कम्युनिस्ट उत्पादन गर्ने ‘कारखाना’मा स्ववियु चुनाव अनिश्चित

नेपालभ्युज

कम्युनिस्ट उत्पादन गर्ने ‘कारखाना’मा स्ववियु चुनाव अनिश्चित

काठमाडौं। गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखराको सेती नदी किनारमै छ ‘पृथ्वीनारायण क्याम्पस’ । कुनै समय नेपालको पश्चिम क्षेत्रको शैक्षिक केन्द्र थियो यो क्याम्पस।

२०१७ सालमा स्थापना भएको पृथ्वीनारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध सबैभन्दा ठूलो क्याम्पसहरूमध्ये एक हो। शिक्षा क्षेत्रमा जस्तै नेपाली राजनीतिमा पनि पृथ्वीनारायण क्याम्पसको नाम अगाडि छ।

धेरैले यो क्याम्पसलाई कम्युनिस्ट राजनीतिको ‘कारखाना’ पनि भन्ने गरेका छन्। हुन पनि यहाँ पढाइसँगै विद्यार्थी राजनीति गरेर गएका थुप्रै व्यक्ति अहिले पनि राष्ट्रिय राजनीतिमा पकड जमाउने ठाउँमै छन्।

यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी देशको न्याय, सुरक्षा र प्रशासन सेवामा जस्तै राजनीतिक दल अनी सत्ताको पनि हालीमुहाली गर्ने ठाउँमै छन्।

हाल गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यसै क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। क्याम्पसको पहिलो स्ववियु सभापति एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश प्रमुखसमेत भइसकेका छन्।

वि.सं. २०१७ साल भदौ १७ गते स्थापना भएको यो क्याम्पसमा हाल झन्डै १५ हजार विद्यार्थी अध्ययनरत छन्। सुरुमा २ जना शिक्षक १३ जना विद्यार्थी र एक जना कर्मचारीबाट शैक्षिक यात्रा सुरु गरेको यो क्याम्पसमा २८ वटा विभाग छन् ।

यो क्याम्पस भूगोलबाट भन्दा बढी राजनीतिबाट नै चिनिन्छ । यहाँ अध्ययन गरेका र स्ववियु जितेका व्यक्ति नेकपा एमालेको मुख्य भूमिकामै छन्। यहाँको स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीले मात्रै जितेका छन्।

तर, यस पटकको निर्वाचन भने अनिश्चित छ। २०६५ देखि स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसमा यसपटक विद्यार्थीको आपसी झगडाले निर्वाचन प्रभावित भएको छ ।

क्याम्पसको स्ववियु निर्वाचन मण्डलले फागुन १८ र १९ गते दल-संगठन र समूह दर्ता गर्ने समय तोकेपछि १४ समूहले निर्वाचनमा भाग लिन नाम दर्ता गराए । तर, सर्वदलीय बैठकले २ वटा समूहको नाम फालेर अन्तिम नामावली प्रकाशन गरेपछि विवाद त्यहीँबाट शुरु भयो।

एमाले निकट अनेरास्ववियुका विद्यार्थीले नेविसंघ गगन–विश्वप्रकाश समूह र कांग्रेस निकट नेविसंघका विद्यार्थीहरूले अनेरास्ववियु केपी समूह दर्ता गराएका थिए ।

दुवै समूहले एक अर्कालाई हराउन, संगठनमा फुट ल्याउन र विद्यार्थी मतदातालाई झुक्याएर आफू निकट संगठनलाई विजयी गराउने उद्देश्य राखे पनि अन्तिममा सर्वदलीय बैठकपछि दुवै समूहले नाम फिर्ता लिए ।

यता प्रक्रिया पुर्‍याएर दर्ता गरिएको समूह ‘स्वतन्त्र विद्यार्थी समूह’ले आफ्नो नाम परिवर्तन गरेर अन्तिम नामावली निकालिएको भन्दै विरोध जनायो ।

नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ बनाएर नामावली प्रकाशित भएको भन्दै अदालत गुहार्‍यो । त्यै कारण चुनावी मुद्दा उच्च अदालत पोखरामा पुग्यो र अदालतले तत्काल निर्वाचन कार्य अगाडी नबढाउन आदेश दियो ।

यहाँको विद्यार्थी राजनीतिबाट उदाएका नेतामध्ये पूर्वस्ववियु सभापति पर्वतका पदम गिरी निवर्तमान स्वास्थ्यमन्त्री हुन् । पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी पनि पीएन क्याम्पसकै स्ववियु सभापति हुन्।

यता, पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि यही क्याम्पसका स्ववियुमा कोषाध्यक्ष भएर आएका व्यक्ति हुन्। हाल राष्ट्रिय सभाका अध्यक्ष रहेका गणेश तिमिल्सिना पनि स्ववियुको पदाधिकारी थिए ।

पूर्वमन्त्री तुलबहादुर गुरुङ, पूर्वसांसद हितकाजी गुरुङ, लेखक एवं विश्लेषक झलक सुवेदी पनि पृथ्वीनारायण क्याम्पसकै उत्पादन हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved