‘एक पटकमा एक बललाई मात्र ध्यान दिएँ’ : दीपेन्द्र सिंह ऐरी

नेपालभ्युज

‘एक पटकमा एक बललाई मात्र ध्यान दिएँ’ : दीपेन्द्र सिंह ऐरी

काठमाडौं। स्कटल्यान्डलाई पराजित गर्न नेपालका लागि मुख्य भूमिका खेलेका दीपेन्द्र सिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।
एकदिवसीय खेलपश्चात भएको पत्रकार भेटघाटमा दीपेन्द्रले आफूलाई दिएको भूमिका मात्र निर्वाह गरेको बताए।

दीपेन्द्रले भने,‘मलाई सुरुमा साझेदार र पछि फिनिसरको जिम्मेवारी दिइएको थियो। मैले त्यही मात्र पूरा गरेको हुँ।’ फिनिसरको रूपमा मैदानबाट निस्किन पाउँदा खुसी लागेको पनि दीपेन्द्रले बताए। उनले भने, ‘मैले केवल एक पटकमा एक बललाई मात्र ध्यान दिए।’

दीपेन्द्र र कुशल मल्लले ९६ बलमा १०० रनको साझेदारी पूरा गरेका थिए। ‘कुशलले आक्रमक खेल्दै थियो। उसलाई सक्छ भने बाउन्ड्री कटाउनु नभए आरामले खेल्नु, म साथ दिन्छु भनेको थिए।’, दीपेन्द्रले बताए। उनले प्रशिक्षक मोन्टी देशाईंले टोलीमा सकारात्मक वातावरण सिर्जना गरेको पनि बताए।

मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेपश्चात् नेपालले लगातार २ खेलमा जित निकाल्न सफल भयो। पहिलो खेलमा अन्तर्क्रियामा नआएका मोन्टी आज भने खुसी हुँदै सहभागी भए।

मोन्टीले कुशल र दीपेन्द्रको साझेदारीमा आफू निकै खुसी भएको जानकारी गराए। प्रशिक्षक मोन्टीले भने,‘कुशल र दीपेन्द्रको साझेदारी उत्कृष्ट थियो। तनावपूर्ण स्थितिलाई दुवैले सुन्दर तरिकाले नियन्त्रण गरे। यसमा दीपेन्द्रको अनुभवले साथ दियो।’

उनले खेलाडीले देखाएको लगनशीलताको पनि प्रशंसा गरे। ‘सुरुवाती ओभरमा विकेट लिनु, स्कटल्यान्डको टोलीले दिएको लक्ष्यलाई पछ्याउनु सफल हुनु राम्रो सङ्केत हो। खेलाडीमा पहिलेदेखि नै सीप थियो। सीपअनुरूप मैदानमा प्रदर्शनमा चुकिरहेका थिए। केवल समर्थन र विश्वासको कमी थियो।’, प्रशिक्षक मोन्टीले बताए।

उनले नेपाली समर्थकहरुको ऊर्जाशील साथको प्रशंसा गर्दै क्रिकेट प्रतिको मायालाई निरन्तरता दिन आग्रह गरे। मोन्टी अर्को खेलमा राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई सोही भूमिकामा निरन्तरता दिने सोचमा रहेका छन्।

नेपाल २६ खेलबाट २२ अंकसहित छैटौँ स्थानमा रहेको छ । शनिबार हुने खेलमा नेपाल र नामिबिया आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved