एमाले केन्द्रीय कमिटी बैठक : ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस

नेपालभ्युज

एमाले केन्द्रीय कमिटी बैठक : ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस

काठमाडौं ।  नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक)ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन पेस गरे ।

यस्तै, अभियानको समीक्षा प्रतिवेदन अभियानमा खटिएका नेताहरूले पेस गरे । कोशी प्रदेशको राजेन्द्र गौतम, मधेस प्रदेश सचिव रघुवीर महासेठ, बागमती प्रदेशको सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सचिव पद्मा अर्याल, लुम्बनी प्रदेश सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सचिव योगेश भट्टराई र सुदूरपश्चिम प्रदेशको सचिव लेखराज भट्टले अभियानको समीक्षा प्रतिवेदन पेस गरे ।

यस्तै, उपत्यका विशेष प्रदेशको समीक्षा प्रतिवेदन पोलिटब्यूरो सदस्य सुजिता शाक्य र सम्पर्क समन्वय समितिको प्रतिवेदन स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रस्तुत गरे ।

आज पेस गरिएका प्रतिवेदनमाथि भोलि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल हुनेछ । सोही आठ समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्ने नेता गुरुङले जानकारी दिए । भोलि नै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाइने उनको भनाइ थियो ।

मिसन ग्रासरुट अभियानले पार्टीले उठाउने काम तथा नेता र जनताबीचको सम्बन्धलाई पुनःजागरण गर्ने काम गरेको उपमहासचिवसमेत रहेका नेता गुरुङले जानकारी दिए । ‘अभियानले जुनरूपमा हाम्रो आचारण, व्यवहार शुद्ध हुनुपर्दथ्यो त्यो नभएको पाइयो’, उनले भने, ‘पार्टीभित्र शुद्धीकरण अभियान पनि सञ्चालन गर्नुपर्दछ । वार्षिक योजनामा समावेश गर्ने छौँ ।’

प्रचार विभाग उपप्रमुख गुरुङका अनुसार अभियानको सबभन्दा राम्रो प्रभाव लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा देखिएको छ । ती प्रदेशमा अभियानका क्रममा ६० प्रतिशत सदस्य नवीकरण भएको उनले बताए । नवीकरण हुन बाँकी रहेका असार मसान्तसम्म हुने जनाइएको छ । पार्टीले गणपूरक सङ्ख्या नपुगेका तल्लोस्तरका कमिटीलाई अधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।

युवालाई पार्टीमा सहभागी गराउनका लागि नयाँ शिराबाट अधिवेशन गर्ने बैठकले निष्कर्ष निकालेको जनाइएको छ । पार्टीको वैचारिक कामलाई व्यवस्थित गर्न पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रम केन्द्रीय कमिटीदेखि तल्लो तहको कमिटीसम्म पठाउने निर्णय गरेको छ । पार्टी प्रवेश गरेकालाई जेठ मसान्तभित्र नवीकरण गर्ने र जेठ महिनाभित्र नै तल्लो कमिटीको सिफारिसमा जिम्मेवारी दिइनेछ । बैठकले यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved