेट्दिन भनेकाले भेटाउन मिल्दैन’–उनले भने–‘यो उहाँहरूको मौलिक हक र मानवअधिकार हो। कसैले जर्बजस्ती भेट्न मिल्दैन। रेशम चौधरी आउनुभयो भने पनि फिर्ता पठाउनुबाहेक मसँग अरु विकल्प हुँदैन।’

रेशमको रिहाइमा टीकापुर घटनाको कुनै संलग्नता नरहेको समेत उनीहरूले परिवारका सदस्यसँग बताउँदै आएका छन् ।‘यो सरकारको निर्णय हो । यसमा हामी केही बोल्दैनौं। उहाँको पार्टी सरकारमा रहेकाले रेशमले आममाफी पाएर रिहाइ भएका हुन्’–स्थानीय सन्देश थारू बताउँछन्।

टीकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै थरूहट संघर्ष समिति र थारुवान प्रदेश संघर्ष समिति अहिले पनि आन्दोलनमै रहेको तर, रेशमले धोका दिएको स्थानीयको बुझाइ छ।

टिकापुर हत्याकाण्डमा एक नाबालकसहित आठ जना सुरक्षाकर्मी मारिएका थिए । टीकापुर घटनामा दोषी ठहर भएका एक नाबालक भने हाल पोखरा सुधारगृहमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved