नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थीले समयमै हात हातमै पाठ्यपुस्तक पाउँदै

नेपालभ्युज

नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थीले समयमै हात हातमै पाठ्यपुस्तक पाउँदै

काठमाडौं। शैक्षिक सत्र २०८० सुरु भएको छ ।नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ ।

विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो ।

यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ ।

यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् ।

केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको छ । निजी मुद्रणले कक्षा १–५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् ।

केन्द्रका अनुसार शनिबारसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु-याइसकिने दाबी गरे ।

केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ ।

मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले भने, “अहिलेसम्मको सरकारी र निजी प्रेसको विवरण हेर्दा विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने पक्का छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यस पटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक हातमा पार्ने गरी काम अघि बढेको बताए ।

उनले भने, “अपवादबाहेक आउने शैक्षिक सत्रमा विद्यार्थीले भर्ना हुनेबित्तिकै पुस्तक पाउने छन् । तर पुस्तकको सेट किन्दा एक, दुईवटा अपुग हुनसक्छ । यस्तो अवस्थालाई पुस्तक अभाव भयो भन्न मिल्दैन ।”

पालोअनुसार वितरण

सुदूरपश्चिम प्रदेशका लागि आवश्यकमध्ये करिब ८० प्रतिशत ल्याइसकिएको छ । धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक सम्बन्धित जिल्लामा ढुवानी भइरहेको जनाएको छ ।

दुई जिल्लाले वैशाख १० गतेबाट पुस्तक प्राप्त गर्नेछन् । प्रदेशभरि करिब १८ लाख पाठ्यपुस्तक आवश्यक पर्नेछ ।

धनगढीमा ढुवानी भएका पाठ्यपुस्तक मङ्गलबारसम्म अछाममा पुग्नेछ । मङ्गलसेनका पाठ्यपुस्तक बिक्रेता भुवन स्टेसनरी स्टोरका सञ्चालक नरबहादुर रावलले मङ्गलबारसम्म पाठ्यपुस्तक सदरमुकाममा पुगिसक्ने बताए ।

डडेलधुरामा कक्षा १–५ का पाठ्यपुस्तक विद्यालयमा वितरण भइरहेका छन् भने कक्षा ६–१० का पाठ्यपुस्तक वैशाख ८ गतेपछि मात्र आइपुग्नेछ । शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराका प्रमुख नारदप्रसाद जोशीले धनगढीस्थित जनक शिक्षा धनगढीले डडेलधुराका पुस्तक बिक्रेतालाई पाठ्यपुस्तक लिन वैशाख ८ गतेको पालो दिएको जानकारी दिए ।

दार्चुलामा पाठ्यपुस्तक आइपुगेको छ । दार्चुलामा झन्डै २३ हजार विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनु पर्नेछ । शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी समन्वय भइरहेको बताए।

त्यस्तै अनुसार सुनसरीका विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो दिनमा नयाँ पाठ्यपुस्तक नपाउने भएका छन् । पुस्तक व्यवसायीहरूले वैशाख ८ देखि १० गतेसम्ममा वितरण गरिसक्ने बताएका छन् ।

विगतमा कर्णालीका विद्यार्थीले वार्षिक परीक्षा दिने समयसम्ममा पनि पूरै पाठ्यपुस्तक पाउँदैन थिए । डोल्पा, हुम्ला, मुगुलगायतका जिल्लामा पहिलो पटक समयमा पाठ्यपुस्तक पुगेको छ ।

गोरखापत्र दैनिकबाट

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved