राष्ट्रपति पाउने सुनिश्चितता नहुँदा एमाले निराश र आक्रोशित तर आशा भने बाँकी !

माओवादीका यी ४ वटै दृष्टिकोणलाई एमाले पंक्तिले सहजतापूर्वक लिन सकेको छैन । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएर गठबन्धनमा भाँजो हालेको र माओवादी केन्द्रले बेइमानी गर्न खोजेको एमाले पंक्तिको बुझाइ छ ।

राष्ट्रपति पाउने सुनिश्चितता नहुँदा एमाले निराश र आक्रोशित तर आशा भने बाँकी !

काठमाडौंं। गत पुस १० गते ओली निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउँदा नै सभामुख र राष्ट्रपति पदमा एमालेले अघि सारेका उम्मेदवारलाई गठबन्धन दलले समर्थन र सहयोग गर्ने ‘सहमति’ भइसकेको दाबी एमालेले दोहोर्‍याउँदै आएको छ ।

सभामुख र उपसभामुखको निर्वाचनसमेत भइसकेको छ । सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित भइसकेका छन्। तर, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको क्रममा भने त्यस्तो ‘सहमति’ भएको हो वा हैन भन्ने विषयमै विवाद छ ।

एमालेले ‘आफूले अघि सारेको उम्मेदवारलाई सबैले सहयोग गरुन्, त्यही हो राष्ट्रिय सहमति’ भन्ने गरेको छ भने माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिको उम्मेदवार खोजिनुपर्ने’ जिकिर गर्दै आएको छ । ‘राष्ट्रिय सहमतिको उम्मेदवार’ भनेको चाहिँ के कस्तो हो ?

माओवादीले कुनै स्पष्ट मापदण्ड वा व्यक्ति अघि सार्न सकेको छैन । अर्कोतिर ‘सरकारलाई विश्वासको मत दिएर पनि प्रमुख प्रतिपक्षी दल’ ठान्ने नेपाली कांग्रेसले भने पार्टीले अघि सारेको व्यक्ति नै राष्ट्रपति निर्वाचित हुने विश्वास व्यक्त गर्दै आएको छ।

नेपाली कांग्रेसको विश्वासको आधार के हो ? झनै प्रष्ट छैन । तर, माओवादीले आफ्नो उम्मेदवारलाई समर्थन र सहयोग गर्ने आशा नेपाली कांग्रेसले राखेको छ । यसबारे माओवादी नेताहरुले ४ प्रकारका अभिव्यक्ति दिएका छन् ।

पहिलो– गैरदलीय भए पनि हुने तर सबैलाई मान्य हुने व्यक्तित्वको खोजी हुनुपर्ने। यस्तो सोचमा स्वयं प्रधानमन्त्री प्रचण्ड रहेको बताइन्छ । तर, अर्का नेता जनार्दन शर्माले भने ‘राष्ट्रपति दलीय नै हुनुपर्ने’ भन्दै प्रचण्डसँग सार्वजनिक असहमति जनाएका छन्।

अर्को खाले माओवादी नेता भने ‘गठबन्धन पनि टिकोस्, एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति पनि होस, तर, एमालेले उम्मेदवार अघि सार्दा नेपाली कांग्रेसलाई समेत स्वीकार गर्न सहज हुने खालको होस् ।’ भन्ने धारणा राख्दै आएका छन् । यस्तो धारणा राख्नेमा देवेन्द्र पौडेललगायत छन् । तर, यो दृष्टिकोणअनुसार एमालेले अघि सार्ने उम्मेदवार नेपाली कांग्रेसले स्वीकार गर्ने सम्भावना छैन।

चौथो खाले माओवादी नेता भने कांग्रेसले सरकारलाई विश्वासको मत दिएको परिस्थितिमा पुस १० को सहमति र गठबन्धनको सीमाभित्र राजनीति बस्न नसक्ने ठान्दछन् । उनीहरू ‘हिजो भिन्नै स्थिति थियो, अब भिन्नै परिस्थिति छ । बद्लिएको परिस्थितिमा एमालेले पुरानो माग दाबी गर्न मिल्दैन’ भन्ने दृष्टिकोण राख्दछन् ।

तर, माओवादीका यी ४ वटै दृष्टिकोणलाई एमाले पंक्तिले सहजतापूर्वक लिन सकेको छैन । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएर गठबन्धनमा भाँजो हालेको र माओवादी केन्द्रले बेइमानी गर्न खोजेको एमाले पंक्तिको बुझाइ छ ।

माओवादीको यस्तो व्यवहारबाट एमाले नेता, कार्यकर्ता निरास, खिन्न र आक्रोशित देखिन्छन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र बाहेकका दलले भने राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनबारे कुनै अन्तिम धारणा बनाएका छैनन् ।

यसबारे एमाले महासचिव शंकर पोखरेलले बडो निरस ट्विट गरेका छन्– ‘वैचारिकताको अभावमा अवसरवाद र संगठनात्मक जीवन्तताको अभावमा अराजकताले प्रश्रय पाउँछ । सांस्कृतिक मूल्य र मान्यतामा भएको विघटनबाट सामाजिक अराजकताको जन्म हुन पुग्दछ । आज हाम्रो समाजमा यी प्रवृत्तिहरू गम्भीर समस्याका रूपमा प्रकट भएका छन् ।’

यस ट्विटमा उनले व्यक्त गरेका भावनाभित्र गहिरो निराशा देखिन्छ । तर, उनले संकेत गर्न खोजेको कुरा भने प्रष्ट नभए पनि बुझिने खालको छ । अप्रत्यक्ष भाषामा राष्ट्रपति एमालेलाई दिने सहमतिबाट भाग्न खोजेर माओवादी केन्द्रले ‘अवैचारिक’ र ‘अवसरवाद’ चरित्र देखाएको आरोप उनले लगाउन खोजेका छन् ।

महासचिव पोखरेलले प्रष्ट भन्न नसकेको कुरा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले भने सीधै र आक्रोशपूर्ण भाषामा पोखेका छन् । उनले भनेका छन्–‘दुई डुंगामा खुट्टा राख्दा नदी पार हुँदैन, बगिन्छ । एमालेसँग गठबन्धन गरेर कांग्रेससँग हिमचिम गर्नु राजनीतिक बेइमानी हो । प्रचण्डलाई एमालेले बालुवाटारबाट घिसारेर बाहिर निकालेको हैन । बरु बाध्य भएर त्यहाँबाट निस्किएपछि प्रधानमन्त्री बनाएर स-सम्मान बालुवाटार पुर्‍याएको हो ।’

रिजालको यो ट्विटबाट प्रष्ट हुन्छ– माओवादी केन्द्र र कांग्रेसबीचको बढ्दो हिमचिम एमाले नेता– कायकर्तालाई मनपरेको छैन । विशेषतः माओवादी केन्द्रले संस्थागत रूपमै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार खोजिनुपर्ने बताएपछि एमालेलाई प्रचण्डबाट धोका हुन सक्ने अनुभूति हुन थालेको छ ।

नागरिकता विवादमा सांसद पद गुमाएका रास्वपा अध्यक्ष रवि लामिछानेलाई गृह मन्त्रालयमा फिर्ता गर्न अध्यक्ष ओलीले गरेको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेको कारणले पनि एमाले नेता–कायकर्ता असन्तुष्ट र उद्धिग्न भएका थिए ।

महासचिव पोखरेलले यसबारेमा सर्वोच्च अदालतको निर्णयप्रति नै असन्तुष्टि जनाएका थिए । उनको प्रश्न थियो–‘उस्तै प्रकृतिका केही मुद्दामा सर्वोच्चका श्रीमानहरूको विशेष न्यायिक सक्रियता र उस्तै प्रकृतिका अनेक मुद्दामा भएको गम्भीर उदासिनताको रहस्य के होला र जवाफ कसले दिने होला ?’

ओली निकट अर्का एमाले कार्यकर्ता गोकुल बाँस्कोटाले पनि माओवादीको रवैयाप्रति प्रश्न उठाएका छन् । उनको ट्विटमा भनिएको छ–‘दुवै खुट्टा बुडुवामा फसेको राजनीतिले विकास र निकास दिने त कता हो कता खिचडी पनि पकाउन सक्दैन।’

बाँस्कोटाले व्यक्त गरेको विचारजस्तै कांग्रेस र माओवादीबीचको ‘खिचडी’ को रहस्य के हो र यो पाक्नेवाला छ कि छैन ? अहिलेसम्म केही भन्न सकिने अवस्था छैन ।

एमालेले राष्ट्रपति प्राप्त गर्ने सुनिश्चितता नभइसके पनि आशा भने छोडेको छैन । अध्यक्ष ओलीले हरेक दिनजसो प्रधानमन्त्री प्रचण्डलाई भेटेर फकाउन प्रयास गरिरहेका छन् । तर राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा कस्तो समीकरण बन्ने हो र त्यसपछि राजनीतिले कस्तो बाटो समात्न हो, सबैको प्रतीक्षा र जिज्ञासाको विषय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved