राष्ट्रपतिको इलाकामा स्वर्णिमको धमाका, १२ घण्टादेखि निरन्तर अगाडि !

खनालभन्दा भट्टराई दोब्बर, भट्टराई भन्दा वाग्ले दोब्बर

राष्ट्रपतिको इलाकामा स्वर्णिमको धमाका, १२ घण्टादेखि निरन्तर अगाडि !

काठमाडौं। आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्ले मतगणनाको १२ घण्टादेखि लगातार अगाडि छन्।

राति पौने १२ बजेदेखि शुरु भएको गणनामा अगाडि लागेका वाग्लेले अहिलेसम्म दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। अहिलेसम्म गणना भएको २३ हजार मत मध्य वाग्लेले १२ हजार हाराहारी मत पाएको मत गणनास्थलमा रहेका प्रतिनिधिले जनाएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल भने गणनामा निकै पछाडि छन्। भट्टराईले ६ हजार कटाउँदा खनालले ३ हजार मत मात्रै पाएका छन्। यी दुवै उम्मेदवारको मतभन्दा वाग्ले एक्लैको मत अझै बढी छ।

तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो। २०४८ पछी भएका निर्वाचन मध्य ०६४ मा माओवादीका सुरेश आले मगर र ०७४ वाम गठबन्धनका तर्फबाट किसान श्रेष्ठले यो क्षेत्रमा जित हासील गरेका थिए। त्यो बाहेक २०५१, २०५६, २०७० र २०७९ मा कांग्रेसले जित्दै आएको यो क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा निरन्तर अग्रता लिएर ‘धमाका’ मच्चाइरहेको छ।

यो क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराईलाई २२ दिन अघि कांग्रेस छाडेका स्वर्णिम वाग्लेले चुनौती दिइरहेका छन्। कांग्रेसकै राजनीतिबाट चिनिएका अर्थविद् डा.वाग्ले कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाले अवसर नदिएको भन्दै २२ दिन अघि रास्वपा प्रवेश गरेका थिए।

राति ११ः४५ बजेदेखि गणना शुरु गरिएको भानु नगरपालिका १० को मतपेटिकामा नै वाग्लेले अप्रत्याशित मत बटुलेका थिए । जहाँ एक हजार सात सय ५८ मत खसेको मध्य वाग्लेले ८ सय ४६ मत पाएका थिए। जुन ठाउँमा गठबन्धनका उम्मेदवार भट्टराईले ५ सय ५१ र एमालेका खनालले ३२९ मत मात्रै पाए।

त्यसैगरी, आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा डा.वाग्लेले एक हजार पाँच सय १५ मत पाउँदा कांग्रेसका भट्टराईले त्यसको एक चौथाइ मात्रै मत पाए । भट्टराईले ४०१ र एमालेका खनालले ११९ मत मात्रै पाउन सके।

गणना भएका हरेक वडाको मत परिणामलाई हेर्दा वाग्लेले ४० देखि ६० प्रतिशत मत एक्लै पाएका छन्। बाँकी मत मात्रै कांग्रेस, एमाले, राप्रपा र अन्य दलको भागमा परेको देखिएको छ।

डा.वाग्लेले कांग्रेस पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीको वडामा त ५९.८९ प्रतिशत मत पाएको देखिएको छ। जोशीको वडा भानु–११ मा २ हजार १४ मत खसेको मध्य रास्वपाका वाग्लेले १ हजार २ सय २ मत ल्याउँदा गोविन्दले ५ सय ९३ र सर्वेन्द्रले १८३ मत पाए ।

हालका राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध बागी उठेर कारबाहीमा परेका जोशीलाई उपचुनाव अगाडि कांग्रेसले कारबाही फुकुवाको निर्णय गरे पनि जोशी समूहले त्यसलाई अस्वीकार गर्दै वाग्लेलाई सघाएको देखिएको छ।

यसरी हेर्दा कांग्रेस, एमाले र माओवादी बलियो देखिएका वडाहरूमा समेत डा.वाग्लेले निरन्तर अग्रता लिँदै गएका छन्। गठबन्धनका उम्मेदवार भट्टराईलाई सबैभन्दा बढी ‘धोका’ आँबुखैरेनीमा भएको छ।

जहाँ माओवादी नेता हरिबहादुर चुमानका छोरा गाउँपालिका प्रमुख छन्। यहाँ गठबन्धनको मत बलियो हुँदाहुँदै पनि मत जोगाउन नसकेको आरोप छ।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकोमा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन् ।

यसैगरी, आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा वाग्लेले आठ सय ८१, भट्टराईले तीन सय ३६ र खनालले १०८ मत मात्रै ल्याए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved