पूर्वराजा भर्सेस नेता

पूर्वराजाको सक्रियता पुनर्स्थापित हुने संकेत हो ? नत्र किन तर्सिए ओली-प्रचण्ड ?

‘पुराना दल र नेताहरूलाई आम नागरिकहरूले फिटिक्कै रुचाएका छैनन्’ भन्ने प्रमाण खोज्न उपचुनावभन्दा पर्तिर जानुपर्दैन। सातादिनअघिकोे परिणामले देखाइसकेको छ। अनि यो पनि मतदाताले राजसंस्थाप्रति पनि रुचि राख्दैनन् भन्ने पनि त्यही स्पष्ट छ।

पूर्वराजाको सक्रियता पुनर्स्थापित हुने संकेत हो ? नत्र किन तर्सिए ओली-प्रचण्ड ?

काठमाडौं। ‘ममाथि ठाउँ-ठाउँमा आक्रमण र अवरोध भयो। यसमा ज्ञानेन्द्र शाह र उनको परिवारकै सदस्यको संलग्नता छ। बाटामा गुन्डा प्रवृत्तिका मान्छेहरूले ढुंगामुढा गरे। पूर्वदरबारियाहरूले छौंडा खेलाएर पनि यस्तो भएको छ’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार आक्रोश पोखे।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी भातृ संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा उनले अस्तित्वमै रहेको राजसंस्थालाई मूल निशाना बनाए। कोसी प्रदेशका चार जिल्लाको भ्रमण सकेर काठमाडौं आएलगतै ओलीले ‘पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारकै सदस्यबाट आफूमाथि हमला भएको’ आरोप लगाए।

पहिचान पक्षधर आन्दोलित भएकै बेलामा ओली पूर्व गएका थिए। जति बेला किरात प्रदेश नामकरणको पक्षमा आन्दोलन उत्कर्षमा छ। आन्दोलनको भीड पन्छाउँदै उनी झापा, इलाम, पाँचथर र तेह्रथुम पुगे। पहिचान राजनीतिबारे कडा अभिव्यक्ति दिँदै ओलीमाथि बाटोमा आक्रमणको प्रयास भएको थियो।

खासमा ओलीमाथि ‘किरात प्रदेश’ नाम माग राखेर भएको पहिचानबादी आन्दोलनमा आक्रमण प्रयास भएका हो। तर, ओलीले ती आन्दोलनकारीप्रति नरमरूपमा असहमति राख्दै आग्रह गरे ‘‘मैले नाम राखेको होइन। प्रदेश सभाले कोसी नाम राखेको हो। नाम मन नपरे दुई तिहाइ ल्याएर बदले भइहाल्यो त।’’ यसरी आफूमाथि आक्रमणमा उत्रिएका आन्दोलनकारीप्रति ओली नरम देखिए। बरु उनी सीधा खनिए, नामेट भइसकेको राजसंस्थाप्रति।

‘यसमा ज्ञानेन्द्र शाह र उनको परिवारकै सदस्यको संलग्नता छ। पूर्व दरबारियाहरूले छौँडा खेलाएर पनि यस्तो भएको’ ओलीको दाबी थियो।
शुक्रबार र शनिबार पूर्वका विभिन्न जिल्लामा ओलीले यस्तै किसिमका आक्रामक अभिव्यक्ति दिएका थिए, पूर्वराजपरिवारविरुद्ध। कडा प्रतिवाद गर्ने क्रममा ओली पूर्वयुवराज्ञी हिमानी शाहप्रति समेत खनिएका थिए। पूर्वयुवराज्ञी ‘हिमानी शाह’का नामबाट गरिएको फेक ट्विटका पछि लाग्दा नराम्रोसँग चिप्लिँदै उनले गाली गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह सम्मलाई चेतावनी दिन भ्याए। उनले त्यही ट्विटलाई आधार मानेर पूर्वराजा ज्ञानेन्द्रलाई भने, ‘‘म ज्ञानेन्द्र शाहलाई म भन्न चाहन्छु, छोरा बुहारीलाई अघि सारेर धेरै बढ्ता फुरफुर नगर्नु।’’

‘सर्प मरे पनि पुच्छर हल्लिरहन्छ’ नेपाली भाषामा आहान छ। मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको डेढ दशक नाघिसकेको छ। राजतन्त्रका पक्षपातीहरूले आफ्नो गतिविधि जारी राख्न छोडेका छैनन्। यही बीचमा दलका नेताहरू पनि पूर्वराजाप्रति आक्रोश पोख्न छाडेका छैनन्।

यो बिर्सन मिल्दैन, यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि धेरैपटक पूर्वराजाको आलोचना गरिसकेका छन्। आलोचना मात्र होइन, पूर्वराजा ‘नाइट क्लब’मा नाच्दा होस्, या चाडबाडमा शुभकामना दिँदा होस्, प्रतिक्रिया स्वरूप विगत भइसकेको राजसंस्थालाई गाली गलौच गर्नैपर्ने नियमितता नै बनिसेको छ।

कुरा यत्ति मात्रै कहाँ हो र, अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले त ‘‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,, सुशासन व्यवस्थाविरुद्ध नलाग्नुस्’’ भन्दै चुनौती नै दिएका थिए। देउवाले यत्ति मात्रै भनेनन्, पूर्वराजा ज्ञानेन्द्रलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी नै दिएका थिए।

ओलीले पूर्वराजालाई गाली गरेकै भोलिपल्ट प्रचण्ड पनि उस्तै गरी खनिए। काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कटाक्ष गरे, ‘‘हिजो इतिहासमा कुडा कर्कटमा मिल्काइएको सामन्तका छाउराहरू बाहिर आएका छन्। इतिहासले, आम नेपाली जनताले इतिहासको कुडा कर्कटमा फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि उठ्न थालेका छन्, अझ पूर्वबाट रे!”

यी सुन्दा धेरैलाई लाग्यो होला नेताहरूबीच को बढी क्रान्तिकारी बन्ने भन्ने होड छ, पूर्वराजालाई गाली गरेरै।

वाक्यपिच्छै ‘सुशासन व्यवस्था’, ‘लोकतान्त्रिक गणतन्त्र व्यवस्था’ भन्दैआएका नेताहरूले नै पूर्वराजालाई नबोल्न भन्दै गाली गर्दा एउटा प्रश्न निश्चितै उठ्दछ, ‘के यो व्यवस्थामा बोल्न पाइँदैन?’ ‘के ज्ञानेन्द्र शाहले नागरिकको हैसियतमा बोल्न र हिँडडुल गर्न नपाउने हो ?’

अर्को प्रसङ्ग, पछिल्ला दिनमा चाडपर्वका शुभकामनामा समेत पूर्वराजा ज्ञानेन्द्रले देशमा विग्रहको संकेत आफूले पाएको दाबी गर्दै आएका छन्। ‘आफू र दलहरूबीच फेरि सहकार्य हुनुपर्ने आवश्यकता देख्न थालेका’ औंल्याउँदै सन्देश जारी गर्दैआएका छन्।

यसैक्रममा उनको देश दौडाहा चलिरहेको छ। आइतबार जुम्लामा पूर्वराजालाई नागरिक अभिनन्द कार्यक्रम तय भएको थियो। तर, खराब मौसमका कारण उनी जान पाएनन्। सोमबार नेपालगञ्जमा कार्यक्रम राखिएको छ। त्यहाँ उनी सहभागी हुँदैनन्। समर्थकहरूको उत्साहपूर्ण सहभागिता रहने आयोजकको दाबी छ।

गत १ फागुनमा झापाको दमकमा व्यवसायी दुर्गा प्रसाईंलाई अगाडि सारेर ज्ञानेन्द्रले एक अभियानको उद्घाटन गरेका थिए। प्रजातन्त्र दिवसको सन्दर्भमा ६ फागुनमा काठमाडौंबाट शुभकामना सन्देश जारी गर्दै उनले आफ्नो राजनीतिक अभिलाषा प्रकट गरे।

हिन्दू धर्मको आडमा राजसंस्था फर्काउने भन्दै भन्दै ‘नागरिक बचाउ’ नामको मेची–महाकाली अभियान जारी छ। यो अभियानले इतिहास बनिसकेको राजतन्त्र फेरि फर्किन्छ भन्नेमा आममानिस वा राजनीतिक दलहरूलाई विश्वास नभए पनि ज्ञानेन्द्र स्वयम्लाई भने उत्साहित बनाएको उनका पछिल्लो गतिविधिले झल्किन्छ।

पूर्वराजाको यो सक्रियतालाई दलहरू र पार्टी अध्यक्षस्तरबाट प्रतिवाद हुनुको के अर्थ होला? दलहरूले उनको पुनर्स्थापित हुने गतिविधिको रूपमा बुझेका हुन् त ? नेपाल भ्युजले यो प्रश्न सोध्यो, समाजशास्त्री चैतन्य मिश्रलाई।

‘‘यो गतिविधिलाई त्यसलाई धेरै महत्त्व दिनुपर्छ जस्तो लाग्दैन। गुमेको पद, प्रतिष्ठा नगइदिए हुन्थ्यो भन्ने सोच कहिलेकाहीँ आउनु त्यति अस्वाभाविक पनि होइन। त्यही पदमा वा त्यो पदको नजिक–नजिक पुग्न पाए हुन्थ्यो भन्ने लाग्नु मानवीय गुण नै हो,’’ उनले भने, ‘‘तर हाम्रो समाजको बनोट र ग्लोबालाइजेसन हेर्दा पूर्वराजाको चाहना पूरा हुने दिशातर्फ समाज जाने सिनारियो बनेको छैन। बन्न सजिलो छैन’’

विश्लेषक झलक सुवेदीका विचार भने अलि फरक छ। नेताहरूले नागरिकको हैसियतमा पुगेका राजाको आलोचना गर्नु भनेको आफूप्रति जनताको विश्वसनीयता गुम्दै गएपछि कुण्ठा पोखेको तर्क गर्छन्।

उनी भन्छन्, ‘‘पूर्वराजाको जे नियत भए पनि नागरिक अभिनन्दन थाप्दै हिँडेको कुरालाई नेताहरूले इस्यु बनाउनु अनौठो होइन। तर, पार्टी नेतृत्वकै लेभलबाट प्रतिवाद गर्नु उचित र आवश्यक होइन।’’

सबैलाई थाहै छ, मुलुकमा कुशासन र भ्रष्टाचार बढेको छ। काखमा सन्तान खेलाउन छाडेर कोही बाध्यताले परदेसिँदैछन्। कोही बिहान बेलुकी खान लाउन नपुग्न तलबमा स्वदेशमै काम गर्न बाध्य छन्। यो भागिरहेका आमनागरिकलाई पनि लाग्दो हो, ‘तत्कालीन राजतन्त्रमा भोगिएका ज्यादती अहिले गणतन्त्रमा सायद फिका लाग्यो।’ राजनीतिक दलहरूविरुद्ध आमआक्रोश बढ्दै जाँदा त्यसको शुभ लाभ राजालाई जान्छ त?

यो बिर्सन मिल्दैन, अहिले पुराना दल र नेताप्रति चरम तिक्तता छ। ‘पुराना दल र नेताहरूलाई आम नागरिकहरूले फिटिक्कै रुचाएका छैनन्’ भन्ने प्रमाण खोज्न उपचुनावभन्दा पर्तिर जानु पर्दैन। सातादिनअघिको उपचुनावी परिणामले देखाइसकेको छ। अनि यो पनि मतदाताले राजसंस्थाप्रति पनि रुचि राख्दैनन् भन्ने पनि त्यही स्पष्ट छ।

गएको निर्वाचन र उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपाले अनपेक्षित मत प्राप्त गर्‍यो। पूर्व तराईमा सीके राउतको दलले र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी उदायो। यद्यपि, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले पाएको मत विश्लेषण गर्दा नयाँ दलले पाएको मत हेर्दा गर्दा व्यवस्थाविरुद्ध होइन, यसमा सुधारका लागि हो भन्ने देखिएको कतिपयको विश्लेषण छ।

कतिपय भन्छन्, ‘‘लोकतान्त्रिक गणतन्त्रलाई अस्वीकार गर्ने र राजसंस्थाको सैद्धान्तिक मान्यता बोक्ने राप्रपालगायत दललाई मतदाताले विकल्प ठानेनन्। दलको विकल्पमा अरू लोकतान्त्रिक दललाई भोट हालियो। यसकारण फेरि राजसंस्था पुर्नउत्थान हुन्छ भनेर हाउगुजी देखाउनु उपयुक्त होइन।’’

जे होस्, पूर्वराजाका गतिविधिका मसिना तरङ्गहरू हेरेको नेपाली समाजले दलका नेताहरूको प्रतिक्रियालाई पनि उत्सुकतापूर्वक हेरिरहने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved