रवीन्द्र मिश्रको प्रस्ताव- पूर्वराजालाई राष्ट्रपति बनाऔँ

सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत् पूर्वराजालाई राष्ट्रपतिमा विचार गर्न प्रस्ताव गरेका छन्।

नेपालभ्युज

रवीन्द्र मिश्रको प्रस्ताव- पूर्वराजालाई राष्ट्रपति बनाऔँ

काठमाडौं। दलहरूबीचमा सहमतीय राष्ट्रपतिको उम्मेदवारको खोजी पेचिलो बन्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति उम्मेदवार बनाउन बहस सुरु भएको छ। सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत् पूर्वराजालाई राष्ट्रपतिमा विचार गर्न प्रस्ताव गरेका छन्।

आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बन्न नदिन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र निर्णायक पहलमा जुटेपछि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले नयाँ रणनीति तय गरेको छ। उसले विभिन्न व्यक्तिहरूको नाम प्रस्ताव गरिरहेको छ। यता कांग्रेसले पनि आफ्ना उम्मेदवारको खोजी गरिरहेको छ। यही सन्दर्भमा सत्ता गठबन्धनकै दलका शीर्ष नेताबाट नयाँ प्रस्ताव आएको हो।

मिश्रले भनेका छन् ‘‘यस्तो स्थितिमा राजालाई, ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि ? राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। iq सन्सारमै सबैभन्दा कम छ। धर्म संस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ \परिसक्यो। यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनुपर्ने हो। तर त्यो कुशासनको केन्द्रबिन्दु बनेको छ। देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने ? अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दीर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने ? राजा ज्ञानेन्द्रले भने झैँ, ‘‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved