पञ्चपुरीका पूर्वमेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

पञ्चपुरीका पूर्वमेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पञ्चपुरी नगरपालिकाका पूर्वमेयरसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी कुनै काम नै नभइ रकम भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा हालेको हो ।

अख्तियारले नगरपालिकाका पूर्व मेयर उपेन्द्रबहादुर थापा, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरी र हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जी.एम. र अध्यक्ष भूमिसरा पुलामीविरुद्ध मुद्दा हालेको छ ।

पूर्व मेयर थापाले नमुना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको कुनै बैठकबाट  निर्णय समेत नगराएर भुक्तानी दिएको अख्तियारले फेला पारेको छ । यस्तै काम नै नगरी नमुना समाजलाई रकम भुक्तानी दिइएको समेत पाइएको छ ।

पूर्व मेयर थापा र लेखा अधिकृत बुढालाई ५०-५० लाख बिगो निर्धारण गरी सोहीबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । यस्तै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गिरीलाई ३० लाख तथा देवकोटा र अधिकारीलाई २०-२० लाख बिगो तोकेर जरिवाना र सजायको मागदाबी गरिएको छ ।

नमुना समाजका कार्यकारी निर्देशक लालबहादुर जि.एम. भन्ने लाल बहादुर घर्ती मगर र अध्यक्ष भूमिसरा पुलामीलाई सम्झाैता गरे पनि कुनै काम नगरी रकम हिनामिना गरेको भन्दै ५० लाख बिगो तोकेर सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्तावसमेत माग नगरेको, संस्था छनोट गर्दा सार्वजनिक खरिद ऐन-नियमावली लगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरिएको लगायतका कारण अख्तियारले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved