नक्कली शरणार्थी प्रकरण

संगठित अपराधमा ठूला नेता पक्रन सुरू, कानुनी छिद्रबाट उम्काउने दुस्साहसमा नेतृत्वको साँठगाँठ !

अनुसन्धानको लेन्समा आरजु राणा र मञ्जु खाणपनि

कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेसँगै प्रहरीले बाँकी शक्तिशाली नेताहरूमाथि प्रमाण जुटाउँदै छ। यही प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति देउवा पत्नी आरजु राणा र बालकृष्ण पत्नी मञ्जु खाणको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । हाइप्रोफाइल पक्राउ परेसँगै कम्तीमा अपराधका उजुरीमा प्रहरीले पनि गम्भीरतासाथ लिन्छ र सार्वजनिक ओहदाका जतिसुकै माथिल्लो पदमा रहे पनि मुक्ति पाउँदैनन् भन्ने सन्देश गएको छ।

संगठित अपराधमा ठूला नेता पक्रन सुरू, कानुनी छिद्रबाट उम्काउने दुस्साहसमा नेतृत्वको साँठगाँठ !

काठमाडौं। भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने संगठित गिरोहलाई पक्राउ गर्ने क्रममा शक्तिशाली राजनीतिकर्मी पक्राउ पर्न थालेका छन् । यसै सिलसिलामा बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परे।

प्रहरीको सन्दिग्ध संगठित अपराधी सूचीमा दर्ज रहेर पक्राउ पर्नेमा खाण पहिलो राजनीतिकर्मी हुन् । हुन त एमाले सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी फरार छन् ।

आफू गृहमन्त्री हुँदा खाणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई रोजेर मन्त्रालयमा ल्याएका थिए । उनै पाण्डे पक्राउ परेपछि पूर्वगृहमन्त्री खाणको समेत नाम लिएका थिए।

आरोपितहरूको बयानका आधारमा खाण पक्राउ परेका हुन्। खाण २९ असार २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री थिए । उनी ११ पुस २०७९ सम्म गृहमा थिए ।

यसमा अरू पनि सरकार र प्रतिपक्षी दलका शक्तिशाली व्यक्ति पनि मुछिएका छन्। सरकारका बहालवाला सचिव पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हिरासतमा छन्।

अनुसन्धानको ‘लेन्स’मा थप बाँकी शक्तिशाली पात्र

प्रहरीले बाँकी शक्तिशाली नेताहरूमाथि प्रमाण जुटाउँदै छ। यही प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको हो।

सत्तारूढ कांग्रेसका पनि ‘शक्तिशाली’ पात्रको आरजुलाई साढे दुई करोड र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जुलाई ६ करोड घूस दिएको भन्दै गिरोहका एक सदस्यले भनेको एक अडिओ सार्वजनिक भएको छ ।

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

प्रहरी उच्च स्रोतले भन्यो, ‘‘सार्वजनिक भएको अडिओ प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ। त्यसमा नाम लिइएका दुई सांसद आरजु राणा देउवा र मञ्जु खाणको संलग्नताबारे प्रमाण जुटाउने प्रयास भइरहेको छ।’’

यद्यपि प्रहरीले बाँकी प्रमाण जुटाउन नपाउँदै उनीहरू सम्पर्कविहीन भएका छन्। आरजु र मञ्जु दुवै समानुपातिक सांसद हुन्। बुधबारको प्रतिनिधिसभा बैठकमा दुवै जना आएनन्। उनीहरूको मोबाइल फोन समेत अफ छ। अनुसन्धानमा उनीहरू पनि दोषी देखिए पक्राउ गर्न सक्ने प्रहरी अधिकारीको धारणा छ।

गृह प्रशासन नै प्रहरीको छानबिनमा

शक्तिशाली राजनीतिकर्मी खाण पक्राउ परेसँगै संगठित अपराध कर्ममा लाग्नेहरू ढिलोचाँडो कानुनको साङ्लोभित्र पर्ने निश्चित प्रायः हुन्छ भन्ने गतिलो सन्देश गएको छ। भलै उनको संलग्नताको परीक्षण अदालतबाट हुनेछ। तैपनि अनुसन्धानको लागि तानिनुले पनि विगतमा संगठित अपराध तथा सामाजिक अपराधका मुद्दामा यसरी नेताहरू पक्राउ पर्ने गरेका थिएनन्।

शीर्ष नेतृत्व लागेर बचाउने परम्परा थियो। संगठित अपराध जस्तो जघन्य अपराधलाई सामान्य उजुरीको रूपमा लिइन्थ्यो। त्यही कारण यसअघि यही नक्कली शरणार्थी प्रकरणमा पीडितले दिएको उजुरीको आधारमा समातिएका दुई जना छुटेका थिए। जुनबेला अहिले पक्राउ परेका खाण नै गृहमन्त्री थिए।

यति गम्भीर अपराधको छानबिन गर्न नलगाइ पक्राउ परेकालाई छुटाउन दबाब दिनुको रहस्य ढिलै भए पनि खुलेको छ । ठगी गर्ने गिरोहसँगै गृह मन्त्रालयकै साँठगाँठ रहेछ। बिचौलियाहरूले पीडितहरूसँग उठाएको पैसामध्ये केही गृहकै उच्चपदस्थतलाई बुझाएका रहेछन्।

शरणार्थी प्रकरण: देउवा र खाणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ

यस प्रकरणमा हाइप्रोफाइल पक्राउ परेसँगै कम्तीमा अपराधका उजुरीमा प्रहरीले पनि गम्भीरतासाथ लिन्छ र सार्वजनिक ओहदाका जतिसुकै माथिल्लो पदमा रहे पनि अपराधीले मुक्ति पाउँदैनन् भन्ने सन्देश गएको छ।

भनिन्छ— प्रहरी र न्यायालय मात्र बलियो भयो भने देशमा धेरै सुधार हुन्छ। प्रहरीले सक्रियता देखाउँदा कुन तहका अपराध बाहिर आउँछन् भन्ने कुरा यही उदाहरण काफी छ । भलै यो प्रकरणमा अदालतबाट अन्तिम छिनोफानो हुन बाँकी नै किन नहोस् । संगठित अपराधका गिरोहमाथि प्रहरी हस्तक्षेप सुरू भएको डेढ महिनामा १२ जना पक्राउ परेका छन् ।

कानुनी छिद्रबाटै उम्काउने दुस्साहस

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियाको बयान र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा प्रहरीले प्रतिवेदन लेख्न सुरू गरिरहँदा सार्वजनिक मञ्चमा एकअर्कालाई चेतावनी दिने नेताहरू भित्री कोठामा मिलीभगत गरिरहेका छन्। डेढ महिनायताको अनुसन्धानलाई सामसुम बनाउने खेलमा ठुला दलका शीर्ष नेतृत्व लागिपरेका विभिन्न गतिविधिले प्रष्ट्याएको छ ।

पूर्वगृहमन्त्री खाण पक्राउ परेको केही घण्टापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भयो। बुधबार दिउँसो सिंहदरबारमा भएको छलफलमा मानव तस्करी गर्न पैसा उठाउने निकटस्थहरूलाई बचाउने बारे केन्द्रित भएको आशंका छ ।

प्रचण्ड भर्सेस ओली दोहोरी ब्याटल: शरणार्थी प्रकरणको विषयान्तर प्रयास (भिडिओ)

यद्यपि उनीहरूले भने यस विषयमा छलफल केन्द्रित नभएको दाबी गरेका छन्। प्रहरी अनुसन्धान जति गहिरो हुँदै छ, बेचैनी उति बढेका शीर्षस्थ राजनीतिक नेतृत्वको गोप्य भेटले भने उनीहरूमाथि शंकाको सुइँ सोझाएको छ।

यसअघि तीनै जना नेताहरू मंगलबार पनि छलफलमा थिए । एमाले र माओवादीको सत्ता समीकरण भत्किएपछि प्रचण्ड–ओली सम्बन्धमा चिसिएको थियो। तर, नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव जोडिएपछि प्रचण्डसँग ओली नजिकिएका छन्। लगातार दुईदिन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले एक्लाएक्लै भेट गरे। दुई नेताको भेटपछि सोमबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ नै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।

पूर्वप्रधानमन्त्री देउवाले पनि सुरक्षा र प्रशासनका उच्च अधिकारीलाई ‘विभिन्न माध्यम’बाट सम्पर्क गरेर आफ्ना मान्छे बचाउन लबिङ गरिरहेको स्रोतको दाबी छ। देउवाको चासो विषेशगरी आरजुलाई साढे दुई करोड र मञ्जुलाई ६ करोड दिएको भनेको अडिओमा केन्द्रित रहेको बुझिएको छ।

बालकृष्ण खाण पक्राउपछि कहाँ गए आरजु देउवा र मन्जु खाण ?

नेता र नाता नहेरी अनुसन्धान होला ?

पार्टीका जिम्मेवार पदाधिकारी मानव तस्करीजस्तो गम्भीर मुद्दामा मुछिएपछि अनुसन्धानमा अघि बढाउनुपर्नेमा उल्टै छुटाउने दुस्प्रयास लोकतन्त्रकै लागि घातक हुने विश्लेषकहरू बताउँछन्।

विश्लेषक पीताम्बर भण्डारी भन्छन्, ‘‘मुछिएका वा संलग्न भएका भनिएका आफ्ना मान्छेलाई कानुनी निकायमा उपस्थित गराएर अनुसन्धानमा सहयोग गर्नुपर्ने हो। विडम्बना बचाउन उद्यत छन्।’’

प्रचण्ड–देउवा–ओली भेटको असर नक्कली शरणार्थी छानबिनमा पर्छ कि पर्दैन  ?

कांग्रेस युवा नेता शैलेन्द्र शर्मा गौडेल भने पार्टीका नेताहरूले ‘नेता र नाता नहेरी अनुसन्धान गर्न’ भनिरहेकाले पार्टीको नीति बचाउने नभएको तर्क गर्छन्। उनीहरू भन्छन्, ‘‘केही नेताहरूको इन्ट्रेस्ट देखिनु स्वाभाविक हो। यसमा सिङ्गो पार्टी संलग्न छैन। तर नेताहरूले गृहमन्त्रीलाई भेटेर खुट्टा नकमाउन आग्रह गरिरहेका छन्।’’

सामाजिक अपराधमा संलग्न हुने जतिसुकै ‘हाईप्रोफाइल’ र कुशाग्र भए पनि कानुन उल्लङ्घनका घटना सदाका लागि लुकाउन वा अर्कै ढङ्गले पटाक्षेप गर्न सम्भव रहँदैन’ भन्ने लक्षण देखिएको छ।

‘‘प्रहरी प्रशासनले विगतमा पनि अहिले जस्तै कठोर रूप विगतमा देखाएको भए मुलुकमा सुशासनको राम्रै जग बस्ने थियो। सामाजिक अपराधका घटनामा प्रहरीले पक्राउ गर्दै जाने राजनीतिक आडामा मुद्दा कमजोर बनाउँदै जाने र उता अदालत तथा अख्तियारले मौनता साँध्दै आएपछि संगठित अपराधी तथा भ्रष्टाचारीहरूले मौलाउने अवसर पाएका हुन्’’ जानकारहरू भन्छन्, ‘‘यसलाई रोक्न यत्तिको सक्रियता जारी रहनुपर्छ। राजनीतिक हस्तक्षेप हुनुहुँदैन। प्रहरी दबाब र प्रभावमा पर्नुहुँदैन।’’

सम्बन्धित समाचार-

बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अदालतको आदेश

पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो (फोटोहरू)

बालकृष्ण खाणकी पत्नी मन्जु सम्पर्कविहीन, फोन अफ

नक्कली शरणार्थी प्रकरण: ओलीले प्रचण्डलाई दिए चारजनाको नाम, कोको छन् ?

आरजुदेखि बालकृष्ण खाणसम्म तानिएपछि टोपबहादुरलाई तत्काल पक्राउ नगर्न प्रहरीलाई दबाब

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म को-को पक्राउ परे ?

पक्राउ परेका बालकृष्ण खाणलाई भेट्न हिरासतमा नेताहरूको लर्को

सचिव टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved