ढाकाकुमार श्रेष्ठको बयान- ‘मलाई एक्लो पारिए कोर टीम सार्वजनिक गर्छु’

कारबाहीको तयारी

गत आइतबार अडिओ सार्वजनिक हुँदाखेरि नै सभापति लामिछानेले आफूले ७२ घण्टाभित्र कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपालभ्युज

ढाकाकुमार श्रेष्ठको बयान- ‘मलाई एक्लो पारिए कोर टीम सार्वजनिक गर्छु’

काठमाडौं । २ करोड अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘कोर टीम’ सार्वजनिक गर्ने चेतावनी दिएका छन् । पार्टीको अनुशासन एवम् आचरण समितिले लिएको बयानको क्रममा श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।

यसअघि मंगलबार बसेको समितिको बैठकले श्रेष्ठलाई प्रकरणबारे सोधपुछ गरेको थियो । त्यसबेला श्रेष्ठले पार्टीले आफूमाथि सहानुभूति राख्नुपर्ने बेलामा पेलेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए । श्रेष्ठलाई उद्धृत गर्दै समितिका एक सदस्यले नेपालभ्यूजसँग भने, ‘मविरुद्ध षड्यन्त्र भइरहेको छ । यस्तो बेलामा पार्टीले सहानुभूति राख्नुपर्नेमा उल्टै पेल्ने नीति लिएको छ । मलाई एक्लै नपार्नूस् ।’

उनले समितिलाई आफूविरुद्ध भइरहेको षड्यन्त्रबारे बुझ्न जिकिर गरेका थिए । ती सदस्यकाअनुसार आफूलाई एक्लै पारिए कोर टीम सार्वजनिक गर्ने चेतावनी श्रेष्ठको छ । ती सदस्यले भनेका छन्, ‘उहाँले मेरो आवाज होइन, त्यो सबै क्यारिकेचर हो भनेर भन्नुभएको छ । एक्लै पारिए कोर टीम सार्वजनिक गर्छु भन्नुभएको छ । त्यसबारे पार्टी नेतृत्वले सोच्ने कुरा हो ।’

समितिले मंगलबार नै ४ पृष्ठ लामो प्रतिवेदनसमेत पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ । प्रतिवेदनमा श्रेष्ठले बोलेको कुराहरू नै समेटिएको अनुशासन एवम् आचरण समितिका प्रमुख भरत देवकोटाले बताए । ‘सोधपुछका आधारमा हामीले प्रतिवेदन तयार पारेका हौँ । उहाँले बोल्नुभएको कुराहरूलाई नै प्रतिवेदनमा राखिएको छ,’ उनले भनेका छन्, ‘अब पार्टी नेतृत्वले नै थप निर्णय लिनुहोला ।’

सभापति लामिछानेले दोषी देखिए श्रेष्ठलाई ७२ घण्टाभित्र कारबाही गर्ने बताएका छन् । समितिले बुझाएको प्रतिवेदन अध्ययन गर्ने र त्यसको आधारमा कारबाही गर्ने उनले बताएका छन् । महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकाल भन्छन्, ‘सभापतिज्यू र मेरो बुझाइ उस्तै छ । पार्टी सुद्धीकरण र सुदृढिकरणका लागि कारबाही अनिवार्य छ । त्यसभन्दा पहिले हामीले प्रतिवेदन अध्ययन गर्नेछौँ ।’

गत आइतबार अडिओ सार्वजनिक हुँदाखेरि नै सभापति लामिछानेले आफूले ७२ घण्टाभित्र कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसअनुसार बुधबार अर्थात् आज साँझ ७२ घण्टा पुग्दैछ । त्यसअनुसार उनलाई कारबाही गर्ने रास्वपाको तयारी छ ।

बिहान बैठक बोलाइएको छ, बैठकले कारबाही गर्ने निर्णय गर्नसक्ने एक पदाधिकारी बताउँछन् । ती सदस्यले भनेका छन्, ‘प्रतिवेदनमा पनि उहाँले पहिले बोल्नुभएकै कुराहरू छ रे ! जुन कुराहरू खासरूपमा पार्टीले खोजेको होइन । त्यसो हुँदा उहाँमाथि कारबाही नै हुने निश्चितजस्तै देखिन्छ । उहाँको सांसद पद पनि जानसक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved