किन सर्‍यो रास्वपाको बैठक ?

यसअघि मंगलबार अपराह्न रास्वपा अनुशासन एवम् आचरण समितिको बैठक बसेको थियो । बैठकमा आरोपित ढाकाकुमार श्रेष्ठलाई राखेरै सोधपुछ गरिएको थियो ।

नेपालभ्युज

किन सर्‍यो रास्वपाको बैठक ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक एकाएक ५ घण्टा सर्‍यो । बुधबार बिहान ९ बजेका लागि आह्वान गरिएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सर्‍यो ।

२ करोडको ‘बार्गेनिङ्ग’मा मुछिएका रास्वपा समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘एक्लो पारिए कोर टीम सार्वजनिक गर्छु’ भनेर चेतावनी दिइरहेका बेला बैठक एकाएक ५ घण्टा सर्दा केही उपशङ्का उठ्ने नै भयो ।

यसबारे नेपालभ्यूजले रास्वपाका केही नेताहरूसँग सोध्यो— के कारण बैठक सर्‍यो ?

नेताहरूले बैठक सर्नुमा ठूलै कारण केही नभएको जिकिर गर्छन् । रास्वपा महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकाल भन्छन्, ‘साथीहरू जम्मा नभएकाले हो, बैठक सर्नुमा अरु कुनै कारण नै छैन ।’

रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि त्यही कारण देखाउँछन् । नेपालभ्यूजको प्रश्नमा उनी भन्छन्, ‘साथीहरू चारैतिर हुनुहुन्छ । उहाँहरू आइपुग्न समय लाग्ने भएकाले बैठक सरेको हो । अरु कारण छैन ।’

ढाकाकुमार श्रेष्ठको बयान- ‘मलाई एक्लो पारिए कोर टीम सार्वजनिक गर्छु’

त्यसो त मंगलबार राति अबेरगरी रास्वपाले केन्द्रीय समितिको बैठक बुधबार बिहान ९ बजेका लागि बोलाएको थियो । बिहान ९ बजेका लागि बैठक आह्वान गर्दा बाहिर रहेका साथीहरूलाई ख्याल किन गर्नुभएन ? भन्ने प्रतिप्रश्नमा प्रमुख सचेतक सन्तोष परियारको प्रत्यूत्तर छ, “बाहिर रहेका साथीहरू आइहाल्नुहुन्छ भन्ने ठानेर बिहानै बोलाइएको हो । उहाँहरू थप काम गर्दै आउने भएपछि बैठक सार्नैपर्‍यो ।”

यसअघि मंगलबार अपराह्न रास्वपा अनुशासन एवम् आचरण समितिको बैठक बसेको थियो । बैठकमा आरोपित ढाकाकुमार श्रेष्ठलाई राखेरै सोधपुछ गरिएको थियो । त्यसबखत ढाकाकुमारले आफूविरुद्ध षड्यन्त्र भइरहेको मात्रै बताएनन्, बढी पेलिए र एक्लो पारिए ‘कोर टीम’ सार्वजनिक गर्ने चेतावनीसमेत दिए । त्यहीअनुसार प्रतिवेदन तयार पारेको समितिले मंगलबार साँझै पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।

यसपछि बैठक रोकिएको विश्लेषणहरू भइरहेका छन् । तर, त्यो नभएको महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकाल बताउँछन् । यसबारे जिज्ञासा राख्दा उनले भनेका छन्, ‘होइन होइन, साथीहरू चारैतिर हुनुभएको र उहाँहरू आइपुग्न समय लाग्ने हुनाले बैठक सरेको हो । अरु कारण नै छैन ।’

रास्वपाका एक नेताले भने छलफल अपुग भएकाले बैठक सारेको बताउँछन् । ‘सम्बन्धित विषयमा छलफल नपुगेको कारण केन्द्रीय समितिको बैठक रोकियो, २ बजे बसिहाल्छ,’ उनले भनेका छन् ।

कुन विषयमा छलफल नपुगेको भन्ने प्रतिप्रश्नमा उनी भन्छन्, ‘एकजना सांसद जोडिएको प्रकरण आइसकेको अवस्था सामान्य होइन । नयाँ पार्टी र नयाँ जोशसहित आएको पार्टीको एक सांसदको त्यस्तो आउँदा बुद्धिमतापूर्ण निर्णय गर्नुपर्ने भएकाले बैठक सरेको हो । फेरि उपनिर्वाचनको तयारीमा पनि लागिरहिएको हो, त्यसैले यसो हुन गएको हो ।’

पार्टी सभापति रवि लामिछानेले ७२ घण्टाभित्र विषयको छिनोफानो गर्ने प्रण लिएका छन् । आइतबार अडिओ सार्वजनिक हुनासाथ उनले ७२ घण्टाभित्रै कारबाही गर्ने बताएका थिए । त्यसअनुसार सभापति रविको ७२ घण्टा बुधबार अर्थात् आज साँझ सकिँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved