पुलिसले लगातार तेस्रो हार भोग्दा जावलाखेल र एपीएफले अंक बाँडे

नेपालभ्युज

पुलिसले लगातार तेस्रो हार भोग्दा जावलाखेल र एपीएफले अंक बाँडे

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो हार भोग्दा जावलाखेल युथ क्लa र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लबसँग ३–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेलले अर्को विभागीय टोली एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

संकटाले पुलिसमाथि सहज जित निकाल्ने क्रममा शुरुवातबाट नै दबाब दिएर खेलेको थियो । अघिल्ला दुई खेलमा पनि नतिजा सुम्पिएको पुलिसले अंक लिनका लागि खेल्ने रणनीति बनाए पनि असफल भएको हो ।

पुलिसविरुद्ध जित निकाल्ने क्रममा संकटाका लागि १२ औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्स भित्रबाट चिप गोल गरेका हुन् ।

संकटाले पहिलो प्रयासमै गोल गर्न सफल भएको थियो । त्यसपछि खेल दोस्रो हाफतिर पुगेको थियो । खेलको ८०औं मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए ।

मनिष डांगीको प्रहार पुलिस रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए । त्यसको ६ मिनेट पछि संकटाले तेस्रो गोल थप्यो ।

सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए । मनिष डांगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो
प्रयासमा नै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय व्यहोरको
पुलिस अंक बिहीन छ ।

बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक भएको छ । एपीएफको समान खेलबाट
चार अंक भएको छ ।

लिगमा आईतवार दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब तथा च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved