राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच भिडन्त

मत माग्न माओवादीलाई एमालेले पत्राचार गर्ने

पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा , लोसपा, नाउपा, जनमत र जनमोर्चाको समर्थन छ भने नेम्वाङलाई एमाले बाहेकको समर्थन जुटेको देखिँदैन । राप्रपाले समर्थक प्रस्तावक नबस्ने भनिसकेको छ । रास्वपा र नेमकिपाको निर्णय आउन बाँकी छ।

नेपालभ्युज

राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच भिडन्त

काठमाडौं। सत्ताभित्रको मुख्य शक्ति नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने र पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिमा उठाउने निर्णय गरेसँगै नयाँ राष्ट्रपति चुनावमा रोचक भिडन्त हुने भएको छ।

यसअघि, आजै बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले माओवादीसमेत ८ दलको समर्थनमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

कांग्रेस नेता पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रय जनमोर्चाको समर्थन छ ।

यता एमाले उपाध्यक्ष नेम्वाङलाई नेकपा एमाले बाहेकको समर्थन जुटेको देखिँदैन । सरकारबाट आजै बाहिरिएको राप्रपा राष्ट्रपति निर्वाचनमा समर्थक प्रस्तावक नबस्ने भनिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीको निर्णय आउन बाँकी छ।

यसरी हेर्दा पौडेललाई कम्तिमा ३१ हजार ९ सय १७ मत आउने देखिन्छ । स्वतन्त्र सांसदको मतभार नजोडिएकोले यसमा अझै बढ्न सक्छ । अहिले बनेको नयाँ गठबन्धनमा नेपाली कांग्रेससँग १६ हजार १ सय ४२ मत छ भने माओवादी केन्द्रसँग ७ हजार ७ सय ४५,  एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, लोसपासँग ९ सय ७१, जसपासँग २ हजार १ सय ४५, जनमत पार्टीसँग १ हजार २ सय ४२, नागरिक उन्मुक्तिसँग ८ सय ९२ र राजमोसँग २ सय ६ मतभार छ।

यसैगरी, एमालेसँग १५ हजार ३ सय ९१ आफ्नै मत छ । यसमा राप्रपाको लिन सक्दा २ हजार ४ सय ५०, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १, नेमकिपाको २ सय २३, हाम्रो नेपाली पार्टीको ९६ मत, समाजवादी पार्टी ४८ र संघीय समाजवादी पार्टी ४८ छ। त्यसैगरी, दुवैतर्फ जानसक्ने स्वतन्त्र मत ७ सय ४८ छ।

लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसका लागि आज ३ बजेसम्म उम्मेदवारको मनोयन दर्ता र साँझ ७ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यक्रम छ।

संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।

संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ । संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५० प्रतिशत भन्दा बढी अर्थात, कम्तीमा २६ हजार ३ सय १५ मत ल्याउनुपर्ने हुन्छ । अहिलेको गठबन्धनबाट हिसाब गर्दा पौडेलको पक्षमा ३१ हजार ९ सय १७ मत देखिन्छ ।

यता नेकपा एमालेले अझै पनि पुस १० को सहमति पालना गर्न माओवादी केन्द्र सहित सत्तामा रहेका दलहरूलाई आग्रह गरेको छ । पार्टीको सचिवालय बैठकले माओवादीलगायत दलसँग औपचारिक पत्र लेखेरै राष्ट्रपतिमा मत माग्ने निर्णय सो पार्टीले गरेको छ।

तनहुँका पौडेल प्रजातान्त्रिक आन्दोलनमा लामो योगदान भएका राजनीतिक व्यक्तित्व हुन् । २०४८ सालदेखि तनहुँमा एकछत्र चुनाव जित्दै आएका पौडेल २०७४ मा भने एमाले नेता किसान श्रेष्ठसँग पराजित भएका थिए। सभामुख र पटक–पटक मन्त्री भएका पौडेल पार्टीभित्र अवसर नपाएका सादगी नेता मानिन्छन्।

यसैगरी, इलामका नेम्वाङ हाल एमालेका उपाध्यक्ष छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ मन्त्री, पार्टीको मुख्य जिम्मेवारी र महत्त्वपूर्ण अवसर पाइरहने नेतामा पर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved