नक्कली शरणार्थी प्रकरणमा ओली निकटका व्यक्ति तानिएपछि शंकर पोखरेल असन्तुष्ट

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरणमा ओली निकटका व्यक्ति तानिएपछि शंकर पोखरेल असन्तुष्ट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका धेरै व्यक्ति तानिएका छन् ।

यो प्रकरणमा पक्राउ परेर बयान दिनेहरुले तत्कालिन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, तत्कालिन सचिव तथा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई पैसा दिएको बताएका छन् ।

अभियुक्त सानु भण्डारी र केशव दुलालले प्रेमकुमार राईलाई १ करोड दिएको उल्लेख गरेका हुन् । आरोपीतले ओलीका पूर्व सल्लाहकार अजयक्रान्ती शाक्यलाई पनि पैसा दिएको बताएका छन् ।

यो प्रकरण सुरु हुनेवित्तिकै आफ्ना सचिव पक्राउ परेपछि झस्किएको एमाले अहिले झन शशंकित भएको छ । एमालेका अध्यक्ष ओलीले यसअघि नै निर्दोष व्यक्तिलाई फसाउने र दोषी लुकाउने खेल भइरहेको बताएका थिए । यसलाई कतिपयले एमालेका थप मान्छे तानिने भएपछि ओली तर्सिएको भनेर ब्याख्या गरेका थिए ।

एमाले निकटका व्यक्ति धमाधम तानिन थालेपछि एमालेका नेताहरुले खण्डन गर्न थालेका छन् । नेता महेस बस्नेतले मंगलबार साँझ नै कांग्रेसका नेताहरुलाई बचाएर एमालेका नेताहरुलाई फसाउने षड्यन्त्र रचिएको भन्दै लामो फेसबुक स्टाटस राखेका छन् ।

बुधबार विहानै एमालेका महासचिव शंकर पोखरेलले पनि सत्ता स्वार्थको लागि नाटक गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान माथि पनि प्रश्न उठाएका छन् ।

पोखरेलले लेखेका छन्, ‘काक्रा चोरले काक्रा आफूले खाएर वियाँ सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved