फुटबल प्रशिक्षक भिन्सेजो भन्छन्- खेलाडीले मैले मागेको दिन सक्छन् कि सक्दैनन् भन्ने चुनौती छ

नेपालभ्युज

फुटबल प्रशिक्षक भिन्सेजो भन्छन्- खेलाडीले मैले मागेको दिन सक्छन् कि सक्दैनन् भन्ने चुनौती छ

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्तो अन्नेसले आफ्ना भावी योजनाबारे जानकारी गराएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार आयोजित पत्रकार अन्तर्क्रियामा प्रशिक्षक भिन्सेन्जो थ्री नेसन्स कपका लागि कम समय भएकाले खेलाडी खरोरूपमा उत्रिने चुनौती रहेको बताए ।

उनले आफू बाहिर शालीन भए पनि खेलाडीसँग भने कडा रूपमा प्रस्तुत हुने पनि बताए । ‘म व्यक्तिगत रूपमा निकै शान्त छु। तर मेरो आन्तरिक व्यक्तित्व कडा स्वभावको छ। म खेलाडीसँग कडा रूपमा प्रस्तुत हुने गर्दछु। सबैभन्दा ठुलो चुनौती मैले जे माग्छु खेलाडीले  शतप्रतिशत दिन सक्छन् कि सक्दैनन भन्नेमा छ ।’ उनले भने ।

उनले खेलाडीबाट आफूले आक्रामक स्वभावको अपेक्षा गर्ने पनि बताए । भिन्सेन्जोले भने, ‘टोलीलाई धेरै गोल गर्न लगाएर मनोरञ्जन दिन चाहन्छु।’

उनले आफ्नो योजनामा नेपाली समर्थकले पनि मुख्य भूमिका खेल्ने बताए । ‘मेरो योजनामा नेपाली समर्थकको लगाव पनि पाउने आशा राखेको छु। नेपाली समर्थकले पूर्व प्रशिक्षकलाई दिएको माया बारे अवगत छु। अझै बढी माया पाउने आश गरेको छु।’ उनले भने ।

भिन्सेन्जोले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक हुनु आफ्नो सपना रहेको बताए। ‘वास्तविकमा मैले यो अवसर कुरिरहेको थिएँ। विगत २–३ वर्ष देखि मैले नेपालको राष्ट्रिय टोलीको प्रदर्शनलाई नियाली रहेको थिएँ । नेपालमा आउने मेरो सपना थियो । मेरो प्रशिक्षण जीवनको नै यो उच्च सफलता भएको अनुभूति भईरहेको छ ।’

आगामी चैत्र ८–१४ मा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कपको लागि कम समय भएपनि तयारी सुरु भईसकेको उनले बताए । थ्री नेसन्स प्रतियोगिताको लागि नयाँ उर्जा भएका युवा खेलाडीलाई टोलीमा जोड्ने प्रयासमा रहेको पनि उनले सुनाए ।

१८ दिनको नेपाल बसाईंमा ‘ए’ डिभिजन लिगका खेलाडीलाई नजिकबाट नियालिरहेको भन्दै उनले कम्तीमा ३ खेलको प्रदर्शन हेरेर क्षमता मुल्याङ्कन गर्ने जनाए ।

भिन्सेन्जोले सामाजिक संजालमा आफ्नोबारेमा हुने टिकाटिपणीले केही फरक नपर्ने पनि बताए। ‘म पूर्ण रूपमा स्वस्थ छु। कसैले मेरो बारेमा नराम्रो बोल्छ भने त्यो उनीहरूको समस्या हो। मेरो होइन। म आफूलाई चिन्छु। कसैलाई निन्दा गर्नु छ भने गरून्। म मेरो योजनासँगै तयार छु।’ उनले भने ।

पूर्व फुटबल खेलाडी फिजिकल एड्युकेशनको शिक्षक हुँदै २७ वर्षको उमेर देखि भिन्सेन्जोले प्रशिक्षण सुरु गरेका थिए । थ्री नेसन्स कप उनको पहिलो चुनौती हुनेछ ।

चैत ८ गते प्रतियोगिताको पहिलो खेलमा नेपाल र लाओस आमने सामने हुनेछन् । चैत ११ मा भुटान र लाओस भिड्नेछन् । चैत १४ मा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि पढ्नुहोस् :

को हुन् राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक एनेस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved