प्रचण्ड भर्सेस ओली दोहोरी ब्याटल- शरणार्थी प्रकरणको विषयान्तर प्रयास (भिडिओ)

ओली प्रचण्डले सार्वजनिक मञ्चबाट दोहोरी ब्याटल प्रस्तुत गरिरहेका छन्। उनीहरूबीच सामुन्ने यक्ष प्रश्न छ , ‘पार्टी निकट व्यक्तिमाथि गम्भीर छानबिन गर्छन् वा आरोप–प्रत्यारोप हुँदै यसमा जोडिएका नेताहरूलाई बचाउ प्रयास गर्छन् ?’

नेपालभ्युज

प्रचण्ड भर्सेस ओली दोहोरी ब्याटल- शरणार्थी प्रकरणको विषयान्तर प्रयास (भिडिओ)

काठमाडौं। राजनीतिक संरक्षणमा भएको एउटा ठूलो ठगी प्रकरण यसबेला चर्चामा छ, नक्कली भुटानी शरणार्थी प्रकरण। नेपालीलाई भुटानी शरणार्थी भन्दै अमेरिका लैजाने आश्वासन दिँदै अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहबारे खुलासाहरू भइरहेका छन्।

यही प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस सांसद आरजू राणा र मञ्जु खाँडसहित कतिपय नेताहरूको नाम जोडिएको छ।

यो प्रकरणलाई गम्भीर रूपमा छानबिन गर्नुपर्ने माग संसददेखि सडकसम्म उठेको छ। ठगी प्रकरणमा उनीहरूको नाम जोडिइसकेपछि स्वयं व्यक्ति, अनि सम्बन्धित पार्टीहरूले अनुसन्धानमा बाधक बन्दैनौं भनेर सार्वजनिक प्रतिबद्धता जनाए पनि भित्रभित्रै उल्टो रणनीति बनाइरहेका छन्। सार्वजनिक रूपमा शीर्ष नेताले ‘दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने’ अभिव्यक्ति दिए पनि प्रकरणको छानबिनकै क्रममा देखिएका घटनाक्रमले शीर्ष नेतृत्वको नियतमाथि प्रश्न उठाउने ठाउँ दिएको छ ।

सत्ता र प्रतिपक्षी दलका नेताहरूले नजिकिएका छन्, जसलाई आफ्ना सन्दिग्ध मान्छे जोगाउन उनीहरू पटकपटक भेट्दै नजिकिएको आरोप छ। ‘‘यसअघि पानी बाराबारको अवस्थामा रहेका उनीहरू यस प्रकरणमा नजिकिनुको तात्पर्य आपत्तिजनक छ,’’ आलोचकहरू भन्छन्।

 

ट्रेलर कि फिल्म

प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा जोडिएका जो सुकैलाई कारबाही गर्ने सार्वजनिक रूपमा चेतावनी दिँदैआएका छन्। उता सचिव रायमाझीलाई पक्राउ पूर्जी जारी भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई उदाहरण बनाउँदै नियतिमाथि प्रश्न गरिरहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका दुई अध्यक्ष केपी शर्मा ओलीबीच आ–आफ्ना मञ्चबाट दोहोरी ब्याटल त चल्न थालेको छ। दुई नेताको दोहोरी फेसबुकको रिलदेखि टिकटकको भित्तासम्ममा चर्चामा छ।

शनिबार नेपाल दलित मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै शनिबार प्रचण्डले भने ‘‘मैले भन्दै आएको छु। कुनै पनि हालतमा भ्रष्ट्राचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरु भएको छ। यो सुरुआत मात्रै हो। यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिँगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ।’’

एमाले अध्यक्ष ओली पनि के कम, उनले प्रचण्डलाई सोमबार पार्टी केन्द्रीय कार्यालयबाट जवाफ दिए– ‘‘म प्रचण्डजीलाई सोध्न चाहन्छु। तपाईंको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ ? अन्तत धुमधाम भइसक्यो त। सबैतिर सिनेमा चल्या छ प्रचण्डजी तपाईंको हलमा कहिले लाग्छ सिनेमा ? हामी हेर्न चाहन्छौँ त्यो सिनेमा। सधैँ ट्रेलर मात्र किन प्रचण्डजी सिनेमा चलाउनुस् न तपाईंको हलमा। हल किन रित्तै। किन ताला लागेको छ तपाईंको हलमा । समाचार माध्यममा फिल्म लागिरहेको छ। किन चुप हुनुहुन्छ?’’

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै ओलीले जवाफ फर्काए।

विषयान्तरको आरोप

दुई नेताहरूले यसरी सार्वजनिकरूपमा बोल्दै गर्दा दुवैको अग्निपरीक्षा सुरु भएको कतिपयको टिप्पणी छ। पार्टी निकट व्यक्तिमाथि गम्भीर छानबिन गर्छन् वा आरोप–प्रत्यारोप हुँदै यसमा जोडिएको राजनीति नेताहरूलाई बचाउने प्रयास गर्छन् ? शीर्ष नेताका सामुन्ने यक्ष प्रश्न छ ।

माओवादी र कांग्रेसले भने एमालेको नक्कली भुटानी शरणार्थी प्रकरणप्रतिको अभिव्यक्तिलाई एमालेले विषयान्तर गर्न खोजेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा माओवादी सांसद माधव सापकोटाले भने, ‘‘प्रमुख प्रतिपक्षी भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नुस्।’’

यसअघि, ओली प्रचण्डको क्यारिकेचर समेत चर्चामा थियो। ओली प्रधानमन्त्री हुँदा प्रचण्डले ‘नाटकै हो, नाटकै हो’ भनेका थिए। प्रचण्डको क्यारिकेचर गर्दै जवाफ फर्काएको ‘नौटकी नै हौ, नौटकी नै हो’ भन्ने वाक्यांश भाइरल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved