विदेशी हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै सञ्चालन गर्न थाले : अध्यक्ष केसी

नेपालभ्युज

विदेशी हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै सञ्चालन गर्न थाले : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेको बताएका छन् । बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता संकटमा परेको बताए ।

उनले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेको बताए । उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए । उनले भने, ‘देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता अहिलेपनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् ।’

‘५०÷६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन् । बद्नाम हुनुको पछाडी जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरु नाङ्गिएका छन् । त्यसको बदला नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले पनि गरेको छ । र निर्वाचन आयोगले पनि गरेको छ । त्यो राम्रो कुरा होइन । नेपालको ऐन, कानूनलाई ठाडै उल्लंघन भएको छ, उनले थपे ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल  नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे । उनले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए ।

‘नेपालमा यस्तो हुन्न भनेर भन्न सकिन्न । सामान्य संसदीय प्रणालीको कुरा गर्ने हो भने त संसदभित्रको सबभन्दा ठुलो पार्टीले नेतृत्व गर्नुपर्ने हो । मान्दैनन् संसदीय व्यवस्था यिनीहरुले । संसदीय व्यवस्थाका भक्त देखाउँछन् । यदी ठुलो पार्टीले नसके त त्यसभन्दा तल्लो ७९ सिटवालाले गर्ने हो नि नेतृत्व’ उनले भने, ‘अब यि ठूलाका लडाँई, षड्यन्त्र, जालझेल सबैले गर्दा प्रतिपक्ष हुने पार्टी सत्तामा भएको छ । उल्टो गंगा त यसै बगेको छ नि । त्यसो भएर नेपालको राजनीतिमा यही हुन्छ भनेर ठोकुवा गर्नै सकिन्न । जे पनि हुन्छ । त्यो सम्भावनालाई इन्कार गर्न सकिन्न । हल्ला त्यही आएको छ मैले पनि सुनेको छु ।’

उनले आगामी दिनमा काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved