‘क्याम्पस प्रमुख र निर्वाचन अधिकृत खोइ ?’ भनिएको त्रिचन्द्रमा चैत ९ मा स्ववियु निर्वाचन

नेपालभ्युज

‘क्याम्पस प्रमुख र निर्वाचन अधिकृत खोइ ?’ भनिएको त्रिचन्द्रमा चैत ९ मा स्ववियु निर्वाचन

काठमाडौं। त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने भएको छ । यसअघि, विद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण चैत ५ को निर्वाचन स्थगित भएको थियो ।

स्ववियु निर्वाचनका लागि गठित निर्वाचन समितिका अधिकृत राजेन्द्र गौतमले चैत ९ गते चुनाव गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेका हुन्। जसअनुसार भोलि चैत ३ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

तालिकाअनुसार चैत ४ गतसम्म दाबी विरोध र ५ गते उम्मेदवारी दता, ६ गते उम्मेदवार उपर दाबी विरोध र ७ गते प्रचार-प्रसारका लागि समय दिइने उल्लेख छ। त्यसैगरी, ७ गते बेलुकी देखि नै मौन अवधि सुरु हुनेछ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ।

भर्ना नभएका र पुराना विद्यार्थीलाई समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले विरोध गरेपछि चैत ५ मा हुनुपर्ने चुनाव प्रभावित भएको हो।

यता, स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षका कुर्सी-टेबल तोडफोड गरेको थियो ।

विद्यार्थीहरूले ‘क्याम्पस प्रमुख हराएको सूचना, निर्वाचन अधिकृत खोइ ? लगायतका प्रश्नहरू लेखेरसमेत टाँसेका थिए ।
क्याम्पस प्रशासन र कांग्रेस निकट विद्यार्थी संगठनको मिलेमतोमा फागुन ४ गते फर्जी भर्ना गराइएको आरोप एमाले र माओवादी निकट विद्यार्थी संगठनको छ ।

क्याम्पस प्रशासन स्रोतका अनुसार उक्त कलेजमा हाल ८ हजारभन्दा बढी विद्यार्थी छन्। त्रिचन्द्र क्याम्पसमा नेविसंघको प्रभाव बढी छ।

तर, नेविसंघमा दुई धार छ । कांग्रेस संस्थापन पक्षबाट विपिन ढुंगाना र संस्थापन इतर पक्षबाट सुमन बसौला सभापतिका दाबेदार छन्।

यसैगरी, एमाले अखिलबाट जगतजंग शाही, अखिल क्रान्तिकारीबाट अशोक भण्डारी र नेकपा एस निकट अनेरास्ववियुबाट विकासजंग शाही दाबेदार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved