काठमाडौं। सन् २०१४ को मार्च १६ नेपालका लागि महत्वपूर्ण दिन रह्यो। यो दिन नेपालको राष्ट्रिय क्रिकेट टोलीले विश्वकपमा डेब्यू गरेको थियो।
बंगलादेशको चट्टोग्रामस्थित जहुर अहमद चौधरी स्टेडियममा नेपालले विश्वकपमा आफ्नो पहिलो खेल खेल्दै थियो। खेलअगाडि कप्तान पारस खड्काले आफ्नो टोलीलाई पहिलो विश्वकप खेल्दाको उत्साह नियन्त्रण गर्न चुनौतीपूर्ण हुने बताएका थिए । उनले भनेजस्तै यो नेपालका लागि विश्वकपको पहिलो खेल सम्झनालायक नै बन्यो।
टस जितेर हङकङले बलिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रियो । नेपालले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १४९ रन बनायो । १५० रनको लक्ष्य पछ्याएको हङकङ १७ ओभरमा मात्र ६९ रन बनाएर अलआउट भयो । हङकङमाथि हासिल गरेको ८० रनको जित नेपाली टोलीको मनोबल बढाउन सफल भयो।
नेपालका ओपनर सुवास खकुरेल र सागर पुनले समान्यत सुरुवात दिए । यो जोडीले ३६ रनको साझेदारी गरेको थियो । खकुरेल २२ र पुन १३ रनमा आउट भए । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट साझेदारी गरेर नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए ।
ज्ञानेन्द्र मल्लले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४८ रनको योगदान गरे। ज्ञानेन्द्रले नेपालका लागि विश्वकपमा पहिलो छक्का पनि प्रहार गरेका थिए । अर्धशतकको नजिक भएका उनलाई हसिब अम्जदले उनलाई पेभिलियन फर्काए।
नेपाललाई विश्वकपमा स्थान बनाउन मुख्य भूमिका खेलेका कप्तान पारस खड्काको प्रदर्शन पनि उल्लेख्य रह्यो । उनले ३७ बलमा ४ चौका प्रहार गर्दै ४१ रनको योगदान गरे।
पारस र ज्ञानेन्द्रले ८० रनको साझेदारी गरेका थिए । यो साझेदारीले नेपाललाई १४९ रनको सम्मानजनक स्कोर बनाउन मद्दत गर्यो। शरद भेषावकर १४ रन बनाएर आउट भए ।
खेलअगाडि उच्च मनोबलका साथ मैदानमा प्रवेश गरेको हङकङ ब्याटिङको क्रममा भने आत्तिएको देखियो। हङकङका लागि बाबर हायातले २०, वाकास वर्कतले १८ र मार्क च्यापम्यानले १३ रन जोडे। अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले ३–३, सोमपाल कामीले २ तथा पारस खड्का र जितेन्द्र मुखियाले १–१ विकेट लिए।
पहिलो बलमा नै कप्तान पारसले विकेट लिएर हङकङलाई दबाबमा राखेका थिए । उनले ओपनर इरफान अहमदलाई डगआउट गरे। दोस्रो ओभरमा सोमपाल कामीले कप्तान जेमी एटकिन्सनलाई ६ रनमा आउट गरे। पहिलो २ ओभरमा नै २ विकेट गुमाएको हङकङको ब्याटिङ त्यसपछि सम्हालिन सकेन ।
छैठौं ओभरको चौथो बलमा शक्ति गौचनले वकास बर्कतलाई आउट गरे । १० औं ओभरमा वसन्त रेग्मीले २ विकेट लिए । ओभरको तेस्रो र चौथो बलमा रेग्मीले मार्क च्यापम्यान र निजाकत खानलाई आउट गरेका थिए ।
यता, शक्ति गौचनले पनि एकै ओभरमा थप २ विकेट लिए । शक्तिले ११ ओभरको पहिलो र चौथो बलमा शक्तिले बाबर हायात र ऐजाज खानलाई पभिलियन फर्काए ।
१२ औं ओभरमा वसन्तले तनवीर अफजललाई आउट गरे । यतिबेलासम्म हङकङ्ले ८ विकेट गुमाइसकेको थियो । त्यसपछि बाँकी रहेका दुई विकेट सोमपाल कामी र जितेन्द्र मुखियाले लिएपछि हङकङ १७ ओभरमा सस्तैमा प्याक भयो ।
खेलपछि ‘म्यान अफ द म्याच’ घोषित भएका शक्ति गौचनले भने, ‘हाम्रो टोलीले जित्यो र मैले योगदान गरेँ, म निकै खुसी छु। बल स्किड हुँदा मलाई सहज भयो।’
कप्तान पारस खड्काले भने यो जित नेपाली जनतालाई समर्पित गरेको बताए । ‘समर्थक तथा सबैले दिने माया र समर्थनको लागि नै हामी, क्रिकेटर, खेल्दछौँ, ’ पारसले भने, ‘राम्रो गर्न यसले हामीलाई सबैभन्दा ठुलो प्रेरणा दिन्छ । नेपाली समर्थकका लागि यो जित हाम्रो तर्फबाट एउटा उपहार हो।’
सो खेलमा नेपाली समर्थकले देखाएको सहभागिता पनि र्चाको विषय बन्यो। ‘नेपाल, नेपाल’ भन्दै चिच्याएर स्टेडियम गुज्यायमान हुँदा खेलाडीलाई पनि हौसला मिलेको थियो । समर्थकहरुले ‘पारस खड्का, छक्का पड्का’ जस्ता नारा लगाएका थिए ।
डेब्यू खेलमा हङकङमाथि जित हासिल गरेर नेपालले विश्वकप टी–२० क्रिकेटमा सुनौलो सुरुवात गरेको थियो । त्यस विश्वकपमा नेपाल घरेलु टोलीसँग पराजित भएको थियो भने बलियो मानिएको अफगानिस्तानलाई हराउन सफल भएको थियो। नेपाल नेट रनरेटका आधारमा मात्रै दोस्रो चरणमा पुग्न असफल भएको थियो ।
आसन्न विश्वकपमा पनि नेपालले विजयी सुरुवातको अपेक्षा गरेको छ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दैछ । यो पटक पनि नेपालले कम्तिमा २ टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउने धेरै खेलप्रेमीको अपेक्षा छ । नेपालको समूहमा श्रीलंका, साउद अफ्रिका र बंगलादेश टेष्ट राष्ट्रका रुपमा छन् ।
त्यसबेला विश्वकप खेलेकामध्ये सोमपाल कामी मात्रै यसपटक पनि टिममा छन् । टी-२० विश्वकप क्रिकेट जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली पुगिसकेको छ ।
यो पनि पढ्नुहोस :
टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा
टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी
टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा
अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?
Facebook Comment
Comment