चीनले कोभिड महामारीमा विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटायो

नेपालभ्युज

चीनले कोभिड महामारीमा विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटायो

बेइजिङ। चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।

महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।

चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै मार्च २८, २०२० अघि जारी गरिएका तर, म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन्।

यस्तै, सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन् ।

सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट साङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूह भित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि बिनाभिसा यात्राको अनुमति दिएको छ ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा ६ करोड ५७ लाख अन्तर्राष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए । विश्वका अधिकांश मुलुकले आफ्नो अर्थतन्त्रलाई गतिशील तुल्याउने उद्देश्यले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि चीनले पनि गत वर्षको उत्तरार्द्धमा यात्रा अनुमति दिएको हो ।

लकडाउनको अवस्थामा महिनौँ घरभित्रै छटपटिएका चिनियाँले शून्य कोभिड रणनीतिको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए । महामारी नियन्त्रणका नाममा आफ्नो राजनीतिक एवम् वैयक्तिक स्वतन्त्रता हनन भएको प्रदर्शनकारीको तर्क थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved