राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव लिएर देउवालाई भेट्दै लोसपाका नेताहरु

नेपालभ्युज

राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव लिएर देउवालाई भेट्दै लोसपाका नेताहरु

काठमाडौं। सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्। यसअघि उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पूर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरू बिच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको र कुनै निष्कर्ष ननिस्की रहेको बेला लोसपाले आफ्नो अध्यक्ष ठाकुरलाई अघि सारेको हो।

‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्तार लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटवार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाहिँ कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दै छौँ।’

सुरुमा सरकार गठन हुँदा नयाँ गठबन्धनमा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति पाउने सहमति थियो। तर अहिले एमालेसँगको समझदारी तोड्ने पृष्ठभूमि बनाउन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको बैठक बसाएका थिए। उनले निर्णयको सर्वाधिकार आफैँसँग राखेका छन् । प्रचण्डले भने प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्‍याउनेगरी एमालेसँगको समझदारी तोडेर कांग्रेससँग सहकार्य गर्न खोजेको कांग्रेस नेताहरूको भनाइ छ ।

उम्मेदवारी दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा सत्तामा गठबन्धनले साझा उम्मेदवार भेट्न सकेको छैन। विपक्षी दल कांग्रेसबाट पनि उम्मेदवार तय हुन सकेको छैन।
उता एमाले अध्यक्ष ओलीले ‘पार्टी एकता गर्ने गरी’ सर्तमा राष्ट्रपतिमा माधव नेपाललाई समर्थन गर्ने प्रस्ताव गरेपछि प्रचण्ड अलमलमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved