प्रधानमन्त्रीलाई ओलीले ‘गण्डकीमा सहयोग गर्नूस्’ भनेपछि…

प्रधानमन्त्रीको दल माओवादी केन्द्र आफैँ गण्डकी प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको दल हो ।

नेपालभ्युज

प्रधानमन्त्रीलाई ओलीले ‘गण्डकीमा सहयोग गर्नूस्’ भनेपछि…

काठमाडौं । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भयो । झन्डै २ घण्टा लामो वान् अन् वान् वार्तामा उनीहरूबीच राष्ट्रिय मुद्दाहरूमा अन्तरङ्ग कुराकानी भयो ।

प्रधानमन्त्रीनिकट सूत्रकाअनुसार उनीहरूबीच संसदीय समिति गठन, सङ्क्रमणकालीन न्यायसँगै गण्डकी प्रदेश सरकारका बारेमा विशेष छलफल भएको थियो । गण्डकी प्रदेश सरकार अहिले पनि एमालेकै नेतृत्वमा छ । मुख्यमन्त्रीका रूपमा एमालेका खगराज अधिकारी छन् । आफूलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री अधिकारीले शनिवार अर्थात् आज विश्वासको मत लिँदैछन् ।

तर, विश्वासको मत पाउने सम्भावना भने न्यून छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीको पद धरापमा परेको हो । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना न्यून देखेपछि नै ओलीले प्रधानमन्त्री प्रचण्डसँग गण्डकीमा सघाउन प्रस्ताव गरेका हुन् । गण्डकीमा सघाए संसदीय समिति गठनमा एमाले लचिलो बन्ने प्रस्ताव ओलीको थियो । “उहाँ (केपी शर्मा ओली) गण्डकीमा सघाउनुपर्ने र त्यसबापत् संसदीय समितिमा आफूहरू लचिलो बन्ने कुरा राख्नुभयो,” प्रधानमन्त्रीनिकट सूत्रले भन्यो ।

आजै ढल्न सक्छ खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार !

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू गठबन्धनमा भएको र आफूले मात्रै त्यो निर्णय लिन नसक्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै सूत्र भन्छ, “म त गठबन्धनमा छु । मैले एक्लैले यसको जवाफ दिने कुरा हुँदैन । थप छलफल गरौँला ।”

तनहुँ देखाएर गण्डकीको नेतृत्व गर्ने माओवादी केन्द्रको दाउ

प्रधानमन्त्रीको दल माओवादी केन्द्र आफैँ गण्डकी प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको दल हो । माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले आफैँ मुख्यमन्त्री बन्नेगरी तयारी थालेका छन् । यसअघि नै मुख्यमन्त्री बन्नुपर्ने बताउने गरेका चुमानले योपटक आफैँ मुख्यमन्त्री बन्नेगरी तयारी गरिरहेको बताउँछन् । उनले ‘लबिङ्ग’समेत त्यसैगरी नै गरिरहेका छन् । “हामीले एमाले-कांग्रेस दुवैलाई सघायौँ,” नेता चुमानले नेपालभ्यूजसँग भनेका छन्, “यसपटक माओवादी केन्द्रले नै सरकारको नेतृत्व गर्छ र गर्नुपर्छ ।

चुमानसँगै प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवालगायत ।

हरिबहादुर चुमान तनहुँ १ को प्रदेश सभा २ बाट निर्वाचित सांसद हुन् । त्यस क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा माओवादी केन्द्रले उम्मेदवार बनाएको छैन । उसले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई सघाउँदैछ ।

माओवादी केन्द्र तनहुँमा कांग्रेसलाई सघाउने र गण्डकीको मुख्यमन्त्री लिने दाउमा छ । यसबारे राखिएको जिज्ञासामा माओवादी केन्द्रका एक पदाधिकारीले भनेका छन्, “गठबन्धन भनेको शक्ति सन्तुलन बराबरी होस् भनेर गरिने चिज हो, सामूहिक प्रयास हो । जहाँसम्म मुख्यमन्त्री र उपनिर्वाचनको सवाल छ । त्यसमा कांग्रेसलाई प्रतिनिधि सभामा जिताउने र प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने कुरा सही नै हो । “


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved