पश्चगामी सोच राख्ने शक्ति सदन र सडकमा सक्रिय भए : मन्त्री श्रेष्ठ

नेपालभ्युज

पश्चगामी सोच राख्ने शक्ति सदन र सडकमा सक्रिय भए : मन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेस सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध पश्चगामी सोच राख्ने शक्तिहरू सदन र सडकमा सक्रिय भइरहेको बताएका छन्।

मन्त्रालयले बुधबार सुकुटेमा आयोजना गरेको सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले त्यस्ता संविधानबिरोधी शक्तिको भ्रममा कोही पर्न नहुने बताए । उनले संविधान विरोधी शक्तिको अराजक हर्कत बढ्दै गए राज्य मुकदर्शक भएर नबस्ने चेतावनी समेत दिए ।

सवारी दुर्घटना, आत्महत्या, प्राकृतिक विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागू औषध नियन्त्रण, महिला हिंसा जस्ता समस्या प्रदेशका मुख्य सुरक्षा चुनौती रहेको भन्दै मन्त्री श्रेष्ठले यस तर्फ सजग रहन निर्देशन दिए ।

संविधानमा व्यवस्था भए अनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेकाले परिणाममुखी काम गर्न अप्ठ्यारो परिरहेको गुनासो गर्दै उनले प्रहरी समायोजन तत्कालै हुनुपर्नेमा जोड दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, अत्याधुनिक प्रविधि (सीसी क्यामेरा लगायत) जडान गर्ने, विपदको जोखिम कम गर्न र विपदमा परेकालाई उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयले प्रदेश विपद व्यवस्थापन प्राधिकरण बनाउने, नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरि कानूनको प्रभावकारी कार्यान्वयन गर्ने पनि उनले बताए ।

त्यस्तै साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतीय सामग्रीको नियमन गर्ने कानुन चाँडै बनाउने साथै महिला हिंसा र आत्महत्याबाट जोगाउन सचेतनामूलक कार्यक्रम गर्नुका साथै, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाए ।

बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, कोमल प्रसाद धमला र अनिता निरौलाले जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved