प्रचण्डलाई ओलीको चुनौती- शरणार्थी प्रकरणमा एमालेविरुद्ध होइन, दोषीविरुद्ध दृढतापूर्वक उभिनुस्

नेपालभ्युज

प्रचण्डलाई ओलीको चुनौती- शरणार्थी प्रकरणमा एमालेविरुद्ध होइन, दोषीविरुद्ध दृढतापूर्वक उभिनुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीविरुद्ध दृढतापूर्वक उभिनु चुनौति दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उनिसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटून’ भनेर भन्नु परेको जिकीर समेत गरे ।

प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानवीन गरी दोषीमाथि कारबाही गर्न दवाव दिनु परेको उनको स्पष्टिकरण थियो । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि बताए ।

उनले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दवाव दिएजसरी सञ्चार माध्याममा बोलेको दोहोर्‍याउँदै हिरोइज्मको खेल खेल्ने प्रयास नगर्न समेत चेतावनी दिए । अध्यक्ष ओलीले आफ्नो पार्टी सो प्रकरणको दोषीलाई जोगाउने पक्षमा नरहेको पटकपटक दोहोर्‍याए । उनले भने, ‘भ्रष्टहरु नछुटून भनेर मैले प्रधानमन्त्रीलाई भन्नुको अर्थ छ ।  किनभने प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनावश्यक ढंगले मान्छेहरुलाई पोल्न लगाउने र मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ । त्यसकारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु–निर्दोषलाई फसाउने कोशिस नहोस् । कोही पनि भ्रष्टाचार नउम्किउन ।’

‘प्रधानमन्त्रीले मसँगको भेटपछि   दुधले नुहाएको सेतो अवतारका साथ  मिडियामा निस्केर पवित्र अवतार, चोखो अवतार । त्यसरुपमा निस्केर भ्रष्टलाई छोडदिन, दवावमा पर्दिन । के मलाई उहाँले दवाव दिनका लागि बोलाउनु भएको हो ? मैले उहाँलाई दवाव दिएको थिए र ? उहाँले कुनै दवाव दिएको छैन भन्नु पर्छ नि । सही कुरा बोल्नु पर्दैन ।  मैले दवाव दिएजसरी उहाँ मिडियामा बोल्नु भयो’ उनले भने, ‘मैले गएर उहाँलाई मान्छे छुटाउन दवाव दिए, दोषीलाई छुटाउन दवाव दिए भनेजस्तो हिसावले धाक लगाउने भयो मानौं कि नेपाली जनताले प्रचण्डलाई चिनेकै छैनन् । कसैको दवाव मान्छु र म । के भनेको त्यो ? उहाँले त्यसपछि कार्यकर्तामाझ गएर दुवोको माला लगाएर भन्नु भयो, यो त टेलर मात्रै हो, फिल्म आउन बाँकि छ ।’

‘म प्रचण्डजीलाई सोध्न चाहन्छु–तपाईको सिनेमा हलमा फिल्म कहिले लाग्छ ? अन्त त धुमधाम भई सक्यो त ? सबैतिर चलेको छ सिनेमा । तपाईको हलमा कहिले लाग्छ ? हामी हेर्न चाहन्छौं त्यो सिनेमा । सबै टेलर मात्रै किन प्रचण्डजी । तपाई हल किन रित्तै, ताला लागेको छ । सञ्चार माध्याममा फिल्म आईराख्या छ । किन चुप हुुनुहुन्छ ? मलाई बोलाएर भेटने अनि यो त टेलर मात्रै हो, फिल्म देखाईदिन्छु भन्ने । देखाउनुस्त फिल्म ?, उनले भने।’

‘म आज पनि उहाँलाई सोध्नेवाला छु–फिल्म कहिले सुरु हुन्छ ? कसैको बारेमा उहाँ किन चूसम्म बोलिराख्नु भएको छैन ? कसैको बारेमा उहाँ किन निकै चम्केर अगाडि बढिरहनु भएको छ ? अहिले म भनि हाल्दिन’ उनले भने, ‘ककसलाई फसाऊ भन्ने उहाँको निर्देशन छ ? कसकसलाई उम्काऊ भन्ने निर्देशन छ । त्यसबारेमा म पछि कुरा गरौंला ।’ तर प्रधानमन्त्री भएर यस प्रकारको खेल चल्दैन प्रचण्डजी ।’

‘प्रधानमन्त्रीले यस्ता भ्रष्टाचारको काण्डहरुको छानविन दृढताका साथ गराउनु पर्छ । हिरोईज्मको व्यापार गर्ने होइन । उहाँ हिरोइज्मको व्यापार गरिराख्नु भएको छ । वा, दुवोको माला लगाएर हिरो । त्यसकारण यो व्यापार गर्ने होइन ।’ उनले भने, ‘स्टन्टबाजी गर्ने होइन प्रधानमन्त्रीजी । छानवीन गरेर दोषीमाथि कारबाही गर्नु पर्‍यो । अनि, प्रतिपक्षको विरुद्ध होइन । दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस त ?’

‘म प्रधानमन्त्रीलाई चुनौति दिएर भन्छु–दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस । प्रतिपक्षका विरुद्ध होइन । म तपाईहरुलाई आश्वास्त पार्न चाहन्छु–हाम्रो पार्टी कसैको दोष, अपराधको ढाकछोप गर्दैन र, कोही पनि दोषीलाई बचाउने काम गर्दैन, उनले भने ।’

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोत्तलमा राखिएको पुरानो रक्सीको रुपमा चित्रण गरे । तितेपाती उदाहरण प्रस्तुत गर्दै उनले सो पार्टीको आयु बढिमा ४ महिनाको रहेको पनि बताए । उनले नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको पनि बताए । ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टी भएको दावी समेत गरे । उनले भने, ‘एउटा हल्ला चलेको छ अहिले । अव यो पुरानो पार्टी सक्किए भनेको खासगरी एमालेलाई टार्गेट गर्न खोजिएको हो । बुर्जुवामा पुरानो, नयाँको केही पनि अर्थ छैन । पुराना हुन कि नयाँ आउन कि के मतलव ? बुर्जुवा आईडोलोजी इज बुर्जुवा आईडोलोजी । जे सुकै बजाएर, जेसुकै बोकेर आओस्न । केही फरक पर्दैन ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved