जापानी प्रधानमन्त्री नयाँ दिल्ली आउँदा चिनियाँ राष्ट्रपति मस्को पुगे

चीन युद्ध रोक्न रुसलाई राजी बनाएर शान्तिको अगुवाई गरेको सन्देश विश्वलाई दिन चाहन्छ । यसो गर्दा समकालिन विश्वमा नेटो र अमेरिकाको प्रभाव घट्ने साथै युरोपसँगको सम्बन्ध समेत सुधार हुने चीनको धारणा छ ।

नेपालभ्युज

जापानी प्रधानमन्त्री नयाँ दिल्ली आउँदा चिनियाँ राष्ट्रपति मस्को पुगे

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ सोमबार रुस भ्रमणका लागि राजधानी मस्को पुगेकै दिन जापानी प्रधानमन्त्री फुमियो किसिदा भने भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । दुई फरक देशका महत्वपूर्ण नेताको भ्रमण एकै दिन पर्न गएको छ ।

सीको रुस भ्रमण ४ दिने हो भने किसिदाको भारत भ्रमण २ दिने । सी युक्रेन युद्धको सन्दर्भमा रुसी राष्ट्रपति ब्लादमिर पुटिनसँग अन्तरंग वार्ता गर्न मस्को गएका हुन् । यता किसिदा भने जी–७ राष्ट्रको हिरोसीमा बैठकको निम्ता दिन  भारत आएका हुन् । भारत जी–२० समूहको अध्यक्ष हो ।

चिनियाँ राष्ट्रपति सी विशेष चिनियाँ विमानबाट सोमबार मध्यरात मस्को पुगेका थिए । मस्को विमानस्थलमै रुसी सेनाले राष्ट्रपति सीलाई विशेषः सम्मान सलामी चढाएको थियो । मस्को ओर्लिने वित्तिकै उनले रुसी राष्ट्रपति ब्लादमिर पुटिनसँग ४ घन्टा लामो अनौपचारिक वार्ता गरेका थिए ।

दुई राष्ट्रपतिबीचको औपचारिक वार्ता भने मंगलबार क्रेमलिनमा हुँदैछ । अनौपचारिक वार्ताको क्रममा राष्ट्रपति सीले पुटिनसँग युक्रेन युद्ध रोक्न आग्रह गरेको बताइएको छ । जवाफमा पुटिनले चिनियाँ मित्रको आग्रहमाथि गम्भीरतापूर्वक विचार गर्ने उत्तर दिएका थिए । पछिल्लो समय चीनले युक्रेन युद्ध रोक्न मध्यस्थता गर्ने रुचि देखाइरहेको छ ।

युक्रेन युृद्धमा चीनले संयुक्त राष्ट्र संघमा रुसविरुद्ध मतदान गर्न अस्वीकार गर्दै तटस्थ बसेको थियो । रुसले सकारात्मक प्रतिक्रिया दिए राष्ट्रपति सीले युक्रेनी राष्ट्रपति ब्लादोमिर जेलेन्स्कीसँग समेत वार्ता गर्न सक्ने बताइएको छ ।

युक्रेन पश्चिमी राष्ट्रहरु, नेटो र अमेरिका निकट हुँदा विश्व शक्ति सन्तुलन चीनको प्रतिकुल हुँदै गएको राष्ट्रपति सीको बुझाई छ । तसर्थ चीन युद्ध रोक्न रुसलाई राजी बनाएर शान्तिको अगुवाई गरेको सन्देश विश्वलाई दिन चाहन्छ । यसो गर्दा समकालिन विश्वमा नेटो र अमेरिकाको प्रभाव घट्ने साथै युरोपसँगको सम्बन्ध समेत सुधार हुने चीनको धारणा छ ।

सीको प्रस्तावमाथि रुसी राष्ट्रपति पुटिनले कुनै सकारात्मक प्रतिउत्तर भने दिएनन् । पुटिन अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेको दुई दिनपछि रुसी अधिनस्थ युक्रेनी क्षेत्र क्रिमिया र मारियोपोल पुगेका थिए । सैनिक हेलिकप्टरमा चुपचाप ती क्षेत्रको भ्रमण गरेर पुटिनले किभ कब्जा नगरुन्जेल युद्ध नरोक्ने सन्देश दिएको बताइएको छ ।

चीन र रुसबीच विभिन्न द्धि–पक्षीय विषयमा वार्ता र सम्झौता समेत हुने बताएको छ । यस्ता सम्झौता मूलतः दुई देश बीचको व्यापारसँग सम्बन्धित हुनेछन् ।

यता नयाँ दिल्लीमा भने जापानी प्रधानमन्त्री किसिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक छलफल भएको छ । दुई नेताले समकालिन विश्व परिस्थिति, परस्पर आर्थिक हित, जी–७ तथा जी–२० का आन्तरिक बिषय र उर्जा सम्बन्धि बिषयमा छलफल गरेका छन् ।

पछिल्लो समयमा भारत र जापान बीचको सम्बन्ध र भ्रमण निक्कै गहिरो हुँदै गइरहेको छ । यी दुवै देश हिन्द–प्रशान्त रणनीति र क्वाडमा सँगसँगै छन् । एक भिडियोका जापानी प्रधानमन्त्री फुमियो किसिदा भारतीय प्रधानमन्त्रीसंगै सडकमा पानी पुरी खाँदै गरेको देखिएका छन् । उक्त भिडिओ अहिले भाइरल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved