घुम्दा-घुम्दै यसरी ‘भुमरी’मा परे टोपबहादुर, प्रचण्ड र ओलीले सुनेनन् हारगुहार

बुढानीलकण्ठ पासीकोटमा आफ्नै जिल्लाका नारायण पौडैलको घरमा सुस्ताउन भन्दै उनी बसे । प्रहरीले आइतबार साँझ नै उनलाई पक्राउ गरिहाल्यो । यसअघि पनि पटक-पटक धोका दिएकाले यो पटक प्रहरीले रायमाझीलाई कुनै मौका दिन चाहेन ।

घुम्दा-घुम्दै यसरी ‘भुमरी’मा परे टोपबहादुर, प्रचण्ड र ओलीले सुनेनन् हारगुहार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी यतिबेला हिरासतमा छन् । राति नै  मेडिकल जाँच गरेको प्रहरीले उनलाई आजै सोमबार अदालत लैजाने तयारी गरेको छ।

नेपाल प्रहरीको पक्राउ पूर्जीलाई बेवास्ता गर्दै ११ दिनदेखि फरार रहेका रायमाझी भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमध्ये उच्च तहका नेता हुन् । उनीसँगै यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् ।

रायमाझी भन्दा अगाडि नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएर पनि फरार केहीकाे खोजी जारी छ। गृह जिल्ला र आफ्नो निर्वाचन क्षेत्र समेत रहेको अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै गएका रायमाझी कार्यक्रम सकेर काठमाडौ फर्कने तयारीमा थिए। तर,उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको र छोरा सन्दीप रायमाझी समेत पक्राउ परिसकेको कारण बिचबाटै भागे ।

बाटो मोडेसँगै उनले आफ्नो माेबाइल फोन बुटवलमै सीमकार्ड झिकेर  फ्याँकिदिए । रुपन्देहीमा एक जना प्रहरी अधिकृतसँग पनि भेटेका रायमाझी त्यसपछी ‘छापामार’ शैलीमा गायव भएका थिए।

पक्राउ पूर्जी जारी भएपनि अनुकुल समयमा प्रहरीको सम्पर्कमा आउने वा सिधै अदालतमा उपस्थित हुने भन्नेमा थिए रायमाझी। यो प्रक्रियाका लागि कानुनी परामर्श लिएका उनले विकल्पमा ३ जना व्यक्तिप्रती आशा राखे । पहिलो, केपी शर्मा ओली, दोस्रो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तेस्रो प्रहरी आइजीपी वसन्त कुँवर ।

यहि विश्वासमा उनले पार्टी अध्यक्ष ओलीलाइ पहिलो सम्पर्क गरे। ओलीले पनि बालकोट बोलाए । तर,बालकोटमा उनलाई एक रात पनि बस्न दिइएन। स्रोतका अनुसार अर्घाखाँचीबाट रुपन्देही आएका टोपबहादुर अन्य दुई जना कर्याकर्ता सहित सामान्य हिसाबले काठमाडौ आए ।

बाटोमा अनुसन्धान विभागका प्रहरीले ‘ट्र्याक’ गरे । तर प्रहरीको सम्पर्कमा आफै आएको ठानेर उनीहरुले हस्तक्षेप गरेनन् । रायमाझीको गाडी जडिबुटी हुँदै बालकोट पुग्यो ।
रायमाझीले ओली भेट्न आउँदाको दु:ख बेग्लै छ। सुरुमा कलंकीदेखि बल्खु हुँदै कोटेश्वर आएको गाडी पुन फर्केर सातदोबाटो हुँदै गोदावरी तर्फ लाग्यो र हरिसिद्दीबाट मोडियो ।

स्रोत भन्छ-‘एकैपटक ओली निवास पस्दा गार्हो हुने देखेर केही सजगता अपनाउन खोजेको देखिन्छ।’ भित्री बाटोमा अलमलिने भएपछि गाडी पुनः ग्वार्को निस्केर चक्रपथ हुँदै जडीबुटी र त्यसपछि बालकोट पुग्यो ।

बालकोटमा अध्यक्ष ओलीलाई एकाथरी नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरलाई बोक्दा थप समस्या हुनसक्ने भन्दै हच्काइदिए । जसको परिणाम टोपबहादुरले बालकोटमा बास पाएनन् । स्रोत भन्छ-‘रायमाझी आएका हुन् तर बसेका होइनन्। अध्यक्षज्युको पनि कानुनलाई सहयोग गर्नुस् तपाईं निर्दोष भए कानुनले जोगाउँछ भन्ने सुझाव थियो तर उहाँ निस्केर गएपछि सम्पर्कविहीन हुनुभयो।’

त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग सम्पर्कमा जान चाहेका रायमाझीलाई सचिवालयले नै रोक्यो । रायमाझीको प्रस्ताव प्रचण्डसम्म पुगेपनी उनले कुनै चासो दिएनन् । त्यसपछि रायमाझीले आइजीपी कुँवरलाइ फोन लगाए ।

आइजिपी कुँवरले जतिसक्दो छिटो सम्पर्कमा आउनुस भनेपछि रायमाझीले ‘म दोषी छैन,भोलि आफैं उपस्थित हुन्छु तर ‘गिरफ्तार’ नभनी स्वेच्छिक गिरफ्तारी दिएको भन्नुहोला । कानुनलाई सघाउन तयार छु’ भनेर फोन राखे । आइजिपीलाई फोन गरेपछि रायमाझीले फेरि काठमाडौ छाडे ।

रायमाझीले काठमाडौ छाडेको र प्रहरीलाई झुक्याएको एमाले अध्यक्ष ओलीलाई समेत मन परेन र सांसद र पार्टीबाट निलम्बन गर्न तम्सिए । यो सबै नियाली रहेको प्रहरीले  सक्रियता बढायो । यही बीचमा रायमाझीले संसदमा ‘विरामी’ भएको पत्र पठाएर अर्को चलाखी गरेपछि प्रहरी जसरी पनि पक्राउ गर्ने भन्दै परिचालित भयो । प्रहरीले पत्र लैजाने ब्यक्तिको खोजी गर्न थालेपछि रायमाझी आफै शनिबार काठमाडौ भित्रिए ।

रायमाझीका नजिकका साथीले भने अनुसार आइतबार दिउँसो नै रायमाझी प्रहरीकोमा जान चाहन्थे । तर,बुढानीलकण्ठ पासीकोटमा आफ्नै जिल्लाका नारायण पौडैलको घरमा सुस्ताउन भन्दै उनी बसे । प्रहरीले आइतबार साँझ नै उनलाई पक्राउ गरिहाल्यो । यसअघि पनि पटक-पटक धोका दिएकाले यो पटक प्रहरीले रायमाझीलाई कुनै मौका दिन चाहेन ।

२०३४ सालदेखि राजनीति गरेका रायमाझी नेकपा मसाल,नेकपा एकता केन्द्र,नेकपा माओवादी हुँदै हाल नेकपा एमाले केन्द्रीय सचिव छन् । १० वर्षे जनयुद्धमा उच्च तहका नेता मध्यमा पर्ने रायमाझी पार्टी भित्र इमान्दार नै देखिन्थे ।

सरकारसँगको पहिलो शान्ति वार्तामा समेत सक्रिय रायमाझी अर्घाखाँचीबाट ४ पटक चुनाव जितेका नेता हुन् । उनी उपप्रधानमन्त्री सहित उर्जा मन्त्री र त्यसभन्दा अगाडी भौतिक योजना मन्त्री, शान्ति मन्त्री समेत भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved