मधेस प्रदेश: मन्त्रिमण्डल विस्तारमा ढिलाइ, सांसद मन्त्री बन्ने दौडधुपमा

केन्द्रमा समीकरण नमिल्दा प्रदेशमा पनि असर देखिएको छ । जसपाले उपराष्ट्रपति पाउनु पर्ने बताइरहेको छ । जनमत पार्टीले पूर्व सहमति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति अथवा खानेपानी सहित थप एउटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ ।

मधेस प्रदेश: मन्त्रिमण्डल विस्तारमा ढिलाइ, सांसद मन्त्री बन्ने दौडधुपमा
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

जनकपुरधाम। मधेस प्रदेशको मन्त्रीमण्डल विस्तार चाँडै हुने आसामा प्रदेश सांसदहरु मन्त्री बन्न शक्ति केन्द्रमा दौडधुपमा लागेका छन् । अहिले प्रदेश सरकारमा सबै मन्त्रालय मुख्यमन्त्री सरोज कुमार यादवको मातहतमा छन् ।

मुख्यमन्त्री यादव र तीन जना मन्त्रीले सपथ लिएको एक हप्ता भन्दा बढि भईसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाएको छैन् । नियुक्त भइसकेका मन्त्रीको जिम्मेबारी समेत तोकिएको छैन् ।

जसपाबाट मन्त्री बनेका सञ्जय यादवलाई अर्थ, नेकपा एमालेबाट मन्त्री बनेका सरोज यादव (महोत्तरी) लाई भौतिक पूर्वाधार विकास र जनमतबाट मन्त्री बनेका ई.वसन्त कुशवाहालाई कृषि मन्त्रालयको जिम्मेवारी दिने चर्चा  छ ।

संघीय सरकारमा मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको तालमेल नमिलेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ ।

सरकारमा सहभागिताको विषयमा जसपा र जनमत पार्टीबीच सहमति भइसकेको छैन् । केन्द्रमा समीकरण नमिल्दा प्रदेशमा पनि असर देखिएको छ ।

जसपाले उपराष्ट्रपति पाउनु पर्ने बताइरहेको छ । जनमत पार्टीले पूर्व सहमति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति अथवा खानेपानी सहित थप एउटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ ।

तर प्रदेश सरकार विस्तारमा ढिलाइको कारण कार्य व्यस्तता रहेको मन्त्रीहरु दाबी गर्छन् । जनमतबाट मन्त्री बनेका वसन्त कुशवाहाले भने, ‘मन्त्रालयको संख्या र विभागबारे गठबन्धन दलहरुबीच सहमति भइसकेको छ । त्यसै अनुसार मन्त्रीमण्डल चाँडै विस्तार हुनेछ । मन्त्रीपरिषद्को बैठक आज मंगलवार डाकिएको छ ।’

मुख्यमन्त्री यादव पार्टीका शीर्ष नेतासँगको छलफलका लागि राजधानी गएकाले पनि केही समय लागेको छ’ मन्त्री कुशवाहाले भने, ‘सरकारले विश्वासको मत प्राप्त गरेपछि सबै दलमा शीर्ष नेतासित परामर्श गर्न आवश्यक थियो ।’ नियुक्त भइसकेका मन्त्रीहरुको कार्यविभाजन आज नै हुने सम्भावना छ ।

हाल सम्मको सहमति अनुसार जसपाले तीन, एमालेले तीन, जनमतले दुई, लोसपाले एक र माओवादी केन्द्रले एक मन्त्रालय पाउने छन् । एमालेलाई चार मन्त्रालय दिने सहमति भए पनि लोसपा पनि सरकारमा सहभागी हुने भएकाले एउटा मन्त्रालय घटाइएको छ ।

मन्त्रिमण्डल विस्तारको तयारी भएसँगै सांसदहरु मन्त्री बन्न शीर्ष नेतालाई प्रभावित गर्ने प्रयत्नमा जुटेका छन् । जनमत बाहेक अन्य दलले भने मन्त्रीको नाम अझै टुंग्याइसकेका छैनन् ।

जसपामा हालै प्रवेश गरेकी सुरिता साह मन्त्री बन्ने सम्भावना छ । पर्साबाट जसपामा प्रवेश गरेका प्रमोद कुमार जयसवाललाई राज्यमन्त्री दिने बताइएको छ । जनमतबाट सञ्जय यादव मन्त्रीमण्डलमा पर्न सक्छन् । लोसपाबाट रानी शर्माको सम्भावना बलियो छ ।

नेकपा एमाले र माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम टुंगो लाग्न बाँकी छ । नेताहरु अहिले संघीय सरकार र गठबन्धनमा तालमेल मिलाउन सक्रिय रहेकाले प्रदेश सरकारले पूर्णता पाउन नसकेको प्रदेशस्तरका नेताको गुनासो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved