एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण

नेपालभ्युज

एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण

काठमाडौं। एनआईसी एसिया बैंकका कर्मचारीमाथि भएको आक्रमणका विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दिनानुदिन बढिरहेको प्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ध्यानाकर्षण भएको जनाएको हो ।

सिबिफिनले विज्ञप्तिमार्फत भनेको छ, ‘जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको शृंखला आज ज्यान लिने गरी घटाइएको छ ।

यसै सन्दर्भमा मिति २०७९ चैत २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरूपमा गरिएको सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्र्सना गर्दछ ।’

निहित स्वार्थपूर्तिका लागि बैंकिङजस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गरिएको छ ।

वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक् घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थ व्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको सिबिफिनले जनाएको छ ।

‘आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्बाधरूपमा सञ्चालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौँ’, सिबिफिनले भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved