संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछः प्रदीप ज्ञवाली

नेपालभ्युज

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछः प्रदीप ज्ञवाली

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताए ।

उनले अन्य कुराहरुमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरु भएपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पारे । विधेयक टुंगोमा  पुर्‍याउँदा दलहरुबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितको न्याय हुनेगरी पारित गर्नुपर्नेमा जोड दिए ।

‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा प्रश्तुत गरेको छ । केही दिनअघि संसदको विषयगत समितिमा पनि गइसकेको छ । म आशा गर्छु छिटो भन्दा छिटो टुंगिन सकोस्’ उनले भने, ‘अरु विषयमा हामी प्रतिपक्ष हौँला । धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ । यो विधेयक टुंग्याउँदा दलहरुको बीचको परामर्शलाई पर्याप्त बनाउनुहोस् तर सबैभन्दा ठूलो कुरा यहाँ अघि बसेका पीडितहरुको न्याय हुनुपर्छ । उहाँहरुको परामर्श ल्याएर मात्रै न्याय दिने गरी ल्याइयोस् ।’

उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved