बजेट निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको छः अध्यक्ष ढकाल

नेपालभ्युज

बजेट निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिबद्धता व्यक्त भएको बताएका छन् । निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकका रुपमा प्रवर्द्धन गर्ने विषय यस बजेटमा समावेश भएको उनको प्रतिक्रिया छ ।

बजेटमा महासङ्घले दिएका कतिपय सुझावहरु समेत समावेश भएको उनले बताए । उनले पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय स्वागतयोग्य रहेको प्रतिक्रिया दिए ।

अध्यक्ष ढकालले बजेटमा व्यवस्था गरिएका विषय कार्यान्वयनमा कसरी जान्छ भन्ने हेर्न भने बाँकी नै रहेको जानकारी दिए । बजेटमा निजी क्षेत्रलाई विश्वासमा लिने र प्राथमिकता दिने भनिएको भए पनि कार्यान्वयनमा कसरी आउँछ भन्ने विषयलाई आफूहरुले हेरिरहेको उनले बताए ।

‘बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ, आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ’, अध्यक्ष ढकालले भने ।

उनले नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था तथा एक सय रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्थाले स्टार्ट अपहरु आकर्षित हुनसक्ने बताए । त्यसैगरी बजेटको नवप्रवर्तन र अनुसन्धानका लागि निश्चित कोष नै खडा गरेर खर्च गरिने विषयले पनि अनुसन्धानलाई प्रश्रय दिने अध्यक्ष ढकालको प्रतिक्रिया छ ।

मिश्रित प्रतिक्रिया

यस बजेटबारेमा मुलुकको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । संसद् बैठकबाट बाहिरिने क्रममा निजी क्षेत्रका छाता सङ्गठनका अध्यक्षहरुले बजेटमा निजी क्षेत्रले दिएका केही सुझाव समेटिएको भए पनि कार्यान्वयन पक्ष कसरी अगाडि जान्छ भनेर हेर्न बाँकी रहेको बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले लगानीको प्रोत्साहनको अपेक्षा गरिएको भए पनि बजेटले सम्बोधन नगरेको बताए । उनले बजेटमा केही राम्रा कुरा आए पनि लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा चुकेको बताए ।

‘बजेटमा दुईवटा आद्यौगिक क्षेत्रलाई अगाडि बढाउने र दुईवटालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने कुरा आएको छ । तर यसको चाँडै कार्यान्वयन भएमा नतिजा देखिने छ’, उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीमित साधनस्रोत भएको मुलुकमा वितरणमुखी देखिएको छ । ‘उत्पादन बढाउन जडीबुटीजन्य, खानीजन्य, कृषिको विकास गर्ने कुरा ल्याए पनि आर्थिक सङ्कट छ । वितरणमुखी भएकाले केही समस्या हुन्छ कि भन्ने लाग्छ’, उनले भने । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved