‘जनताले वर्तमान राज्यसत्ताको विकल्प खोजिरहेका छन्, नयाँ शक्तिहरूको कुनै औचित्य छैन’ (भिडिओसहित)

धर्मेन्द्र नयाँ तथा वैकल्पिक शक्तिहरूको पनि कुनै औचित्य नभएको बताउँछन् । वर्तमान राज्यसत्तालाई नै स्वीकारेर आएकाले उनीहरूको औचित्य नभएको ठान्छन् उनी ।

नेपालभ्युज

‘जनताले वर्तमान राज्यसत्ताको विकल्प खोजिरहेका छन्, नयाँ शक्तिहरूको कुनै औचित्य छैन’ (भिडिओसहित)

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपाली जनताले वर्तमान राज्यसत्ताको विकल्प खोजिरहेको बताएका छन् । नेपालभ्यूजको भ्यूज टकमा कुराकानी गर्दै धर्मेन्द्रले यस्तो बताएका हुन् । “नेपाली जनताले वर्तमान राज्यसत्ताको विकल्प खोजिरहेका छन्,” उनले भने ।

तर, त्यो सजिलै प्राप्त नहुने उनको ठम्याइँ छ । “यो सहजरूपमा प्राप्तचाहिँ हुँदैन,” धर्मेन्द्रले भने, “त्यसका लागि ठूलो राजनीतिक सङ्घर्ष गर्नुपर्छ । त्यो अरुबाट हुँदैन, त्यसका लागि हामी नै उठ्नुपर्ने देखिन्छ र त्यसका लागि हामी तयार नै छौँ ।”

त्यो सङ्घर्षका लागि आफूहरू आधार तयार पार्न लागिरहेको उनले बताए । “त्यसमा हामीले क्रान्तिकारीहरूबीच एकता गर्छौँ । तर, संसद्‌वादी र संशोधनवादी दलहरूसँग चाहिँ एकता हुँदैन । जस्तो तपाईंले हेर्नुभयो भने अहिले प्रचण्डजीहरूको पार्टी संसद्‌वादी बनेर पतन भइसकेका छन् । एकता हुनका लागि उनीहरू रूपान्तरण हुनुपर्छ तर उनीहरू रूपान्तरण हुने सम्भावनाचाहिँ देखिँदैन,” उनले भनेका छन् ।

दलाल पुँजीवादी राज्य व्यवस्था रहेसम्म श्रमिकका समस्या समाधान हुँदैन : धर्मेन्द्र बास्तोला

त्यसैकारण माओवादी केन्द्रलगायतका दलहरूसँग एकता नभइ सङ्घर्ष हुने उलने बताएका छन् । “एकताका लागि संसद्‌वादी बाटो छाडेर जनवादी तथा समाजवादी क्रान्तिका लागि तयार रहनुपर्छ तर उहाँहरू त्यहाँ तयार हुनुहुन्न,” उनले ने ।

‘नयाँ शक्तिहरूको औचित्य छैन’

धर्मेन्द्र नयाँ तथा वैकल्पिक शक्तिहरूको पनि कुनै औचित्य नभएको बताउँछन् । वर्तमान राज्यसत्तालाई नै स्वीकारेर आएकाले उनीहरूको औचित्य नभएको ठान्छन् उनी, भन्छन्— “अहिले आउन खोजेका नयाँ शक्तिहरूको पनि कुनै औचित्य देखिँदैन । उनीहरूको चुरीफुरी पनि देखिएकै छ । तर, औचित्यचाहिँ छैन । किनकी उनीहरूले पनि त्यही व्यवस्थाचाहिँ स्वीकारेका छन् ।”

जनताचाहिँ नयाँ राज्यव्यवस्था खोज्ने तर उनीहरूले चाहिँ यही व्यवस्था स्वीकार्ने भएपछि कसरी ती नयाँ शक्तिहरू भए ? भनेर उनले प्रतिप्रश्न गरेका छन् । “यदि अहिले राज्यव्यवस्था फालेर नयाँ स्थापना गर्ने सोचसहित आएका भएचाहिँ नयाँहरूको पनि औचित्य देखिथ्यो,” उनले भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र, नागरिक उन्मुक्ति, जनमतलगायतका दलहरूलाई लक्षित गर्दै उनले औचित्य पुष्टि गर्नका लागि सन् १६१८ भएको सुगौली सन्धिदेखि विभिन्न कालखण्डमा भएका असमान सन्धि-सम्झौताहरू खारेज गर्नमा पहल गर्नुपर्ने बताए ।

यदि त्यसो भएको खण्डमा मात्रै आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र नेपाल आफैँ स्वाधीन र सार्वभौमसत्ता हुने उनले बताएका छन् । नयाँ शक्तिहरूले यसतर्फ सोच्नुपर्ने पनि उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved