सम्झनामा २०१४ को विश्वकप-२

नेपाललाई महंगो परेको बंगलादेशसँगको पराजय

नेपाललाई महंगो परेको बंगलादेशसँगको पराजय

काठमाडौं। (टी-२० विश्वकप प्रयोगितामा सहभागी हुन  नेपाली टोली अहिले अमेरिकामा छ । अमेरिका र वेस्ट इन्डिजमा यही जुन २ देखि २९ सम्म हुने प्रयोगितामा नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्याण्डस्‌सँग खेल्दैछ ।

नेपालले टी-२० विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले सहभागिता जनाएको थियो । यस शृंखलामा हामीले दश वर्षअघिको सो विश्वकपमा नेपालको प्रदर्शनलाई सम्झिने प्रयत्न गरेका छौँ ।)

सन् २०१४ टी–२० विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा नेपालले आफ्नो क्षमता पूर्ण रुपमा देखाउन सकेन। बंगलादेशको चट्टोग्रामस्थित जहर अहमद चौधरी स्टेडियममा नेपाल घरेलु टोलीसँग ८ विकेटले पराजित भएको थियो ।

विश्वकपको डेब्यू खेलमा हङकङमाथि जित हासिल गर्दै सुखद सुरुवात गरेको नेपालले घरेलु टोलीसामु भने त्यस्तै प्रदर्शन दोहोर्‍याउन सकेन । बंगलादेशले नेपाललाई सुरुवातदेखि नै दबाब सिर्जना गरेको थियो । जसका कारण नेपालले १२६ रन मात्रै बनाउन सक्यो ।

पहिलो १५ ओभरमा नेपालले ३ विकेट गुमाएर ८६ रन बनाएको थियो । १७औँ ओभरमा कप्तान पारस खड्का र शरद भेषावकरले १४ रन बनाए। पारसले ३५ बलमा ५ चौका प्रहार गर्दै ४१ रन बनाए। अन्तिम बलमा आउट भएका शरदले ४३ बलमा ५ चौका प्रहार गर्दै ४० रन बनाए।

बंगलादेशविरुद्ध ज्ञानेन्द्र मल्ल पनि टिक्न सकेनन्। उनी १३ रनमा आउट भए । त्यस क्रममा उनले ६ बलमा २ छक्का प्रहार गरेका थिए ।

‘डेब्यू’ टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा…

नेपालले दिएको १२७ रनको लक्ष्य बंगलादेशले १५.३ ओभरमा २ विकेट क्षतिमा पूरा गर्‍यो । नेपालले प्रभावकारी बलिङ पनि गर्न सकेन । नेपालका लागि बसन्त रेग्मीले मात्र १ विकेट लिन सफल भए ।

रेग्मीले ७ ओभरको पाँचौँ बलमा तमिम इक्बाललाई ३० रनमा आउट गरेका थिए । १० ओभरको दोस्रो बलमा अनामुल हक भने ४२ रनमा रनआउट भए । ७.५ ओभरमा ६३ रन बनाइसकेपछि बल्ल नेपालले पहिलो विकेट लिएको थियो ।

शकिब अल हसन ३७ र सब्बिर रहमान २१ रनमा अविजित रहँदै बंगलादेशलाई खेल जिताउन सफल भए । पावर प्लेमा बंगलादेशलाई दबाबमा पार्न नसक्दा नेपालको बलिङ यूनिटले पनि सोचेअनुरुपमा खेल नियन्त्रण गर्न सकेन ।

शीत/ओसिलो पिचका कारण नेपालले ब्याटिङ तथा बलिङमा नै सोचेअनुरुप प्रदर्शन गर्न सकेन । खेलपश्चात कप्तान पारसले बंगलादेशलाई मैदानको अवस्था हेर्दा चुनौती दिन १४० भन्दा बढी रनको लक्ष्य दिन आवश्यक भएको बताए । तथापि, नेपालले स्ट्राइक रोटेट गर्न नसक्दा खेलमा अलमलियो र खेलको नतिजा आफ्नो पक्षमा नपरेको पारसले बताए ।

यद्यपि, खेलपश्चात नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध आफ्नो टोलीको प्रदर्शनीबारे भने सन्तुष्टि व्यक्त गरेका थिए। उनले ब्याटिङमा भने आफ्नो टोलीले सोचेअनुरुप प्रदर्शन नगरेको स्वीकारे ।

‘उनीहरुले योजनाअनुरुप खेले । १५ औँ ओभरसम्म पुग्दा कम विकेटको क्षतिमा ९०–१०० रन बनाउनुपर्ने थियो। हामीले जे चाहेको थियौँ, उनीहरुले त्यस्तै खेले। तर, राम्रो फिनिसिङमा भने हामी चुक्यौँ, ’ पुबुदुले भने, ‘यदि हामीले १४०–१५० रन बनाउन सकेको भने खेल फरक हुने थियो । समग्रमा खेलाडीले गुणस्तरीय ब्याटिङ गरे । नतिजा हाम्रो पक्षमा नभए पनि खेल भने राम्रो थियो।’

त्यस विश्वकपमा बंगलादेशसँगको यही पराजयले गर्दा नेपालले अर्को चरणमा प्रवेश गर्न पाएन । नेपाल बंगलादेशसँग समान अंक भए पनि नेट रनरेटका कारण बाहिरिएको थियो । अर्थात यही खेलमा नेपालले पराजयलाई अलि साँघुरो बनाउन सकेको भए मात्रै पनि अर्को चरणमा पुग्ने सम्भावना पछि बल्ल देखियो ।

यसपटक पनि नेपाल र बंगलादेश एउटै समूहमा छन्। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । बंगलादेशसँग नेपालले जुन १७ मा खेल्दै छ ।

के नेपालले १० वर्षअगाडिको त्यो पराजयको बदला लिन सक्ला ? यो भने प्रतीक्षाकै विषय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved