‘बल टर्न हुँदा ब्याटरलाई टिक्न समस्या भयो’ : कप्तान रोहित

नेपालभ्युज

‘बल टर्न हुँदा ब्याटरलाई टिक्न समस्या भयो’ : कप्तान रोहित

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले स्कटल्यान्डविरुद्ध जित निकाल्न आफूले ढुक्कले भएर खेल्न सकेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार नेपालले स्कटल्यान्डलाई पराजित गरेपश्चातको पत्रकार अन्तरक्रियामा रोहितले करन केसीको आगमनपश्चात निर्धक्क भएर खेलेको जनाएका हुन्।

रोहितले भने,‘६ विकेट गुम्दा पनि पछ्याउन सकिन्छ भन्ने थियो। करन दाइको आगमनपछि भन्ने ढुक्क महशुस गरेर खेले।’

उनले मैदानको अवस्थाले पनि खेल चुनौतीपूर्ण भएको बताए। ‘पहिलो पारीमा नै बल टर्न भइरहेको महशुस भइरहेको थियो। दोस्रो पारीमा पनि त्यस्तै हुँदा ब्याटरलाई टिक्न समस्या परिरहेको थियो।’, रोहितले पिच अवस्था बारे जानकारी गराए।

‘रेन्जमा आएको बललाई क्लियर गर्ने र सिङ्गल–डबल शैलीमा ब्याटिङ गर्ने योजनालाई लिएर अघि बढेका थियौँ।’, रोहितले चुनौतीपूर्ण अवस्थालाई सम्हालेको रणनीतिमाथि प्रकाश पारे।

९५ रनमा अविजित रहेको रोहितले भविष्यमा आफ्नो शतक नजिक रहेको बताए। ‘शतक अनिश्चित छ तर नजिकिरहेको महशुस हुन्छ। शतकभन्दा पनि आजको खेलको जितले दिएको खुसीको क्षणहरू महत्त्वपूर्ण बने।’

खेलको ‘म्यान अफ द म्याच’ पनि बनेका रोहितले टोलीमा सन्दीप लामिछानेको योगदानको पनि प्रशंसा गरे। ‘निकै नै नाजुक क्षणमा सन्दिपले विकेट लिएर टोलीलाई सहयोग पुग्यो। आजको जितमा उसको महत्त्वपूर्ण भूमिका रहेको छ।’, रोहितले भने।

गृह मैदानमा सबै खेल जिते पनि निकै उत्साहित नभएको र एक पटकमा केवल एकै खेलमा मात्र ध्यान दिइरहेको रोहितले बताए। यूएईमा हुने एकदिवसीय सिरिजको लागि पनि प्रशिक्षक र आफूबीच रणनीतिमा काम भइरहेको राहितले जानकारी गराए।

लिग–२ मा पहिलोपटक लगातार ४ खेल जिताउन टोलीलाई सैयमित भएर खेल्न सिकाएका प्रशिक्षक मोन्टी देशाईंले टोलीले समर्थकबाट पाएको साथको प्रशंसा गरे। मोन्टीले भने, ‘यो निकै उत्कृष्ट यात्रा थियो। खेलाडीले समर्थकबाट पाउनुपर्ने साथले पनि निकै सहयोग पुग्यो।’,

उनले खेलाडीको क्षमताले जित सम्भव भएको पनि बताए। मोन्टीले भने,‘छोटो समयमा नै सबै खेलाडी क्षमतावान भएको बुझेको थिए। त्यो सीपलाई मैदानमा परिचालन गर्न सकिन्छ कि सकिँदैन भन्ने चुनौती पक्कै थियो। तर, सबै खेलाडीले मैदानमा फाइट गर्छन् भन्ने पक्षमा म विश्वस्त थिए।’

मोन्टीले आज टोलीले ५ विकेटले जित्छन् भन्ने आशा राखेको पनि बताए। ‘५ विकेटले जित्छौँ भने सोचाईं थियो। तथापि, परिस्थितिअनुसार आउने चुनौती अकल्पनीय नै हुन्छ। आजको खेलबाट अवस्थाअनुरूप कसरी खेल्ने भन्ने पनि सिक्ने मौका पायौँँ।’, मोन्टीले बताए।

नेपाली टोलीले टस जिते पनि टोली मानसिक रुपले जितको लागि तयार भएको मोन्टीले दाबी गरे। मोन्टीले यूएईको तयारीबारे भने, ‘खेलाडीहरूले आफ्नो वास्तविक छवि प्रस्तुत गर्दैछन्। तयारी पनि जारी छ। १२औँ खेलाडीको रूपमा रहेका दर्शकको कमी यूएई भ्रमणमा पक्कै महशुस हुनेछ।’,

नेपालको फरक पस्थिति निकै चुनौतीपूर्ण भएपनि टोलीले आगामी दिनको राम्रो अनुभव बटुलेको स्कटल्यान्डको कप्तान रिची बेरिङ्टनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved