ताइवान वरपर चीनका ९ युद्धपोत र २६ लडाकु विमान तैनाथ

नेपालभ्युज

ताइवान वरपर चीनका ९ युद्धपोत र २६ लडाकु विमान तैनाथ

ताइपेई। चीनले ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ ।

मङ्गलबार ताइवानको जलक्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।  सोमबार तीनदिने सैन्य अभ्यास समाप्त गरेको बेइजिङले आज पनि युद्धपोत र लडाकु विमान ताइवान वरपरको क्षेत्रमा तैनाथ गरेर युद्धको आभास दिइरहेको छ ।

ताइवानका राष्ट्रपति साई इङ वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकाथीलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले गत शनिबारदेखि सैन्य अभ्यास सुरु गरेको थियो । राष्ट्रपति साईले आफ्ना सहयोगीसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अमेरिकी सभामुखलाई क्यालिफोर्नियमा भेटेका थिए ।

गत अगस्टमा तत्कालीन सभामुख न्यान्सी पेलीसीको ताइपेई भ्रमणपछि गरिएको सैन्य अभ्यासभन्दा तुलनात्मक रूपमा पछिल्लो अभ्यास सानो थियो । राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै चीनले यदि उनले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको थियो ।

चीनले हिजो आफ्नो सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको बताएको थियो । ताइवानी रक्षा मन्त्रालयले हिजै टापु वरपर १२ वटा चिनियाँ युद्धपोत र ९१ वटा विमान तैनाथ गरिएको दाबी गरेको थियो । ताइवानी सेनाले आफ्नो सुदृढीकरणको प्रयासलाई निरन्तरता दिने बताउँदै आएको छ ।

सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेईको अन्तर्राष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ। अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved