केपी ओली कपको तयारी पुरा

नेपालभ्युज

केपी ओली कपको तयारी पुरा

काठमाडौं ।  केपी ओली फुटबल कपको तयारी पुरा भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराईएको हो। कार्यक्रममा सबै खेलको प्रि–म्याच कन्फरेन्स एकसाथ आयोजना गरिएको हो। आयोजक अखिल नेपाल राष्ट्रिय युवा संघले यस अघि नै खेलतालिका सार्वजनिक गरिसकेका छन्।

बिहीबार हुने उद्घाटन खेलमा सातदोबाटो यूथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। ए डिभिजन लिगलाई लक्षित गरेर तयारी गरेको पुलिसले जनाएको छ। सातदोबाटो युथ क्लबका कप्तान सुदीप गुरुङले भने, ‘अनुभवी, युवा तथा दक्ष खेलाडीको उपस्थितिले हामीले बलियो टोली तयार गरेका छौँ। प्रतिस्पर्धाको लागि तयार छौँ।’

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र न्यू रोड टिम एनआरटी आमने सामने हुनेछन्।आर्मीका कप्तान भरत खवासले भने, ‘तयारी एकदमै राम्रो छ। नियमित तालिम भईरहेको छ। ए डिभिजन लिगअगाडि हुन लागेको यस स्पर्धाले टोलीलाई बलियो बनाउने अवसरको रुपमा लिएका छौँ।’

टोली भने मानिसिक र शारिरीक रुपले तयार रहेको खवासले जनाएका छन्। ‘टोली स्वस्थ र तयार छ। मलाई भने पहिलो खेलमा चोटको कारण समस्या आउन सक्ने लागेको छ’, खवासले भने   ‘प्रतियोगितामा नयाँ, युवा र विदेशी खेलाडीको उपस्थितिले खेल चुनौतीपूर्ण हुने अनुमान गरेका छौँ। हामीले शत प्रतिशत त दिन्छौँ तर, एनआरटीमा खेलाडीको जोशले बलियो पक्ष बन्न सक्छौँ।’

एनआरटीका कप्तान विक्रम धिमालले भने, ‘करिब डेढ महिना देखि तयारी गरिरहेका छौँ। सबै खेलाडीहरुको लागि सहभागीता छ। सन्तुलित टोलीको निर्माण भएको छ। जितको लागि खेल्नेछौँ।’

तेस्रो खेलमा भने चर्च ब्वाईज यूनाईटेड र मछिन्द्र क्लब भिड्दैँछन्। चर्च ब्यावईज यूनाईटेडका खेलाडी अविष्कार विक्रम राईले भने जारी झापा गोल्डकपमा सहभागी टोलीको तयारी राम्रो भईरहेको बताए। यस्तै,मछिन्द्र क्लबका सचिव किरण महर्जनले आफ्नो टोलीले झापा गोल्डकपमा प्रतिस्पर्धालाई नै तयारीको रुपमा लिएको बताए ।

महर्जनले प्रतियोगिताको खेल तालिका जुध्दा भने क्लबलाई समस्या परेको जनाएका छन्। महर्जनले भने, ‘हाम्रो टोली झापामा खेलिरहेको छ। अब पर्सी हुने खेलको लागि फेरि काठमाडौं आउनु पर्ने हुन्छ। पर्सी फेरी झापा फर्कनु छ। टोलीलाई बसमा ल्याउने कि प्लेनमा ल्याउने कि त्यो पनि आर्थिक चुनौतीहरु छन्।’

चौथो खेलमा भने केपी ओली फुटबल क्लब र जावलाखेल युथ क्लबबीच फागुन १३ गते प्रतिस्पर्धा हुनेछ। आयोजक टोलीको क्लब केपी ओली फुटबल क्लबका कप्तान विक्रम लामाले भने, ‘२३ दिनको तालिममा युवा, अनुभवी र नयाँ खेलाडीले राम्रो टोली निर्माण भएको छ। प्रशिक्षकको योजना र रणनीतिबारे सबै क्लियर छौ। जितको लागि नै खेल्ने छौँ।’ जावलाखेलको टोली पनि प्रतियोगितको लागि तयार रहेको छ।

धावक ओलिम्पियन वैकुण्ठ मानन्धर र गायिका रचना रिमालको उपस्थितिमा बिहिबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम हुने आयोजकले जनाएको छ। प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन गरिनेछ। फाइनल भने दशरथ रंगशालामा हुनेछ।

फाइनल खेलको टिकट मूल्य ३५० रुपैँया तोकिएको छ भने अन्य सबै खेलमा प्रवेश निःशुल्क गरिएको छ। उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार, म्यान अफ द म्याचले १५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा उत्कृष्ट गोलरक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा ए डिभिजनका ७ क्लबको सहभागीता रहेको छ। नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब, जवालाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब सहभागी   रहेका छन् । आयोजकको तर्फबाट भने  केपी ओली फुटबल क्लबले प्रतिनिधित्व गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved