विष्णु माझी गुप्तबासमा, उनको झझल्को मेटाउँदै दुरुस्तै स्वर भएकी सीमा (भिडिओ)

सामाजिक सञ्जालमा ‘नम्बर वान’ गायिका विष्णु माझीको नामोनिशान छैन। एक चोटि पनि सञ्चारमाध्यममा आएकी छैनन्। पछिल्लो समय निक्कै कम गीत गाउन थालेकी छिन्। गुल्मीकी सीमाले उनै विष्णु माझीको झझल्को मेटाउन थालेकी छिन्, उनको जस्तै स्वरमा गीत गाएर।

नेपालभ्युज

विष्णु माझी गुप्तबासमा, उनको झझल्को मेटाउँदै दुरुस्तै स्वर भएकी सीमा (भिडिओ)

काठमाडौं। विष्णु माझी; नेपाली संगीतप्रेमीको जिब्रोमै झुन्डिएको छ यो नाम। लोक तथा दोहोरी गीत क्षेत्रमा दुई दशक बढी राज गर्न सफल उनले गाएका हरेक गीत चर्चामै रहन्छन्। सम्भवतः युट्युबमा पनि अहिलेसम्मकै सर्वाधिक भ्यूज पाउने लोकदोहोरी गीत उनकै पर्छन्।

‘विष्णु माझीलाई आफ्नै श्रीमान्‌ले बन्धक बनाएर राखेका छन्’ भन्ने चर्चा चल्दै आएको छ। यो चर्चा सत्य हो वा होइन भन्नेचाहिँ आजसम्म रहस्यमै छ। तर, उनै विष्णु माझीजस्तै गाउने अर्की गायिका अहिले चर्चामा आएकी छन्।

‘नम्बर वान्’ लोकगायिका मानिने विष्णु माझी रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहँदा ठ्याक्कै उनको जस्तै स्वर भएकी गुल्मीकी १७ वर्षीय सीमा नेपाली सामाजिक सञ्जालमा छाएकी छिन्। यसअघि टिकटकमा मात्रै गीत गुनगुनाउँदै आएकी उनले अहिले गीत नै रेकर्ड गराएपछि चर्चा झनै चुलिएको हो।

हालै सार्वजनिक जनगणनाको तथ्यांकअनुसार ७० प्रतिशत बढीले स्मार्टफोन र सामाजिक सञ्जाल चलाउँछन्। यति धेरै जनसख्याको पहुँचमा रहेको सामाजिक सञ्जालमा भने ‘नम्बर वान्’ गायिका विष्णु माझीको नामोनिशान छैन। अहिलेसम्म एकचोटी पनि सञ्चारमाध्यममा आएकी छैनन्। उसो त पछिल्लो समय विष्णु माझीले निक्कै कम गीत गाउन थालेकी छिन्।

विष्णु माझी गुपचुप बस्दा र पछिल्लो समय निक्कै थोरै गीत गाइरहँदा भर्खरै गायन क्षेत्रमा आएकी गुल्मीकी सीमाले उनको झझल्को मेटाउन थालेकी छिन्, उनको जस्तै स्वरमा गीत गाएर। सीमाले विष्णु माझीको क्यारिकेचर गरेकी होइनन्।

प्राकृतिक रूपमा सीमाको स्वरनै विष्णु माझीको जस्तै छ। युट्युब, टिकटक, फेसबुक तथा इन्स्टाका रिलमा उनै सीमा अहिले चर्चामा छिन्। उनको गीत सुन्दा जोकोहीलाई लाग्छ ‘यो स्वर विष्णु माझीकै हो’ भन्ने।

उनले केही दिनअघि मात्र रेकर्ड गराएको गीत सार्वजनिक भइसकेको भने छैन। गीत रेकर्ड गराउँदाका भिडिओ र युट्युबमा दिएको अन्तर्वार्ता युट्युब र टिकटकमा चर्चामा छन्। उनले गायक विक्रम क्षत्रीसँग गाएको ‘जेल चलान २ ‘कैदी’ केही दिनमै सार्वजनिक हुँदैछ।

गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेकी सीमाको लक्ष्य सफल गायिका बन्नु छ। उनी भन्छिन्, “मलाई सानैदेखि गायामा रुचि थियो। ठूलो भएपछि गीत रेकर्ड गराउने धोको थियो। त्यो सपना आज पुरा भएको छ।”

अहिलेसम्मका प्रतिक्रियामा दर्शक स्रोताले मन पराएको बताउँदै यसबाट सांगितिक क्षेत्रमा थप मेहनत गर्न प्रेरणा मिलेको सीमा बताउँछिन्।

“अहिले युट्युबमा अन्तर्वार्ता दिँदा गाएको गीतलाई धेरैले रुचाउनुभयो। निकै खुसी छु। अझ धेरै मेहनत गर्छु। भविष्यमा सफल गायिका बन्ने लक्ष्यतर्फ म अघि बढिसकेँ। यो यात्रामा मलाई सबैले सहयोग गरिदिनुहुनेछ भन्ने लागेको छ”, सीमा भन्छिन्। आफ्नो स्वर विष्णु माझीको जस्तै भए पनि आफू आफ्नो पहिचानमा संघर्ष गर्न र चिनिन चाहेको सीमाको भनाइ छ।

गायिका सीमा नेपाली आमासँग

‘विष्णु माझीलाई भेट्न चाहन्छु’

गाउँमा हुँदा आफूले गायिका विष्णु माझीको गीत धेरै सुन्ने गरेको सीमा बताउँछिन्। विष्णु माझीको ठूलो फ्यान भएकाले पनि उनीसँग भेट्ने सीमाको चाहना छ।

उनी भन्छिन्— “पहिल्यैबाट गीत सुनेको, मन परेको गायिकालाई भेट्न कसलाई मन नहोला, अझ उहाँको स्वरसँग मेरो स्वर मिल्छ। यसैले पनि उहाँसँगै भेटेर सँगै गीत गाउन मन छ।”

सीमाको अन्तरवार्ता ‘ड्रिम सो युट्युब च्यानल’मा कृष्ण पाण्डेले लिएका छन्। सो भिडिओ टिकटकमा समेच चर्चामा छ। अरु थुप्रै युट्युबरले लिएको अन्तरवार्ता दर्शकले मन पाएका छन्।

यसरी सङ्गीत क्षेत्रमा आइन् सीमा

सीमालाई लोक तथा दोहोरी गायक विक्रम क्षेत्रीले औपचारिकरूपमा गायक क्षेत्र ल्याएका हुन्। उनी पनि गुल्मीकै हुन्। प्रतिभाशाली सीमालाई सांगितिक क्षेत्रमा ल्याउन पाउँदा र उनको महेनतबाट आफू धेरै खुसी भएको गायक क्षेत्री बताउँछन्।

“टिकटकमा एउटा स्वर सुनेँ। मेरै गीत गाइएको थियो। विष्णु माझीले गाएको भन्ने लाग्यो। पछि थाहा भयो सीमाको स्वर रहेछ। दुरुस्तै विष्णु माझीको जस्तै स्वर रहेछ। खुब मन पर्‍यो। अवसर पाए उनले धेरै गर्न सक्नेछिन् भन्ने लाग्यो। यसैले उनको खोजी गरेँ। भेटेपछि गीत गाउन प्रस्ताव गरेँ। गीत पनि रेकर्ड भयो। सार्वजनिक नहुँदै धेरै राम्रो चर्चा भइरहेको छ,” गायक क्षेत्री भन्छन्, “लोक तथा दोहोरी क्षेत्रमा धेरै चर्चामा रहेकी लोकप्रिय गायिका विष्णु माझीको जस्तै स्वर रहेकोले पनि धेरैले सीमालाई मन पराएकी छिन्। उनको मेहनतले म धेरै प्रभावित भएँ।”

गीत रेकर्डपछि सीमा नेपाली गायक विक्रम क्षेत्रीसँग

विसं २०७१ बाट नेपाली लोक तथा दोहोरी गीत–संगीतमा लागेका क्षेत्रीका दर्जन बढी गीतहरू छन्। ‘आकाशको जून’, ‘बतासै चल्यो’ (सालैजो), ‘लगन जुरेर’ (पञ्चेबाजा), दोहोरी एल्बम ‘जुनीजुनी’ र ‘चल्यो बतास’उनका गीत हुन्।

प्रायः आफैँ शब्द लय संकलन गर्ने र आफैँ गाउने उनै गायकले आफ्नै जिल्लाकी नयाँ प्रतिभालाई सांगितिक क्षेत्रमा ल्याएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved