राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ महिनादेखि प्रयोगमा रहेको हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन् गरेकी छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको  ७० शैयाको नयाँ भवनको मंगलबार विशेष समारोहबिच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

२०७६ भदौ ७ गते निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न भएको हो । गत २० भादौमा नयाँभवनबाट सेवा सुरु गरिएको भएपनि मंगलबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हेटौँडा अस्पतालको विकासले यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा अतुलनीय सेवा दिन सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

नयाँ भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा २ सय बेड नियमित सञ्चालन भएका छन् । यसअघि अस्पतालमा तत्कालीन विकास समितिको ६० बेड र सरकारको ५० बेड मात्र संचालनमा रहेका थियो । नयाँ भवनको निर्माण भएसँगै ७० बेड र अतिरिक्त २० बेड थप गरी २०० बेड सञ्चालनमा ल्याइएको हो ।

प्रदेशको राजधानी भएसँगै स्वास्थ्य सेवामा पछि परेको भन्ने गुनासोलाई हेटौँडा अस्पतालमा नियमित भएका सेवा विस्तारले कमि गर्दै लगेको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौँलागाईले बताए ।
अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ ।

अस्पतालमा हाल ५७ जना चिकित्सकहरु कार्यरत रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना, नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना गरी २ सय जना स्वास्थ्यकर्मी  कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।

हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू र ६ बेडको डायलिसिस सेवा सञ्चालनमा रहेको छ ।

यस्तो छ इतिहास

वि.सं.२०१६ मा १५ बेडको सामान्य अस्पतालबाट शुरु भएको हेटौडा अस्पताल वि.सं.२०२२ सालमा २५ शैयाको जिल्ला अस्पतालको रूपमा परिणत भयो। अस्पतालको विकास गर्न हेटौडा अस्पताल विकास सेवा समितिको गठन भई सो समितिमार्फत थप २५ शैया गरी जम्मा ५० शैयाको अस्पताल सञ्चालन भई सेवा प्रदान गर्दै आएको अवस्थामा आर्थिक वर्ष २०६१÷०६२ सालमा मन्त्रीपरिषद्को निर्णयानुसार उप क्षेत्रीय अस्पतालको नाममा नामकरण गरियो तर सरकारले उप क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण वि.सं. २०७१ असार २० गतेको मन्त्रिपरिषद्को निर्णयले ५० शैयानै कायम गर्‍यो।

उपक्षेत्रीय अस्पताल हुन चाहिने न्यूनतमा मापदण्ड, चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी थप, स्वास्थ्य सेवामा प्रयोग हुने उपकरणलगायतको व्यवस्थापन हुन नसकेपछि उपक्षेत्रीय अस्पताल पुनः जिल्ला अस्पतालमा नै कायम रहेको थियो । बाग्मती प्रदेश सरकारले २०७६ असोज २ गते हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved