के हो ‘षड्यन्त्र सिद्धान्त’ ? राजनीतिमा कसरी काम गर्छ यसले ?

राजनीतिमा बारम्बार प्रयोग हुने शब्दावली हो— कन्सपिरेसी थ्योरी अर्थात् षड्यन्त्र सिद्धान्त । राजनीतिक दल, तिनका नेता/कार्यकर्ता र विश्लेषकले एकअर्कालाई आरोप लगाउन होस् वा घटनाक्रमको विश्लेषण गर्न यो पदावलीको बारम्बार प्रयोग गर्दछन् ।

नेपालभ्युज

के हो ‘षड्यन्त्र सिद्धान्त’ ? राजनीतिमा कसरी काम गर्छ यसले ?

राजनीतिमा बारम्बार प्रयोग हुने शब्दावली हो— कन्सपिरेसी थ्योरी अर्थात् षड्यन्त्र सिद्धान्त । राजनीतिक दल, तिनका नेता/कार्यकर्ता र विश्लेषकले एकअर्कालाई आरोप लगाउन होस् वा घटनाक्रमको विश्लेषण गर्न यो पदावलीको बारम्बार प्रयोग गर्दछन् ।

षड्यन्त्र सिद्धान्त भनेको के हो र यसले कसरी काम गर्दछ भन्नेबारे धेरैमा जिज्ञासा हुन सक्दछ । वास्तवमा षड्यन्त्र सिद्धान्त भनेको के हो त ? यसमा प्रवेश गर्नुअघि नेपाली राजनीतिका दुई वटा घटनाक्रमलाई उदाहरणका रूपमा हेरौँ ।

पहिलो— २०५० जेष्ठ ३ गतेको दासढुङ्गा दुर्घटना र दोस्रो— २०५८ जेष्ठ १९ गतेको नारायणहिटी दरबार हत्याकाण्ड

यी दुवै घटनाले नेपाली राजनीतिमा धेरै ठूलो र दूरगामी प्रभाव पर्‍यो । तर, यी घटनाको सत्यतथ्य के हो, त्यो अहिले पनि कसैले दाबीका साथ भन्न सक्दैन । मानौँ कि कसैलाई सत्य थाहा छ र उसले भन्यो भने पनि विश्वास गर्नेको संख्या असाध्यै सानो हुन्छ वा हुँदै हुँदैन ।

दासढुङ्गा काण्डमा पोखराबाट एक जीप चितवन जाँदै थियो । जीपमा जम्मा ३ जना मानिस थिए । एमालेका तत्कालीन महासचिव मदन भण्डारी, सङ्गठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा । जीप मुग्लिन-नारायणघाट खण्डको दासढुङ्गा भन्ने ठाउँबाट त्रिशुली नदीमा खस्यो । नेताहरू भण्डारी र आश्रित गाडीसँगै नदीमा डुबेर निधन भयो तर चालक अमर लामा भने बाँचे । तिनै अमर लामालाई १० वर्षपछि एक सशस्त्र समूहले काठमाडौंको तीर्तिपुरमा गोली हानेर मार्‍यो ।

नारायणहिटी हत्याकाण्डमा भने राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या, अधिराजकुमार निराजन शाह, राजकुमारी श्रुती शाहलगायत राजपरिवारका सदस्यहरूको गोली लागि मृत्यु भयो ।

यी घटनाको वास्तविक सत्य कुनै एउटा होला । एउटा घटनाको एक साथ धेरै वटा सत्य हुँदैन । तर, परिस्थिति यस्तो भइदिन्छ कि त्यसको अर्थ जता लगाए पनि हुन्छ । जस्तो कि दासढुङ्गा काण्डबारे दुईवटा प्रमुख अनुमान छन् ।

एक, यो कुनै सुनियोजित हत्याकाण्ड नभएर एक दुर्घटना मात्र थियो । त्यसो हुनै नसक्ने कुरा हैन । किनकी त्रिशुली नदी करिडोरमा वर्षेनी दर्जनौं सडक दुर्घटना भइरहन्छन् । त्यो एक प्रकारको ‘एक्सिटेन्ट प्रोन’ इलाका नै हो ।

तर, आशङ्कापूर्ण परिस्थिति के हो भने त्यसोभए चालक अमर लामाचाहिँ कसरी बाँचे ? सायद चालक अमर लामा पनि मरेको भए मानिसले त्यसलाई दुर्घटना नै मान्न सक्थे । तर, के सडक दुर्घटनामा प्यासेन्जरको निधन हुन र चालक बाँच्न असम्भव कुरा हो र ? यस्तो त दर्जनौं सडक दुर्घटनामा भइरहेकै हुन्छ । चालक आफैँमा अग्रसीटमा भएको हुँदा उसलाई स्थितिको पूर्वज्ञान वा अनुमान हुन्छ । उसले कुनै उपाय लगाउन सक्दछ । जो पछाडि सीट बेल्ट बाँधेर बसेका यात्रुका लागि उपलब्ध हुँदैन । तर, मानिस अहिले पनि यो कुरा मान्न तयार छैनन् । तसर्थ दोस्रो धारणा बलियो छ ।

दोस्रो दृष्टिकोणले भने यो एक सुनियोचित हत्याकाण्ड नै थियो भन्ने ठान्दछ । एमाले पार्टीले दोस्रो दृष्टिकोणलाई पक्रियो । किनकी त्यसो गर्दा उनलाई राजनीतिक फाइदा हुनेवाला थियो । षड्यन्त्र सिद्धान्त भनेको यही हो ।

कुनै मानिस वा संस्थाले आफ्नो राजनीतिक सहजताका लागि जुन व्याख्या र भाष्य बढी उपयोगी हुन्छ, त्यही प्रयोग गर्न चाहन्छ भने त्यो षड्यन्त्र सिद्धान्तको उपयोग बन्न पुग्दछ ।

षड्यन्त्र सिद्धान्तको अर्थ कुनै पनि घटना हुँदा त्यो सहज घटना नभएर त्यसो हुनुको पछाडि कुनै न कुनै षड्यन्त्र अवश्य भएको हुनुपर्दछ भनेर सोच्ने तरिका हो । षड्यन्त्र सिद्धान्तले राजनीतिमा कुनै पनि घटना आफैँ, स्वाभाविक वा प्राकृतिक तवरले भएका हुँदैनन्, त्यसभित्र कसै न कसैको कुनै न कुनै षड्यन्त्रमूलक भूमिका हुन्छ भन्ने विश्वास गर्दछ ।

तर, यस्तो दाबी गरेर पनि आखिर एमालेले त्यसलाई पुष्टि गर्न भने सकेन । दासढुङ्गा दुर्घटनालाई एमालेले षड्यन्त्र सिद्धान्तका आधारमा हेर्‍यो र दाबी गर्‍यो कि यो सुनियोजित हत्या नै हो । त्यसको छानविनका लागि भन्दै ठूलो आन्दोलन नै भयो । एमालेको पक्षमा ठूलो सहानुभूति र जनलहर सृजना भयो । त्यसले गर्दा २०५१ को मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न र पहिलोपटक अल्पमतको सरकार गठन गर्न एमालेलाई मद्दत पुग्यो ।

त्यसयता एमाले बारम्बार सरकारमा गयो । एमाले पार्टीले गठन गरेको छानविन कार्यदलका संयोजक केपी शर्मा ओली बारम्बार गृहमन्त्री र प्रधानमन्त्री भए । स्वयम् मदन भण्डारीपत्नी विद्यादेवी भण्डारी रक्षामन्त्री तथा राष्ट्रपति भइन् ।

तर, यसको भरपर्दो छानविन गर्ने र सत्यतथ्य बाहिर ल्याउने काम भने भएन । अब कहिल्यै हुने पनि छैन । यो एक राजनीतिक मुद्दा बनिरहन सक्दछ । तर, कहिल्यै भरपर्दो छानविन हुने छैन । यो नै षड्यन्त्र सिद्धान्तको राजनीतिक उपयोग हो ।

१० वर्षपछि भएको अमर लामाको हत्याले त घटनालाई झनै रहस्यमय बनायो । लामालाई मदन भण्डारीको हत्यारालाई जनकारबाही गरेको सहानुभूति प्राप्त गर्न तत्कालीन विद्रोही समूह माओवादीको एक समूहले हत्या गरेको हुन सक्ने आशङ्का गरिन्छ । आखिर त्यसको पनि कुनै सत्यतथ्य सामुन्ने आएन र कारबाही पनि कसैलाई भएन ।

ठीक यही कुरा नारायणहिटी दरबार हत्याकाण्डमा पनि लागू हुन्छ । के यति ठूलो घटना हुँदा सत्यतथ्य कसैलाई थाहा थिएन वा छैन होला त ? कोही प्रत्यक्षदर्शी बाँकी छैन त ? त्यसो हुन सम्भव नै छैन । तर, सत्य के हो कसैले अहिले पनि भन्न सक्दैन र भने पनि कसैले विश्वास गर्दैन ।
राजनीतिमा हुने यस्ता घटनाका पछाडि षड्यन्त्र हुन पनि सक्दछ, नहुन पनि सक्दछ तर षड्यन्त्र सिद्धान्तले भने ‘पक्कै षड्यन्त्र छ’ भन्ने विश्वास गर्दछ । यही बुझाइबाट नारायणहिटी दरबार हत्याकाण्डलाई ‘नयाँ कोत पर्व’ भनियो र त्यसको राजनीतिक प्रभाव यति धेरै पर्‍यो कि २४० वर्षे शाहवंशीय राजतन्त्रकै अन्त्य भइ देश गणतन्त्रमा पुग्न मद्दत गर्‍यो ।

गणतन्त्रवादीहरूका लागि त यो राजनीतिक फाइदाको कुरा भयो । तर, यो घटनाक्रमबारे स्वयम् राजावादीहरूले समेत षड्यन्त्र सिद्धान्तको प्रयोग गरिरहेका हुन्छन । एकातिर उनीहरू भन्छन् कि यो घटनामा राजतन्त्र र त्यसका सदस्यहरू सबै निर्दोष छन । यदि छन भने घटना कसले गर्‍यो त ? कुनै नागरिकलाई त त्यहाँ पस्ने, बस्ने अधिकार थिएन । सेना स्वयम् राजदरबारको हातमा थियो ।

फेरि राजा ज्ञानेन्द्र आफैँले गठन गरेको तत्कालीन सभामुख तारानाथ रानाभाट नेतृत्वको छानविन समितिको प्रतिवेदनले भन्छ कि घटना तत्कालीन युवराज दीपेन्द्र शाहले गोली चलाएको कारणले भएको हो ।

घटना कति जटिल लाग्छ भने स्वयम् ज्ञानेन्द्र शाहले गठन गरेको छानविन आयोगको प्रतिवेदन स्वयम् उनकै समर्थकले पत्याउँदैनन् । राजनीतिमा महत्त्व राख्ने कुनै हिंसात्मक वा अहिंसात्मक घटनाबाट उत्पन्न अपर्याप्त प्रमाण र भावनात्मक पूर्वाग्रहलाई दोहन गरी राजनीतिक फाइदा लिने प्रवृतिलाई राजनीतिशास्त्रमा षड्यन्त्र सिद्धान्त भनिन्छ, जो स्वयम् राजावादीहरूले पनि गरिरहेका छन् ।

षड्यन्त्र सिद्धान्तको अर्को विशेषतः राजनीतिक लाभका लागि बलियाजस्ता लाग्ने तर झुटा तर्कहरूको सहारा लिनु हो । गरिएका दाबीहरू सत्यतथ्य हुन् कि हैननभन्ने कुरासँग यो सिद्धान्तमा विश्वास गर्ने मानिसका लागि कुनै महत्त्व हुँदैन । मान्छेले ती तर्कहरूलाई मात्र महत्त्व दिन्छन् जो उसको भित्री मनको पूर्वाग्रहलाई व्यक्त र सही प्रमाणित गर्न खोज्ने प्रयासका लासग सहयोगी हुन्छन् ।

अर्थात् ‘षड्यन्त्र’ र ‘षड्यन्त्र सिद्धान्त’ फरक-फरक कुरा हुन् । कसैविरुद्ध, कुनै व्यक्ति वा संस्थाका विरुद्ध गोप्य तरिकाले कुनै जायज वा नाजायज घटनाको योजना र कार्यान्वयन गर्नु षड्यन्त्र हो । कुनै घटनाको भ्रमपूर्ण राजनीतिक उपयोग गर्नु षड्यन्त्र सिद्धान्त हो ।

मनोवैज्ञानिकहरू ठान्दछन कि षड्यन्त्र सिद्धान्त मनोवैज्ञानिक समस्याको उपज हो । तर, कुनै एक व्यक्तिमा नभएर ‘मास साइकोलजी’ मा हुने समस्या हो । कुनै घटनाबारे एक व्यक्तिले नभएर धेरै मानिसले एक साथ कुनै अप्रमाणित तथा तथ्यहीन तर्क प्रणालीलाई पत्याउँछन् भने त्यो षड्यन्त्र सिद्धान्तको उपदेयता पुष्टि हुनु हो ।

भनिन्छ एक अमेरिकी लेखक चार्ल्स अर्थरले सन् १८६३ मा पहिलो पटक एक लेखमा यो शब्दाबली प्रयोग गरेका थिए । उनको आशंका थियो कि ‘अमेरिकी सिभिल वार’ मा ब्रिटिस जासुस र कुटनीतिज्ञहरूको भूमिका हुन पर्दछ ।

शीत युद्धकालमा यो सिद्धान्तको असाध्यै धेरै प्रयोग भयो । तत्कालीन सोभियत सङ्घमा कुनै घटना हुँदा बोल्शेभिकहरूले ‘अमेरिका’ र ‘सीआईए’ को हात हुनुपर्दछ भन्ने विश्वास गर्थे भने अमेरिकी र पश्चिमा विश्वले ‘केजिबी’ ले गराएको हुन सक्ने ठान्दथे ।

नेपालमा पनि षड्यन्त्र सिद्धान्तको उपदेयता निक्कै बलियो छ । यहाँ हुने अधिकांश घटनका पछाडि भारत र अरु देशहरूको भूमिका हुन्छ वा हुनुपर्दछ भन्ने विश्वास गरिन्छ ।

षड्यन्त्र सिद्धान्तले ‘प्रोपागण्डा सिद्धान्त’ लाई प्रेरित गर्दछ । कुनै पनि घटना स्वाभाविक प्रक्रियाले आफैँ भएको हैन वा हुनै सक्दैन भन्ने पूर्वमान्यता भएपछि त्यसको पछाडि कसको हात छ त भन्ने प्रश्न उठ्ने नै भयो । तर, षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरूले कुनै भरपर्दो प्रमाण दिन नसके पनि आफ्नो बुझाइ र विश्वासको प्रोपागण्डा गर्न भने कहिल्यै छाड्दैनन् ।

खासमा लोकतान्त्रिक राजनीतिमा षड्यन्त्र सिद्धान्तको उपयोग नहुने पर्ने हो, किनकी त्यसो गर्दा मतदाता भ्रमित हुन्छन् र निर्वाचन परिणामले अवाञ्छित कोर्स पक्रिएर राज्य र समाजको बाटो नै मोडिन सक्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved