पहिलो पटक एकीकृत समाजवादीको कार्यालय छिरे एमाले नेताहरू !

माधवकुमार नेपाललाई सुवासचन्द्र नेम्वाङले भने- मत मलाई दिनूस्

०७७ पुस ५ गते र ०७८ जेठ ८ गते दुईपटक प्रधानमन्त्रीको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि त्यसबाट उत्पन्न राजनीतिक संकटले एमाले सग्लो रहेन ।

नेपालभ्युज

पहिलो पटक एकीकृत समाजवादीको कार्यालय छिरे एमाले नेताहरू !

काठमाडौं । नेकपा (एमाले) का नेताहरू पहिलो पटक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगर पुगेका छन् ।

एमाले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल र उपमहासचिव तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित कार्यालय पुगेका हुन् ।

यसअघि कुनै एमाले नेताहरू आधिकारिक भेटका लागि एकीकृत समाजवादीको कार्यालय पुगेका थिएनन् । एमालेबाटै चोइटिएको एकीकृत समाजवादीलाई सुरूमा एमाले नेताहरूले पार्टी नै नभएको बताउँथे ।

०७७ पुस ५ गते र ०७८ जेठ ८ गते दुईपटक प्रधानमन्त्रीको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि त्यसबाट उत्पन्न राजनीतिक संकटले एमाले सग्लो रहेन । त्यसअघि २०७४ सालमा एमाले र माओवादी केन्द्रको संयोजनबाट बनेको नेपाल कम्युनिष्ट पार्टीसमेत फुटेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली लोकतन्त्र सुहाउने नेता नभएको र उनको प्रवृत्ति कहिल्यै नसुध्रिने भन्दै एमाले छाडेका माधवकुमार नेपाललगायतका नेताहरू पुन: पार्टीमै फर्काउन खोजेपनि एमाले नेताहरूले सकेनन् ।

कुनै पनि हालतमा छुट्टै पार्टी बनाउनमा लागेका नेपालले अन्तत: ०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाए । यत्ति हुँदा पनि एमाले नेताहरूले एकीकृत समाजवादी पार्टी नभइ एक अमूक समूहमात्रै भएको वक्तव्य दिन्थे ।

त्यसपछि मंसिर १० गते एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको सौराहमा सम्पन्न भयो । त्यहाँ एकीकृत समाजवादी पार्टी होइन भन्दै एमालेले ‘बाइपास’ गरेर निम्तो पठाएन, जबकी एकीकृत समाजवादीबाहेकका अन्य सबै राजनीतिक पार्टीहरूलाई निम्तो पठाइएको थियो ।

त्यसपछि पनि मुख्यत: एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच आरोप-प्रत्यारोप र भनाभनको शृङ्खला सकिएको थिएन । तर, प्रकारान्तरले उनीहरूबीच करिब २ वर्षपछि ४ घण्टे लामो वार्ता भयो र त्यहाँ मनको खिया माझामाझ भएको पछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताए ।

यी दुई पार्टीलाई फागुन २५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचन अझ नजिक ल्यायो । एमाले अध्यक्ष ओली त नेपाललाई राष्ट्रपति प्रस्ताव गर्नसमेत पछि परेनन् । यसअघि ओलीले नेपाललाई राष्ट्रपतिका एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्नू भनि पत्रै पठाइसकेका छन् । त्यसको जवाफ भने नेपालले दिएका छैनन् ।

तर, एमाले नेताहरू एकीकृत समाजवादी कार्यालयसम्मै पुगेको भने यो पहिलोपटक हो ।

तीन नेताहरूले अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सघाउन आह्वान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved