‘ओली संसद विघटन भन्न थाले, संविधानमाथि फेरि खतराको घन्टी बज्न थाल्यो’

नेपालभ्युज

‘ओली संसद विघटन भन्न थाले, संविधानमाथि फेरि खतराको घन्टी बज्न थाल्यो’

काठमाडौं । नेपाली का‌ंग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः संसद विघटनको कुरा गर्न थालेकोले संविधानमाथि खतराको घण्टी बज्न थालेको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले एमाले अध्यक्ष ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन थालेको दाबी गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए । उनले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिमा हारजित भइराख्छ, हामीले प्रधानमन्त्रीलाई संविधान रक्षाको विषयलाई उठाएकाले मत दिएका हौँ ।’ उनले यो सभामुख र राष्ट्रपति संवैधानिक पद मात्रै नभएर पार्टीको दलगत स्वार्थ भन्दा माथि उठेर संविधान रक्षा, कानुनी शासन  र संसदको गरिमा र मर्यादालाई कायम राखेर एक पक्षमा हुनुपर्ने भएकाले कांग्रेसले विश्वासको मत दिएको संकेत गरे ।

ओलीको नेतृत्वमा सत्ताधारी दलले दिएको उम्मेदवारीले भोलि संविधानमाथि कुठाराघात हुने खतरा बढेको तर्क गरे । ‘हाम्रो खबरदारी त्यसैकालागि हो, हामी गठबन्धन फुटाउने भन्दा संविधान रक्षाको पक्षमा उभिएका हौं,’ उनले भने ।

‘हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिएकोले संविधानको रक्षाका लागि गठबन्धन बन्यो,’ उनले भने, ‘अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ । ओलीजले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ ।’ उनले नयाँ परिस्थितिमा  अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भनेर प्रश्न गरे ।

‘स्वार्थमा मुन्टो लुकाएर बसे भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षामा उत्तीर्ण हुने/नहुने उहाँहरुकै हातमा छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved