कर्णाली सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय

कर्णाली सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको संसदीय दलले सहभागी हुने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सोमबार बसेको वैठकले सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘सरकारमा हामी अब एक दुई दिनमै सहभागी बन्छौं ।’ उनले भने, ‘अब सात गते विश्वासको मत लिने सम्भावना बढेको छ । अरु विषयमा विस्तारै हामी अघि बढछौं ।’

कांग्रेस र माओवादीबीच सत्ता सहकार्यमा लिखित सम्झौता

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेश सरकार अढाई÷अढाई वर्ष चलाउने सहमति गरेका छन् । आइतबार मुख्यमन्त्री राजकुमार शर्माको निवासमा लिखित सहमति भएको हो ।

आइतबार साँझ नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य कालीबहादुर मल्लको रोहवरमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा माओवादीका दलका नेता एवम मुख्यमन्त्री राजकुमार शर्माबीच भएको लिखित सहमति भएको हो ।

दुई पार्टीबीच लेखित सहमति भएको भएपनि दुबै पार्टीले सहमति पत्र सार्वजनिक गरेका छैनन् । सहमति अनुसार कांग्रेसले तीन मन्त्रालय पाउने भएको छ ।

आठ मन्त्रालय बनाइदै

कर्णाली प्रदेशमा अब आठ मन्त्रालय बनाइने भएका छन् । विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार सात वटा मन्त्रालय बनाउने निर्णय गरेका थिए । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय गाभ्ने निर्णय गरेका थिए ।

अब कर्णाली प्रदेशमा भएको सत्ता गठबन्धनमा परिवर्तनसँगै साविकमा रहेका दुवै मन्त्रालय कायम रहने र मन्त्रालय संख्या आठ कायम माओवादी केन्द्र र नेपाली कांग्रेसले सहमति गरेका हुन् ।

प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको  सोमबार दिउँसो तीन बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । दिउँसो एक बजे प्रदेशसभामा बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए ।

सदन अब वैशाख सात गते दिउँसो तीन बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved